बुधबार, पुस २, २०८२

भारतमा पेटीएम संकट कति गहिरो ?

 |  मंगलबार, माघ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २३, २०८०

रिजर्व बैंक अफ इन्डिया (आरबीआई)ले पेटीएम पेमेन्ट बैंकलाई फेब्रुअरी २९ देखि सम्पूर्ण कारोबार रोक्न निर्देशन दिएपछि संकट निम्तिएको छ। रिजर्व बैंकको जनवरी ३१ को निर्देशनअनुसार सो मितिदेखि पेटीएम पेमेन्ट बैंकले निक्षेप लिने र कुनै पनि कारोबार गर्न पाउने छैनन्। 

National life

बैंकका ग्राहकको खातामा पैसा हाल्ने, वालेटमा वा वालेटबाट पैसा टपअप गर्ने एवं कार्डहरूमा पैसा लोड गर्ने जस्ता सेवा पनि रोकिनेछन्। पेटीएम वालेटका ग्राहकले पनि वालेटमा पैसा लोड गर्न सक्ने छैनन्। बैंक र वालेटमा भएको पैसा भने सक्किँदासम्म खर्च वा प्रयोग गर्न पाउनेछन्।

पेटीएम पेमेन्ट बैंक वान९७ कम्युनिकेसन लिमिटेडको सहायक कम्पनी हो। बैंकमा वान९७ कम्युनिकेसनको ४९ प्रतिशत सेयर छ। बैंकको ५१ प्रतिशत सेयर भने विजय शेखर शर्मासँग छ। उनी वान९७ कम्पनीका सीईओ हुन् भने पेटीएमका संस्थापक हुन्।

पेटीएमको स्थापना सन् २०१० मै भएपनि डिजिटल भुक्तानी बैंकका रूपमा पेटीएम बैंक सन् २०१७ देखि सञ्चालनमा आएको थियो। पेटीएम वालेट यसै बैंकअन्तर्गत पर्छ।

रिजर्व बैंकको डिसेम्बर सन् २०२३ को तथ्यांकअनुसार पेटीएम वालेटबाट आठ हजार करोड बराबरको कारोबार र पाँच हजार ९०० करोड भारतीय रुपैयाँ बराबरको आर्थिक लेनदेन भएको थियो।

Laxmi sunrise bank
kumari

पेटीएम बैंक र वालेटका ग्राहकको खातामा फेब्रुअरी २९ पछि पैसा हाल्न मिल्ने छैन। तर, त्यसमा भएको पैसा भने प्रयोग गर्न वा निकाल्न मिल्नेछ। पेमेन्ट बैंक र वालेटसँग सम्बन्धी कुनै पनि कारोबार पनि हुने छैन।

आरबीआईले पेटीएमका सन्दर्भमा बारम्बार समस्या देखाउँदै आएको थियो। नियामकले अहिले भने सन् १९४९ को बैंकिङ नियमन ऐनको धारा ३५ एअन्तर्गत निर्देशन दिएको हो। खासगरी ‘मनी लाउन्ड्रिङ’ र पेटीएम वालेटमा यसका सामान्य बैंकिङ शाखाबाट करोडौँको शंकास्पद कारोबारको विषयलाई लिएर पनि आरबीआईले निर्देशन दिएको ठानिएको छ।

यसबाहेक केवाईसी भेरिफाइ नभएका अकाउन्टमा सीमाभन्दा बढीको कारोबार, एउटै प्यान नम्बरबाट धेरै अकाउन्ट खुलेका जस्ता समस्या पेटीएममा भएको बताइएको छ।

पेटीएम पेमेन्ट बैंक र वालेटको सेवा रोकिए पनि तेस्रो पक्षका बैंकसँग मिलेर पेटीएम एपबाट विभिन्न सेवा जारी रहने कम्पनीले जनाएको छ। पेटीएम पेमेन्ट बैंकबाहेक अन्य बैंकसँग मिलेर कम्पनीले विभिन्न किसिमका भुक्तानी सेवा जारी राख्ने बताएको छ।

कम्पनीका मालिक विजय शेखर शर्माले आरबीआईको सम्पूर्ण निर्देशनको पालना गरी बैंकको सेवा समेत जारी राख्न प्रयास गरिरहेको बताएका छन्।

आरबीआईको यो कदमले फिनटेक कम्पनीहरूको चुनौतीलाई संकेत गरेको देखिन्छ। भारतमा पेटीएमबाहेक मोबिकविक, फोनपे, एसबीआई, अमेजोनपे लगायतका २० भन्दा बढी बैंक एवं कम्पनीले वालेट सेवा प्रदान गर्दै आएका छन्।

पेटीएम बैंकले प्रदान गर्ने फास्ट्यागलगायत विभिन्न सेवाहरू ३७ भन्दा बढी अन्य बैंकले प्रदान गर्दै आएको बताइएको छ।

- बीबीसी हिन्दीबाट

प्रकाशित: Feb 06, 2024| 08:05 मंगलबार, माघ २३, २०८०
प्रतिक्रिया दिनुहोस्