शुक्रबार, फागुन १८, २०८०

हुलाकी सडक

मधेशको लाइफलाइनले जगाएको आशा

छोटो समयमै धनुषा र सिरहासहित मधेश प्रदेशका ग्रामीण क्षेत्रमा आएको परिवर्तन अन्य कुनै कारणले नभई मधेशकै 'लाइफलाइन'को रुपमा मानिएको हुलाकी सडक निर्माणसँगै सम्भव भएको हो।
 |  सोमबार, भदौ ४, २०८०

राजु विश्वकर्मा

राजु विश्वकर्मा

सोमबार, भदौ ४, २०८०

वीरगञ्ज- कुनैबेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो अनि त्यसभित्र स–साना पसलमात्रै देखिने मधेश प्रदेशका ग्रामीण बजारको स्वरुप यतिबेला फेरिएको छ। बजारको स्वरुप फेरिएसँगै त्यस क्षेत्रका स्थानीयमा पहिलाको भन्दा बेग्लै खालको उत्साहसमेत देखिन थालेको छ।

सिरहाको बरियारपट्टी बजार पनि अहिले सुगम क्षेत्रका रुपमा आफ्नो पहिचान फेर्न लागेको छ। भारतीय सिमानाका लदनियाँ बजारसँगै टाँसिएको बरियारपट्टी बजारमा धमाधम ठूला लगानीका पसल खुल्न थालेका छन् भने बजारमा सर्वसाधारणको चहलपहलसमेत बढेको स्थानीयवासी बताउँछन्। ‘पहिला पहिला बजार क्षेत्रमा साघुँरो सडक र फुसको छाप्रो, त्यहाँभित्र साना व्यवसाय मात्र थियो’, धनुषाको औरहीका विनोद यादव भन्छन्, ‘तर अहिले सडक फराकिलो भएसँगै बजारमा पक्की भवन र ठूला पसलहरु खुल्न थालेका छन्।’

पर्साको ठोरी गाउँपालिकालाई केही वर्षअघिसम्म दुर्गम क्षेत्रको रुपमा मानिथ्यो। तर अहिले ठोरीले आफ्नो पुरानो पहिचान फेरेको छ। यतिबेला ठोरी क्षेत्र मधेश प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास हुन थालेको छ। सडक सञ्जालको विकास नहुनु र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको ठोरी अहिले हुलाकी सडक कालोपत्रे भएसँगै विकासको गतिमा अघि बढेको छ। पूर्व–पश्चिम हुलाकी सडक कालोपत्र भएसँगै ठोरीका स्थानीयको अनुहारमा यतिबेला मुस्कान छाएको छ।

हुलाकी सडक अन्तर्गत पर्साको वीरगञ्जदेखि ठोरीसम्मको सडक कालोपत्रे भएपछि सदरमुकाम वीरगञ्ज पुग्न सहज भएको छ। ‘वीरगञ्जदेखि ठोरीसम्मको दूरी करिब ५२ किलोमिटर पर्छ। गाउँबाट वीरगञ्ज बजार पुग्न पहिला मोटरसाइकलमा सात/आठ घण्टासम्म लाग्थ्यो’, ठोरी गाउँपालिका–४ का ललित श्रेष्ठ भन्छन्, ‘सडक कालोपत्रे भएपछि अहिले एक घण्टामै पुग्छौं।’ अब धुलो र हिलोबाट समेत मुक्ति पाएको उनको कथन छ।

पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको ठोरी पर्यटन र कृषिको प्रशस्त सम्भावना रहे पनि सडक सुविधा नहुँदा यहाँका वासिन्दाको जीवनस्तर माथि उठ्न सकेको थिएन। ‘पहिला गाउँमा उत्पादन भएको तरकारी तथा फलफूल सहज रुपमा वीरगञ्ज बजार पुर्‍याउन समस्या हुन्थ्यो’, बहुदरमाई नगरपालिकाका श्रवण महतो भन्छन्, ‘तर अहिले सो सडकमा थुप्रै संख्यामा अटो रिक्साहरु चल्न थालेपछि सहज रुपमै तरकारी, फलफूल बजार पुर्‍याउन सकेका छौं।’

