पुस महिना । काठमाडौंको तापक्रम निरन्तर ओरालो झरिरहेको थियो । २००५ सालको कुरा हो, कालो चस्मा लगाएका बिपीलाई हिजो देख्यौं, आज देख्यौं भन्ने रिपोर्ट प्रधानमन्त्री मोहन शमशेरसम्म पुगिरहेका थिए । चाकरीदार आफ्ना भारदार र जासुसमार्फत प्राप्त रिपोर्टबाट आक्रोशित प्रधानमन्त्रीले बिपीलाई पक्राउ गर्न पुलिस विभागको जिम्मेवारी पाएका छोरा विजयमाथि दबाब बढाइरहेका थिए । विजय भने बिपीलाई तत्कालै समाइहाल्ने पक्षमा थिएनन् । उनको निकट रहेर काम गरेका प्रशासक भीमबहादुर पाँडे लेख्छन्, 'चाहेको भए विजयले बिपी उपत्यका छिरेको भोलिपल्टै उनलाई गिरफ्तार गर्न सक्थे (पाँडे, २०४५ :९७) ।'
'दरबार स्कुलनजिकै कमलाक्षीको एक पुलिस सूचीकारबाट बिपीका हरेक गतिविधिको रिपोर्ट मेजर जनरल विजयशमशेरकहाँ पुग्थ्यो । तर पनि उनलाई समाउन चाहेका थिएनन् विजयले । बिपीलाई नसमाएको भन्दै बाबु मोहन रिसाएपछि मात्र आठपहरिया पठाएर ज्याठास्थित त्रिरत्न मानन्धरको घरमा रहेका बिपीलाई पक्रने आदेश उनले जारी गरे । त्यो दिन भोटो, सुरुवाल लगाएर मोटो च्यादर ओढेका बिपी गोप्य ढङ्गले सङ्गठन विस्तार र आन्दोलनका विषयमा छलफल गरिरहेका थिए । कर्नेल चन्द्रबहादुर थापाको कमान्डमा आठपहरियाले उनी बसेको घर घेरा हाले ।
त्यति बेला कति त टोपी भुइँमा छाडेर सुइँकुच्चा ठोके । बिपीले भनेका छन्, 'अब भाग्नुपर्यो भनेर घरमाथि उक्लिएँ । अर्को घरमा फाल हाल्ने सोच्दै थिएँ । त्यहाँ पनि छानाभरि प्रहरी तैनाथ रहेछन् (कोइराला, २०६७ : ८५) ।' चारैतिरबाट घेरा हालिसकेका थिए । घरको छिँडीमै उनी प्रहरीको फन्दामा परे ।

केदारमान व्यथित प्रहरीको हातबाट उम्किए । बिपीसँगै, त्रिरत्न र गौरीभक्त प्रधान पक्राउ परे । ठूलो माछा फेला पर्यो भनेर प्रहरी पनि व्यथितलाई खोज्नतिर लागेन । कब्जामा लिइसक्दासमेत कर्नेल चन्द्रबहादुर पक्राउ परेका व्यक्ति बिपी नै हुन् भनेर आश्वस्त हुन सकिरहेका थिएनन् । र उनले सोधे, 'तिमी को हौ ?' बिपीले भने, 'विश्वेश्वरप्रसाद कोइराला ।' चन्द्रबहादुरले छक्क पर्दै फेरि सोधे, 'के रे ? के ?' कड्किएर उनी भन्न थाले, 'चिनाउने मानिस पनि छन् । चिनौंला ।'
बिपी काठमाडौंमा रहेको सुइँको पाउनासाथ विराटनगरबाट उनलाई चिन्ने मान्छे बोलाइएको थियो । जति सक्यो चाँडो महाराजकहाँ उनलाई हाजिर गराउन चाहन्थे कर्नेल । बिपीसँगै पक्राउ परेका मानिसलाई हतकडी लगाइयो । उनलाई चाहिँ पटुकाले बाँधे । आफ्ना साथीहरूलाई हतकडी लगाएको देखेर बिपी भन्न थाले, 'उनीहरूको के दोष ? म हुँ मुख्य नेता । उनीहरूलाई दुःख नदिनुस् । हतकडी लगाउनु छ भने मलाई लगाउनुस् ।' चन्द्रबहादुर पनि कड्किए, 'तिमीलाई महाराजकहाँ लिएर जान्छौं । जे हुकुम हुन्छ, त्यही हुन्छ । सीधै सिंहदरबार लगियो (कोइराला, २०६७ : ८९) ।'
