आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पाटन अस्पतालमा २० वटा भेन्टिलेटर किन्दा १ करोड ६० लाख भ्रष्टाचार!

पाटन अस्पतालमा २० वटा भेन्टिलेटर किन्दा १ करोड ६० लाख भ्रष्टाचार!

 |  मंगलबार, साउन १२, २०७८
nespernesper

धीरज बस्नेत

धीरज बस्नेत

मंगलबार, साउन १२, २०७८

vianetvianet

काठमाडौं– पाटन स्वाथ्य विज्ञान प्रतिष्ठानले भेन्टिलेटर खरिदमा १ करोड ६० लाख रुपैयाँ भ्रष्टाचार गरेको पाइएको छ। २० वटा भेन्टिलेटर खरिदका लागि टेन्डर आह्वान गरेको अस्पतालले सस्तो रेटमा ल्याउने कबोल गरेको कम्पनीलाई पाखा लगाएर १ करोड ६० लाख रुपैयाँ महँगो पर्ने गरी टेन्डर हालेको कम्पनीलाई ठेक्का दिने निर्णय गरेको खुलासा भएको हो।  

triton college

अस्पतालले एउटा भेन्टिलेटरको १७ लाखका दरले २० वटा भेन्टिलेटर ३ करोड ४० लाखमा ल्याउने गरी टेन्डर हालेको म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्सलाई अस्वीकृत गरेको छ। यसविपरीत २५ लाखका दरले पाँच करोडमा २० वटा भेन्टिलेटर ल्याउने कबोल गरेको जनलर मेडिकल सप्लायर्सले ठेक्का पाएको छ।

सार्वजनिक खरिद ऐनमा तोकिएको गुणस्तरको सामग्री ल्याउन वा बनाउन जसले सस्तो रेटमा टेन्डर हाल्छ उसैलाई दिनुपर्ने व्यवस्था छ। तर, पाटन अस्पतालले एउटा भेन्टिलेटर ८ लाख रुपैयाँ महँगो पर्ने गरी टेन्डर हालेको कम्पनीलाई ठेक्का दिएको हो। २० वटा भेन्टिलेटरमा १ करोड ६० लाख रुपैयाँ नोक्सान हुने गरी अस्पताल प्रशासनले जनलर मेडिकल सप्लायर्सलाई ठेक्का दिएको हो। 

अस्पतालले १२ जुन २०२१ मा स्वास्थ्य सामग्री खरिद गर्न टेन्डर आह्वान गरेको थियो। कोभिडका बिरामीलाई स्वास्थ्य सामग्री आवश्यक परेको भन्दै अस्पतालले विज्ञापन गरेको थियो। विभिन्न कम्पनीलाई आवश्यक पर्ने प्रक्रिया पूरा गरेर टेन्डर लिन सकिने विज्ञापनमा उल्लेख छ। 

विज्ञापनबमोजिम वेभ ट्रेडिङ कन्सर्न, नेसनल इलेक्ट्रो प्रालि, बिध म्यानेजमेन्ट प्रालि, द मेडिकल सोलुसन, इस्टवेस्ट कन्सर्न, र्‍यापिड सर्जिकल कन्सर्न, म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स र जनलर मेडिकल सप्लायर्स गरी आठ कम्पनीले आवेदन दिएका थिए। तीमध्ये योग्यता सूचीमा जनलर मेडिकल सप्लायर्स, वेब ट्रेडिङ कन्सर्न, द मेडिकल सोलुसन, इस्टवेस्ट कन्सर्न र म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स थिए।

National life insurance

अस्पतालका निर्देशक रवि शाक्य भन्छन्, ‘प्राविधिक टिमले अध्ययन गर्दा उहाँहरुले ल्याउने भनेको भेन्टिलेटरमा केही कमजोरी देखियो। हामीले खोजेजस्तो भेन्टिलेटर उहाँहरूबाट प्राप्त हुन सकेन।’

अन्तिममा योग्यमध्येका सस्तोमा तोकिएको गुणस्तरको सामान ल्याउने कम्पनीलाई पन्छाएर अस्पतालले जनरल मेडिकल सप्लायर्सलाई ठेक्का दिएको छ। विडिङ डकुमेन्ट मिलेको भन्दै एउटा भेन्टिलेटर २५ लाख पर्ने दरमा उसको टेन्डर स्वीकृत गरिएको छ। १७ लाखमा भेन्टिलेटर आपूर्ति गर्न सकिने कम्पनीलाई अनेक खोट देखाएर पाखा लगाइएको छ। एउटा भेन्टिलेटर ८ लाख सस्तोमा ल्याउने कबोल गरेको उसलाई हाइफ्लो थेरापी सिस्टम (अक्सिजनको मात्रा अधिक बढाउने र घटाउने) राम्रो नभएको र टाइटल भोलुम पनि खोजेजति नभएको अस्पतालको दाबी छ। 