Metro Mart
worldlink

हुलाकी सडक निर्माणको काम सुरु भएपछि सो भेगका सर्वसाधारण खुसी भएका छन्। हुलाकी सडक निर्माण भएपछि मधेशको विकासले गति लिनुको साथै हजारौं युवाहरुमा रोजगारीको अवसर सिर्जना हुने उनीहरुको विश्वास छ।

छोटो समयमै धनुषा र सिरहासहित मधेश प्रदेशका ग्रामीण क्षेत्रमा आएको परिवर्तन अन्य कुनै कारणले नभई मधेशकै ‘लाइफ लाइन’को रुपमा मानिएको हुलाकी सडक निर्माणसँगै सम्भव भएको हो। देशकै पुरानो राजमार्गमध्ये पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत मधेश प्रदेशका आठवटै जिल्लामा सडक निर्माण कार्य तीव्र रुपमा अघि बढेसँगै दुर्गम मानिएका ग्रामीण क्षेत्रहरु अहिले सुगम क्षेत्र बन्दै गएको छ।

हुलाकी सडक निर्माणको काम सुरु भएपछि सो भेगका सर्वसाधारण खुसी भएका छन्। हुलाकी सडक निर्माण भएपछि मधेशको विकासले गति लिनुको साथै हजारौं युवाहरुमा रोजगारीको अवसर सिर्जना हुने उनीहरुको विश्वास छ।

हुलाकी सडक विस्तार र स्तरोन्नतिको कामले सिरहाको आधा दर्जन स्थानीय तहको विकासमा ठूलो टेवा पुगेको सिरहाको बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष मेहताको कथन छ। ‘हुलाकी राजमार्ग बनेपछि जग्गाजमिनको मूल्यांकन समेत बढ्दै गएको छ,’ सप्तरीको बिष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादव भन्छन्, ‘पहिला मुस्किलले २० लाख प्रतिकठ्ठा बिक्री हुने जग्गा अहिले ६० देखि ७० लाख कठ्ठामा बिक्री हुन थालेको छ।’

‘सडक निर्माणका कारण गाउँ र बजारको दुरी घटेको छ, गाउँका स्थानीय बजार आएर सहज रुपमा किनबेच गरिरहेकाले व्यापार बढेको छ’, सप्तरीको बोदे बसाइनका व्यापारी दिपेन्द्र मण्डल भन्छन्, ‘पहिला सडक जीर्ण हुँदा गाउँबाट बजार आउन स्थानीयलाई समस्या हुन्थ्यो, अहिले बजारसम्म आउन सहज भएको छ, त्यसैले बिक्री बढेको छ।’ सडक निर्माणले गाउँ र बजारलाई जोड्ने काम समेत गरेको मण्डलको भनाइ छ।

पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्म करिब साढे पाँच सय किलोमिटर सडकमा कालोपत्र र ६० वटाभन्दा बढीभन्दा बढी पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ। पूर्व सप्तरीको कञ्चनपुरदेखि सदरमुकाम राजविराजसहित बलान खोलासम्मको ४६ किलोमिटर सडकमा पुलसँगै सडक निर्माणको काम तीव्र रुपमा भइरहेको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय इटहरीका प्रमुख विजयकुमार थापाले जानकारी दिए। ‘पूर्व कञ्चनपुरदेखि पश्चिम बलानसम्मको सप्तरी खण्डमा दुईवटा कन्ट्रयाक्टरमार्फत काम भइरहेको छ,’ प्रमुख थापा भन्छन्, ‘अहिलेसम्म ३२ किलोमिटर सडकमा कालोपत्र सकिएको र बाँकी करिब आठ किलोमिटरमा सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम भइसकेको छ।’

यस्तै पूर्व बलान खोलादेखि सर्लाहीसम्मको करिब ९० प्रतिशत सडक खण्डमा कालोपत्र सकिएको छ। हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामका अनुसार हुलाकी सडकअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको करिब २३३ किलोमिटर सडकअन्तर्गत हालसम्म ११८ किलोमिटर सडकमा कालोपत्र सकिएको छ। बाँकी १५ किलोमिटर सडकमा पनि तीव्र रुपमा काम भइरहेको छ। जनकपुरधामस्थित कदमचौकदेखि कमला नदीसम्मको २६ किलोमिटर सडकमध्ये २४ किलोमिटर सडकमा कालोपत्र गरिएको र बाँकी दुई किलोमिटरमा पनि तीव्र रुपमा काम भइरहेको कार्यालयका प्रमुख कृष्णकुमार महतोको भनाइ छ।