बिपीले भनेका छन्, 'म पक्राउ पर्दा मेरो खल्तीबाट मैले महाराज मोहनशमशेरलाई लेखेको चिठी उनीहरूले फेला पारे । साथै टङ्कप्रसादले लेखेका तीन ओटा चिठी र मेरो कार्ययोजना, छ महिनाको कार्यक्रम पनि फेला पारे (गिरि : १८) ।' त्यति बेला एउटा कोट, भोटो, पातलो एकजोर मोजाबाहेक उनको शरीरमा तातो लुगा र खुट्टामा जुत्तासमेत थिएन । राति १० बजे सिंहदरबार मूल ढोकाबाट भित्र दक्षिणपट्टिको दाहिने गोलो एकतले पल्टन बस्ने घरको बीचतिरको कोठामा उनलाई पुर्याइयो, जहाँ लहरै मानिस सुतेका थिए । 'पुसको महिना, काठमाडौंको मुटु कमाउने जाडो । हिउँजस्तो चिसो छिँडीमा नाङ्गै नेल र हतकडी लगाएर अमानवीय ढङ्गमा उनलाई त्यहाँ पुर्याइएको थियो (गौतम, २०५५ : २०२) ।'
ढुङ्गा छापेको सिमेन्टेड भुइँमै सुत भन्न थाल्यो प्रहरी । सयौं सिपाहीहरू त्यसैगरी भुइँमै लडेका थिए । त्यस घटनाबारे बिपीले भनेका छन्, 'मलाई न बिछ्याउने दिएको छ, न ओढ्ने । तीन दिनसम्म खाली भुइँमा सुत्न बाध्य पारियो ।' जाडोका कारण उनी काँपिरहन्थे । एक पटक त मूच्र्छा नै परे । बिपीले भनेका छन्, 'म त्यहीँ मर्छु कि जस्तो लाग्थ्यो । मेरो दिमागले काम गर्नै छोड्यो, आफ्नो मानसिक सन्तुलन कायम राख्न म कहिले उठ्थें, कहिले बस्थें र कहिले कुक्रुक्क पर्ने गर्थें (चटर्जी, २०६३ : ८३) ।'
हतकडी र गोडामा नेल ठोकी कम्मरमा साङ्लो बाँधिएको थियो भने सैनिक गार्डले अहोरात्र पहरा दिइरहेको हुन्थ्यो । पहिलो दिन खाना पनि दिइएन । बन्दीलाई खाना दिने कि नदिने ? दिए के दिने भन्ने मामुली निर्णयका लागि समेत प्रधानमन्त्रीकै आदेश चाहिन्थ्यो । धर्मकर्ममा असाध्यै लगन भएका प्रधानमन्त्री मोहनशमशेर हरेक दिन बिहान १० बजेसम्म पूजामा बस्थे । प्रधानमन्त्रीको आदेश नआउँदा बिपीले खान पाएका थिएनन् । पूजा सकेर महाराजले आदेश सुनाए, 'थुनुवालाई खाना दिनू ।' त्यसपछि मात्र मूला, आलु, चिउरा र तारेको भटमास एउटा कागजमा राखेर बिपीको कोठाभित्र छिराइएको थियो । बिनाकपडा रात काटेपछि ओढ्नेओछ्याउने कपडा दिनुपर्यो, जाडोले मर्ने भएँ भने बिपीले । राणाका कर्मचारी भन्न थाले, 'आफन्तकहाँबाट मगाऊ ।'
असह्य दुःख दिएर राखेपछि बिपीको सम्पर्कसूत्र पत्ता लगाउन सकिन्छ भन्ने राणाहरूको रणनीति थियो । तर बिपीले केही गर्दा पनि मुख खोलेनन् । उनी भन्ने गर्थे, 'यहाँ मेरो कोही मानिस छैन । कोसँग मागौं ?' थुनामा परेको तेस्रो दिन राति बिपी मूच्र्छा परे । 'उनको आँखाअगाडि एकैचोटि रातो, नीलो, पहेंलोको समिश्रण इन्द्रेणी आयो । त्यसपछि निष्पट्ट अन्धकारको एउटा झड्काले छोप्यो । उनी मूच्र्छा परे (गौतम, २०५५ : २०२) ।' ब्युँझिँदा कसैले आगो बालिदिएको थियो । सेनाले लगाउने कोट ओढाइदिएको थियो । मूर्च्छा पर्नुअघि आफूलाई थुनामा रहेको कोठाबाहिर पहरा दिइरहेका सिपाहीको 'राइफल खोसी खुट्टाले ट्रिगर थिचेर आफैंलाई गोली हान्नेसम्मको सोचाइ उनमा आएको थियो (गौतम, २०५५ : २०२ र २०३) ।'
एक दिन रातको १०–११ बजेतिर ठूलो राडी बोकेर कराउँदै एउटा मान्छे बन्दीकक्षमा पुग्यो । ऊ भन्दै थियो, 'महाराजको आदेश छ यो राडी थुनुवालाई दिनू ।' अनि त्यही एउटै राडी ओछ्याउने र ओढ्ने गर्न थाले बिपी । इँटको तकिया बनाए । महाराजको आदेशमा नेल, हतकडी र कम्मरमा जन्जिर लगाइएको थियो । हुन त त्यसअघि भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा पनि उनी पक्राउ परेका थिए । विराटनगर मजदुर आन्दोलनका क्रममा पद्मशमशेरको बन्दी भएका उनलाई जेलमा त्यस तहको यातना दिएर बन्दीलाई राख्छन् भन्ने कल्पनासम्म थिएन । राणाहरू अङ्ग्रेजको तुलनामा कैयन् गुणा क्रूर थिए । बिपीले भनेका छन्, 'नेल लगाउँदा ठोक्नुपथ्र्यो, एकदमै क्रूर र अमानवीय तवरले ।