अस्पताल प्रशासनले भने म्याक्सिम इन्कर्पोरेसनले ल्याउन प्रस्ताव गरेको भेन्टिलेटरमा प्राविधिक खराबी रहेको पाइएपछि अस्वीकार गरेको दाबी गरेको छ।

अस्पतालका निर्देशक रवि शाक्य भन्छन्, ‘प्राविधिक टिमले अध्ययन गर्दा उहाँहरुले ल्याउने भनेको भेन्टिलेटरमा केही कमजोरी देखियो। हामीले खोजेजस्तो भेन्टिलेटर उहाँहरूबाट प्राप्त हुन सकेन।’ उनका अनुसार अन्य कम्पनीको गुणस्तर अस्पतालले खोजेजस्तो नभएकै कारण महँगो भए पनि उसैलाई छनोट गरिएको हो। 

निर्देशक शाक्यले प्राविधिक रुपमा गुणस्तरीय नभएको भनेका भेन्टिलेटर देशका विभिन्न अस्पतालले भने उत्कृष्ट भनेर फिट गरेका छन्। म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्सको बोर्ड निर्देशक हरिहर पोखरेलले शिक्षण अस्पताल महाराजगन्जमा मात्रै २५ वटा उक्त भेन्टिलेटर जडान गरिएको बताए। उनका अनुसार यही प्रकृतिको भेन्टिलेटर कोसी अस्पतालमा विराटनगरमा पाँच वटा, भरतपुर अस्पतालमा पाँचवटा र पाँचथर अस्पतालमा पाँचवटा जडान गरिएको छ। 

‘हाम्रो भेन्टिलेटर फिट नभएको भए किन यत्रा अस्पतालले त्यही प्रकृतिको भेन्टिलेटर जडान गरे? यहाँ भेन्टिलेटरमा भन्दा अस्पताल प्रशासनको नियतमा खोट देखिएको छ’, म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्सका बोर्ड निर्देशक पोखरेल भन्छन्। 

‘हाम्रो भेन्टिलेटर फिट नभएको भए किन यत्रा अस्पतालले त्यही प्रकृतिको भेन्टिलेटर जडान गरे? यहाँ भेन्टिलेटरमा भन्दा अस्पताल प्रशासनको नियतमा खोट देखिएको छ’, म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्सका बोर्ड निर्देशक पोखरेल भन्छन्। 

उनी भन्छन्, ‘हामीलाई टेन्डर परेन, यसमा कुनै गुनासो छैन। तर, सरकारको ५१ प्रतिशत सेयर भएको अस्पतालमा केही कर्मचारी खेलका कारण १ करोड ६० लाख गुम्नु ठिक होइन।’ अस्पताल प्रशासनले जनलर मेडिकल सप्लायर्सलाई उपलब्ध गराउनकै लागि अन्य कम्पनीको सामानमा खोट देखाएको उनको दाबी छ। 

पाटन अस्पतालमा जनलर मेडिकल सप्लायर्सका जयकृष्ण श्रेष्ठले स्वास्थ्य सामग्री आपूर्ति गर्दै आएका छन्। श्रेष्ठ र पाटन अस्पतालका उच्च तहका कर्मचारीबीच पहिलेदेखि सम्बन्ध रहेको अस्पतालका एक कर्मचारी बताउँछन्। उनका अनुसार अस्पतालमा कुनै नयाँ सामान ल्याउनुअघि उच्च कर्मचारीहरूले श्रेष्ठसँग परामर्श गर्दै आएका छन्। 

कमिसनबापत ठूलो रकम आफूहरुले पाउने सर्तमा अस्पताल प्रशासनले १ करोड ६० लाख घाटा हुने गरी महँगोमा जनलर मेडिकल सप्लायर्सलाई ठेक्का दिएको प्रतिस्पर्धी कम्पनीहरुको दाबी छ। ‘कुनै साठगाँठ हुँदैन थियो भने १५ लाखमा आउने भेन्टिलेटर २५ लाखमा ल्याउन कबोल गरेको कम्पनीलाई किन दिइयो?’, प्रतिस्पर्धी एक कम्पनीका निर्देशकले भने। 