बाराको गढीमाई–बरियारपुर–कबही गोठ सडकको १० किलोमिटर सडकमध्ये साढे नौ किलोमिटर कालोपत्र सकिएको छ। यस्तै भरतपुर–ठोरी–माडी देवेन्द्रपुरदेखि बगै बसपार्कसम्म सडकमा भने वन जंगलका कारण निर्माण सामग्रीको अभाव तथा वातावारण प्रभाव मूल्यांकन हुन नसकेकाले करिब २० प्रतिशत मात्र सडकको काम हुन सकेको छ।

सप्तरी र सिरहाको सीमा छुट्याउने बलान नदीदेखि कमला नदीसम्मको सिरहा खण्डको ३० किलोमिटर सडकमा कालोपत्र सकिएको र सो खण्डमा एउटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको प्रमुख महतो बताउँछन्। सो सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै काम सक्ने जनाएको छ। एक वर्षअघिसम्म सुस्त देखिएको सर्लाही खण्डमा पनि काम तीव्र रुपमा अघि बढेको छ।

सर्लाहीको सितलपुर–मलंगवा खरैया टोलसम्मको सडक निर्माणका काम सुरुमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट हुँदै आए पनि काम अघि बढ्न नसकेको भन्दै हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामलाई हस्तान्तरण गरिएको थियो। करिब ४० किलोमिटरको सो सडक हस्तान्तरण भएयता ३८ किलोमिटर सडकमा कालोपत्रको काम सम्पन्न भएको र बाँकी खण्डमा माटो ग्राभेलको काम भइरहेको छ।

चालु आर्थिक वर्षभित्रै हुलाकी सडक निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिए पनि राजमार्गभित्र परेका घरटहरा हटाउन भएको ढिलाइ, ठाउँठाउँमा जग्गासम्बन्धी विवाद र कोभिड महामारीलगायतका कारण हुलाकी राजमार्ग निर्माणको कार्य केही समय पछि धकेलिएको उनको कथन छ।

यस्तै हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्म सडक खण्डमा निर्माणाधीन नौ वटा पुलमध्ये पाँच वटाको निर्माणको काम सम्पन्न भइसकेको र कमला नदीको पुलसहित चार पुलको काम भइरहेको कार्यालयले जनाएको छ। रौतहटदेखि चितवनसम्मको करिब २५१ किलोमिटर सडकमा कालोपत्र सकिएको र बाँकी ३२ किलोमिटरमध्ये वनजंगल तथा जग्गासम्बन्धी बिवादका कारण प्रभावित भएको जनाएको छ।

पर्साको ठोरी क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको जंगल परेकाले त्यहाँ कसरी विस्तार गर्नेलगायतका विषयमा वातारण प्रभाव मूल्यांकनका लागि हुलाकी सडक विभाग र मन्त्रालयमा सिफारिस पठाइएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी इञ्जिनीयर सञ्जयकुमार ठाकुरले जानकारी दिए। वातावारण प्रभाव मूल्यांकन प्रतिवेदन आएलगत्तै सो क्षेत्रमा सडक कालोपत्रलगायतका काम अघि बढाइने उनी बताउँछन्।

यस्तै हुलाकी सडकअन्तर्गत रौतहटदेखि चितवनसम्म निर्माणाधीन पुलमध्ये आव २०७९-८० मा पाँचवटा पुल निर्माण सम्पन्न भइरहेको सो कार्यालयले जनाएको छ। कार्यालयका इञ्जिनीयर ठाकुरका अनुसार सो आवमा  १४ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकामा पाँच वटा पुल निर्माण सम्पन्न भइसकेको र बाँकी नौ वटा पुलको निर्माण काम भइरहेको छ।

गत आवमा बाराको अरुवा खोला, डोरा खोला, पर्साको तिलाबे खोला र चितवनको टुनामुना तथा चिताई खोलाको पुल निर्माण सम्पन्न भइसकेको छ। त्यस्तै रौतहटको बागमती नदी, भकुवा खोला र चितवनको रियू खोला, बगै खोला, घाँघर खोला, भालु खोला, पतरी खोला, बादरमुडे र मुगै खोलाको पुल निर्माणाधीन अवस्थामा रहेको छ।