अलिकति विचार पुर्याएन भने हथौडा चिप्लिएर खुट्टामै बज्रिन्छ कि भन्ने डर हुन्थ्यो ।' एक पटक हथौडाले हानेर नेल लगाउन लाग्दा 'कौ' (लोहार) को हात चिप्लिएर नेल अड्याएको ढुङ्गामा लाग्यो । बिपीले भनेका छन्, 'त्यहाँ बसेको अफिसरले 'कौ' लाई हप्कायो, 'ए, उसको खुट्टाको हाड फुट्यो भने त जोडिन्छ । अब तँ दिन्छस् त्यो ढुङ्गाको पैसा (कोइराला, २०६७ : ९०) ।' नेलबाट केही समयका लागि भए पनि मुक्ति पाउने उपाय निकाल्दै बिपीले महाराजकहाँ खबर पठाए, 'बाहुन हुँ । दिनहुँ ननुहाई म खान सक्दिनँ ।' अनि महाराज मोहनको आदेशमा उनलाई नुहाउने अनुमति प्राप्त भयो । बिहान नुहाउनुअघि नेल खोलिन्थ्यो, नुहाइसकेपछि फेरि ठोकिन्थ्यो ।
थुनामा राखेको १५ दिनपछि उनलाई अदालतमा हाजिर गराइयो । सिंहदरबारभित्र ग्यालरी हाउस (संसद् भवन) नजिक काठेघरको एउटा कोठामा सफा मेच र कार्पेट राखी अदालतको रूप दिइएको थियो । मुख्य न्यायाधीश हरिशमशेर (राजा महेन्द्रका ससुरा) सहित अरू १०–१५ न्यायाधीश र दुईजना सहायक थिए । 'गणेशमानका बाजे रत्नमान र प्रहरी प्रमुख पनि इजलासमा थिए (चटर्जी, २०६३ : ८४) ।' उनीहरू कुन हैसियतमा त्यहाँ थिए भन्ने थाहा नभएको बिपीले उल्लेख गरेका छन् । एक जना कानुन विषयका ज्ञाता र अर्का गुरूज्यू पनि इजलासमा थिए ।
काठमाडौंमा क्रियाशील सहयोगी र सम्पर्कसूत्र पत्ता लगाउन सकिन्छ कि भन्ने उद्देश्यले अत्यन्त अमानवीय रुपले आफूलाई खाली भुइँमा सुत्न बाध्य पारिएको तथ्य बिपीले इजलास पुगेपछि मात्र थाहा पाए । थुनामा परेको दुई सातासम्म उनको खोजखबरका लागि कोही आएन । बयानको सुरूमै नेपाल आएपछि उनी लुकिछिपी बसेको ठाउँबारे सोधियो । बिपीको जवाफ थियो, 'मैले त्यो कुरा कसैलाई नभन्ने कसम ईश्वरसँग खाएको छु । त्यसैले तपाईं मानिसहरूसँग म त्यो कसम तोड्न सक्दिनँ ।' सूचना चुहाउन सकिन्छ कि भनेर सात दिनसम्म हरिशमशेरको इजलासमा उनलाई केरकार गरियो । तर बिपीले कुनै कुरा खोलेनन् । अनी कोर्रा लगाउने डर देखाइयो ।
तिम्रो नाम : विश्वेश्वरप्रसाद कोइराला ।
पिताजीको नाम : कृष्णप्रसाद कोइराला
घर : विराटनगर
तिमी यहाँ राजकाज उडाउन आएका होइनौ ?
बिपी : हामीले राज्य ताकेको होइन, नागरिक अधिकार खोजेको हो । वैधानिक र उत्तरदायी शासन खोजेको हो ।
हरिशमशेर : कोको छन् तिम्रा मतियार बताऊ ?
बिपी : सारा कुरा बताउँछु । तर त्यो बताउन सक्दिनँ । मैले भगवान्को नाममा प्रतिज्ञा गरेको छु । तपाईंका अगाडि आफ्नो त्यो प्रतिज्ञा तोड्न सक्दिनँ । बिपीको जबाफ सुनेपछि न्यायाधीश जर्नेल हरिशमशेरमा क्रोधको ज्वाला उत्पन्न भयो । इजलासमै रहेका गुरुतिर फर्केर उनले भने, 'के गर्ने गुरू ? ल भन्नुस् त । बाहुनको छोरालाई केही गर्न नमिल्ने ।' फेरि हरि शमशेरले थपे, 'ल ठीक छ, आजलाई भैहाल्यो, अब नमाने कोर्रा लगाउनुपर्ला ।'
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४