मन्त्रालयको निर्देशन एकातिर, खरिद प्रक्रिया अर्कोतिर 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा स्वास्थ्य सेवाको गुणस्तर कायम गर्न स्वास्थ्य सामग्री खरिद गर्दा र प्रयोग गर्दा अन्तर्राष्ट्रिय मान्यता यूएस फडीए मापदण्ड कायम हुनुपर्ने उल्लेख छ। वैशाख ३ गते बसेको मन्त्रिपरिषद् बैठकले सोहीअनुसार गर्न–गराउन स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग र सबै अस्पताललाई निर्देशन दिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिति २०७८ वैशाख ८ गते सार्वजनिक गरेको सूचना।

पाटन अस्पतालले महामारीका यस्तो बेलामा पनि स्वास्थ्य मन्त्रालयको निर्देशनसमेत ठाडै चुनौती दिएको छ। पाटन अस्पतालले ठेक्काका जिम्मा दिइएको जनरल मेडिकल कन्सर्नले खरिद गर्न लागेको भेन्टिलेटर चाइनिज एफडीएका हुन्। जो चाइनिज भेन्टिलेटर खरिदका लागि सोझै ठेक्का दिइएको छ। चाइनिज भेन्टिलेटर इमरजेन्सीका बेला मात्र खरिद र प्रयोग गर्न सकिन्छ। 

विश्व स्वास्थ्य संगठनका अनुसार महामारीमा तत्काल रेस्क्यु र उपचारका लागि मात्र चाइनिज भेन्टिलेटर उपयोगी हुन सक्छ। विश्व स्वास्थ्य संगठनका अनुसार यूएस फडीए अन्तर्राष्ट्रिय मापदण्डभित्र पर्छ तर चाइनिज एफडीए पर्दैन। पाटन अस्पतालले चाइनिज भेन्टिलेटर खरिद गर्ने गरी सबैखाले चाँजो पाँजो मिलाएको हो। भेन्टिलेटर महँगामा मात्रै खरिद गर्न लागिएको छैन, तोकिएको कम्पनीभन्दा बाहिरको खरिद गर्न लागिएको छ। यसको भित्री उद्देश्य कमिसन कसरी आउँछ भन्नेमै अस्पताल प्रशासन र खरिद कर्ता कम्पनीको मिलिभगत भएको प्रस्ट बुझिन्छ। नेपालमा यस अघि खरिद गरिएका सबै भेन्टिलेटर यूएस एफडीएका हुन्। 

वीर अस्पताल, ट्रमा सेन्टर, कोसी अस्पाल, पोखरामा समेत यूएसफडीए मापदण्डका भेन्टिलेटरमा सञ्चालनमा छन्। त्यति मात्र होइन, पाटन अस्पतालमा समेत यूएसएफडीएका भेन्टिलेटर छन्। तर यस पटकको भेन्टिलेटर खरिदमा महँगोमा चाइनिज भेन्टिलेटर खरिद गर्न जनरल मेडिकल सप्लायर्सलाई जिम्मेवारी दिइएको छ। 

सार्वजनिक खरिद अनुगमन कार्यालयले थाल्यो छानबिन

भेन्टिलेटर खरिदमा अनियमितता भएको प्रतिस्पर्धी कम्पनीबाट निवदेन परेपछि सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले छानबिन थालेको छ। कार्यालयले छानबिनका लागि पाटन अस्पतालसँग कागजपत्र माग गरेको छ भने जनलर मेडिकल सप्लायर्सलाई ठेक्का दिनुको कारण सोधेको छ। म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्सले दिएको निवेदनका आधारमा पीपीएमओले छानबिन थालेको हो। पीपीएमओले भेन्टिलेटर खरिद प्रक्रिया रोक्नसमेत निर्देशन दिएको छ। 

‘कार्यालयले माग गरेअनुसार हामीले कागजपत्र बुझाएका छौं। उसैको निर्देशनमा थप काम पनि रोकिएको छ’, पाटन अस्पतालका निर्देशक रवि शाक्यले भने। भेन्टिलेटर खरिदमा अनियमितता भएको गुनासोका आधारमा अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ। 

प्रकाशित: Jul 27, 2021| 22:52 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।