सडकतर्फ बाराको गढीमाई–बरियारपुर–कबही गोठ सडकको १० किलोमिटर सडकमध्ये साढे नौ किलोमिटर सडक कालोपत्र सकिएको छ। यस्तै भरतपुर–ठोरी–माडी देवेन्द्रपुरदेखि बगै बसपार्कसम्म सडकमा भने वन जंगलका कारण निर्माण सामग्रीको अभाव तथा वातावारण प्रभाव मूल्यांकन हुन नसकेकाले करिब २० प्रतिशतमात्र सडकको काम हुन सकेको छ।

चालु आवभित्रै हुलाकी सडक निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिए पनि हुलाकी राजमार्गभित्र जंगल तथा सडकमा परेका घरटहरा हटाउन भएको ढिलाइ, ठाउँठाउँमा जग्गासम्बन्धी विवादलगायत कारण हुलाकी राजमार्ग निर्माणको कार्य केही पछि धकेलिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका प्रमुख इञ्जिनीयर ध्रुवकुमार झा बताउँछन्।

जग्गा विवादले निर्माण प्रभावित
राष्ट्रिय गौरवको आयोजनामध्ये निर्माणाधिन पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्मको केही भागमा जग्गासम्बन्धी विवादका कारण काम प्रभावित भएको छ। जग्गा विवादलाई लिएर स्थानीयले अदालतमा दिएको मुद्दालगायतका कारणले धनुषाको औरही र तिनकौरिया बजारमा सडक निर्माणको काम प्रभावित भएको हो।

पूर्व कमलादेखि पश्चिम जनकपुरधामसम्मको २७ किलोमिटर सडकमध्ये करिब २५ किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुग्न लाग्दा बाँकी करिब दुई किलोमिटर सडकमा जग्गा विवादका कारण काम अघि बढाउन नसकिएको लामा रमण जेभीका इन्जिनीयर सुनिल मुखिया बताउँछन्।

औरही बजारको इलाका प्रहरी कार्यालय अगाडिको जग्गा आफ्नो हो भन्दै स्थानीय रामबाबु साह सुडीले उच्च अदालत जनकपुरधाममा मुद्दा दिएको र सोही मुद्दामा अदालतले मुआब्जा दिएर मात्र सडक बनाउन आदेश दिएकाले समस्या भएको इन्जिनीयर मुखिया बताउँछन्। 'अदालतले सुडीलाई जग्गाको मुआब्जा दिएर मात्र सडक बनाउन आदेश दिएको छ’, मुखिया भन्छन्, ‘जग्गाको मुआब्जा उहाँलाई मात्र दिए अरु ठाउँको जग्गाधनीले पनि मुआब्जा माग्छन् र विवाद हुन सक्ने बताइएको छ।’ जग्गा विवादले औरही बजारको करिब ५०० मिटर सडक निर्माणको काम अझ सुरु हुन सकेको छैन।

यस्तै धनुषाको बिदेह नगरपालिकाको तिकौरिया बजारमा जग्गा विवादलाई लिएर स्थानीयले अवरोध गरेपछि तिनकौरिया बजारदेखि करिब ६०० मिटर सडक निर्माणको काम समेत प्रभावित भएको छ। पछिल्लो समय स्थानीय तहको समन्वयमा समस्या समाधान गरी काम सुरु गर्ने प्रयास भइरहेको हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोको कथन छ।

लामा रमण जेभी २०७८ चैत ३० गते स्तरोन्नतिको काम पूरा गर्ने गरी २०७३ असार ३१ गते सम्झौता गरेको थियो। सो मितिमा निर्माण सम्पन्न हुन नसकेपछि पुनः म्याद थप गरी २०७९ चैत ३० सम्म कायम गरिएको थियो। थप अवधिभित्रै सडकको सबै काम सम्पन्न गर्ने लक्ष्य भए पनि विभिन्न स्थानका स्थानीयले जग्गा बिवादलाई लिएर अदालतमा मुद्दा हाल्ने र विवाद सिर्जना गर्दा सम्पन्न हुन नसकेको महतोको भनाइ छ।

