काठमाडौं- हिमालय रोडिजको चौथो सिजनको अडिसन सुरु भएको छ। कोरोना महामारीलाई ध्यानमा राखेर रोडिजको चौथो सिजनको अडिसन डिजिटल माध्यमबाट सुरु गरेको आयोजकले राजधानीमा पत्रकार सम्मलेन गरेर जानकारी दिएको छ।
शोमा सहभागी हुन चाहनेले मोबाइल एप डाउनलोड गरी अडिसन फर्म भर्न सक्नेछन्। अडिसनका लागि फर्म भर्ने समय दुई हप्ता राखिएको छ। ‘सिजन अफ सर्भाइभल’नारा राखेर अडिसन सुरु भएको छ।
रोडिजेको चौथो सिजनलाई निर्देशक सिमोस सुनवारले निर्देशन गर्दैछन्। अघिल्ला तीन सिजनलाई भने अमनप्रताप अधिकारीले निर्देशन गरेका थिए।
अडिसनलाई नयाँ पुस्ताको संघर्षमा केन्द्रित गरेर रोचक बनाउने निर्देशक सुनवारले बताए। उनले रोडिज कायक्रममा जोडिन पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका थिए।
रोडिजलाई सहासी खेलसमेत मानिएको छ। कलाकार अनुपविक्रम शाही आफ्नो फेसबुक पेजमा लेख्छन्, ‘यसलाई एक सहासिक खेलको रूपमा लिन्छु। स्टाइलिश र सुरक्षित सवारीको आनन्द पनि लिन्छु।’
अनुपविक्रम शाही, दिया मास्के, आशिष राना र समन श्रेष्ठ टिम क्याप्टेनका रूपमा रहने छन्। कार्यक्रमको घोष्ट रमेनदास श्रेष्ठले गर्नेछन्। असोजबाट शोलाई प्रशारण गर्ने तयारी हिमालयन टेलिभिजनले जनाएको छ।