आइतबार, असोज १८, २०८३

हराएका बुवा खोज्न छोरीले गरेको संघर्षको कथा

बालबालिकालाई पाण्डुलिपि पढ्न दिएर प्राप्त सुझावसमेत समावेश गरिएकाले उपन्यासमा उनीहरुको भावना राम्ररी मुखरित भएको पाइन्छ।
 |  शनिबार, साउन ३०, २०७८

कार्तिकेय घिमिरे

कार्तिकेय घिमिरे

शनिबार, साउन ३०, २०७८

सुशीला देउजा कथा, कविता, नियात्रा र लघुकथा लेखनमा सक्रिय साहित्यकार हुन्। उनका प्रयासको पहिलो खुड्किलो (कथा संग्रह, २०६३), नयाँ बिहानी (कविता संग्रह, २०६३), पर्दाभित्रको यथार्थ र काबुलयात्रा (कथा संग्रह र यात्रा संस्मरण २०६४), दोभान  (लघुकथा र कविता संग्रह, २०६६), केही पाइला केही अनुभूति (विकसितदेखि द्वन्द्वप्रभावित मुलुकको भ्रमणबाट, २०६८), चारु (कथा संग्रह, २०७०), भगवानको रुप (सचित्र बालकथासङ्ग्रह, २०७१), बाघ र बाबा (बालचित्रकथाकृति, २०७४), पेटको आगो (लघुकथासंग्रह, २०७५) र महिमा (बालउपन्यास, २०७५) गरी ९ कृति प्रकाशित छन् । 

देउजाको यसअघि नेपाली बालसाहित्यमा पहिलो प्रयासस्वरुप एउटै कृतिमा चार भाषा समावेश गरी उनको बाघ र बाबा बालचित्रकथाकृति प्रकाशित भएको थियो। उक्त कृतिका लागि उनले दुर्गादेवी उत्कृष्ट बालसाहित्य लेखक पुरस्कार, २०७४ प्राप्त गरेकी थिइन्। 

महिमा लेखक देउजाको पहिलो बालउपन्यास हो । हराएका बुवा खोज्न एउटी छोरीले गरेकी संघर्षको कथा यसमा छ। बुवालाई असाध्यै माया गर्ने छोरी महिमाका माध्यमबाट लेखक देउजाले ग्याजेटमा रमाइरहेको वर्तमान पुस्तालाई परिवारको महत्त्वबारे प्रकाश पारेकी छन्। 

उपन्यासमा आमाबुवाप्रति सहिष्णु बन्न र आफ्नो कर्तव्यप्रति सजग हुन बालबालिकालाई आह्वान गरिएको छ। ग्याजेटमा रमाएर आफ्नै घरमा पनि आमाबुवाबाट पूरै अलग भई जीवन निर्वाह गर्नतर्फ अग्रसर भइरहेको वर्तमान नयाँ पुस्ताका लागि महिमा एउटा फरक कथा हो। प्राय: बालबालिका आफूसँग हुँदा आमाबुवालाई त्यति महत्त्व दिँदैनन्। तर सँगै नहुँदा  महसुस हुने अभावलाई मार्मिक ढंगले  व्यक्त गरिएको छ। प्रकाश रञ्जितको चित्रकलाले किताबलाई अझ आकर्षक बनाएको छ।

बालबालिकालाई पाण्डुलिपि पढ्न दिएर प्राप्त सुझावसमेत समावेश गरिएकाले उपन्यासमा उनीहरुको भावना राम्ररी मुखरित भएको पाइन्छ। 

बालबालिकासँग अन्तरक्रिया गरेर लेखिएकाले यो उपन्यास विशेष छ। उनीहरुलाई पाण्डुलिपि पढ्न दिएर प्राप्त सुझावसमेत समावेश गरिएकाले उपन्यासमा बालबालिकाको भावना राम्ररी मुखरित भएको पाइन्छ। कृति प्रकाशनअगाडि स्कुले बालबालिकामाझ गरिएको छलफल र बालबालिकाबाट प्राप्त सुझावले लेखक मनलाई थप झकझक्याएको छ। कृतिमा समावेश लेखकको भनाइ मन्तव्यका क्रममा देउजा भन्छिन्, 'असल बालसाहित्य सिर्जना गर्न धेरै मिहिनेत गनुपर्ने रहेछ। यो त सुरुवात मात्र हो। बालबालिकाको संगतले मैले धेरै कुरा सिकेकी छु।' 

नेपाली बालसाहित्यमा बालउपन्यासको सीमित मात्र प्रकाशित छन्। यस्तो अवस्थामा लेखक देउजाको महिमाले बालउपन्यासको अभाव पूरा गरेको मात्र छैन समयसापेक्ष कथावस्तु र सरल भाषाशैलीका कारण पठनीय पनि बनाएको छ।

साहित्यलेखनमा देउजाको उत्साह र जाँगर जारी रहोस्। उनलाई यस कृतिको सफलताको शुभकामना छ। असी पृष्ठको सचित्र बालउपन्यासको मूल्य २०५ रुपैयाँ  राखिएको छ।

प्रकाशित: Aug 14, 2021| 09:14 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।