यस्तै सप्तरी र सिरहाको सिमा छुट्याउने बलान नदीदेखि कमला नदीसम्मको सिरहा खण्डमा करिब २० मिटर सडकमा मात्र कालोपत्र गर्न बाँकी छ। सिरहा खण्डमा ३० किलोमिटरमध्ये २९.५ किलोमिटर सडक कालोपत्रको काम सकिएको छ भने जग्गा विवादका कारण ५०० मिटर सडकमा काम अघि बढ्न सकेको छैन। जग्गा विवादका कारण महोत्तरीको दुधमति बसबिट्टी, भष्वानपुर चौक, बनचौरी तथा सर्लाहीको शितलपुर–मलंगवा खरैयाटोल सडक खण्डमा पर्ने सर्लाहीको मलंगवा बजार, ब्रहमचौक, गरहैया बजार, गोबरगञ्ज र हरिपुर्वा बजार क्षेत्रमा पनि काम अवरुद्ध भएको छ।

जग्गासम्बन्धी विवादकै कारण सप्तरीको कञ्चनपुरदेखि बलानसम्मको सडक खण्डमा करिब चार किलोमिटरभन्दा बढी सडकमा काम हुन सकेको छैन। ‘स्थानीयले जग्गासम्बन्धी विवाद सृजना गरी न्यायालयसम्म पुगेपछि सदरमुकाम राजविराजमा करिब ८०० मिटर सडकमा काम रोकिएको छ’, हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरी सुनसरीका प्रमुख विजयकुमार थापा बताउँछन्। केही दिनअघि मात्रै राजविराजको राम मन्दिरदेखि छिन्नमस्ता डेरीसम्मको सडकमा नगरपालिकाले डोजर चलाएर सडक फराकिलो बनाइसकेकोले केही दिनभित्रै त्यहाँ काम सुरु गरिने उनको भनाइ छ।

हुलाकी सडकअन्तर्गत बाराको गढीमाई–बरियारपुर–कबही गोठ सडकको १० किलोमिटर सडकमध्ये साढे नौ किलोमिटर सडक कालोपत्र सकिएको र बाँकी ५०० मिटर सडक जग्गासम्बन्धी विवादका कारण प्रभावित भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी इञ्जिनियर सञ्जयकुमार ठाकुर बताउँछन्। यस्तै भरतपुर–ठोरी–माडी देवेन्द्रपुरदेखि बगै बसपार्कसम्म सडकमा भने वन जंगलका कारण निर्माण सामग्रीको अभाव तथा वातावारण प्रभाव मूल्यांकन हुन नसकेकाले करिब २० प्रतिशत मात्र सडकको काम हुन हुन सकेको छैन।

मधेशको लाइफलाइनले जगाएको आशा
मधेशकै लाइफलाइनको रुपमा मानिएको हुलाकी सडकको निर्माणको काम तीव्र रुपमा अघि बढेपछि सो भेगका सर्वसाधारण खुसी भएका छन्। पूर्व पश्चिम राजमार्गको समानान्तर सीमा हुँदै करिब २० देखि ३० किमी दक्षिणतर्फ भएर फैलिएको हुलाकी राजमार्ग राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिँड्ने छोटो बाटो हाे जसलाई पद्म शमशेरले आगाडि बढाएकाले पदम रोड पनि भनिने गरिन्छ।

पूर्व–पश्चिम राजमार्गबाट मधेशका जिल्ला सदरमुकामसम्म जोड्ने ८१७ किमीको ३२ वटा सहायक राजमार्गहरू छन्। भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणको क्रममा हुलाकी राजमार्ग निर्माणमा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

भारतीय सहयोगको सैद्धान्तिक सहमति २०६१ सालमा भए पनि नेपालमा २०६२-६३ को परिवर्तनपछि भारत सरकारले नेपाल सरकारबाट छनोट भएका एक हजार ४४० किलोमिटर सडकको डिजाइन सुपरीवेक्षण र निर्माण तीन चरणमा गर्ने गरी सम्झौता गरिएको थियो। यसवापत लाग्ने सम्पूर्ण खर्च भारत सरकारले व्यहोर्ने र जग्गा अधिग्रहण, पोल, रुखहरू हटाउने, हुलाकी राजमार्गमा पर्ने सम्पूर्ण पुलहरूको निर्माण नेपाल सरकारले गर्ने प्रावधानसहितको समझदारी भएको थियो। नेपालले गरेको रेखांकनअनुसार हुलाकी राजमार्गको लम्बाइ एक हजार ७९२ किलोमिटर रहेको छ।     -रासस

प्रकाशित: Aug 21, 2023| 08:22 सोमबार, भदौ ४, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्