आदरणीय सभापतिज्यू,
नेपाली कांग्रेस, सानेपा, काठमाडौं
सादर जयनेपाल।
म भीमकुमार गौतम नेपाली कांग्रेसको एक कटिवद्ध सिपाही हुँ। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमा केन्द्रीय सदस्य रहेर काम गरिसकेको छु। म मेरो देश र पार्टीको समृद्धिका लागि निकै चिन्तन गर्ने व्यक्ति हुँ। त्यसैले यो खुलापत्रमार्फत पार्टी, संगठन र देशको वर्तमान राजनीतिक अवस्थाबारे केही विचार तथा अपेक्षाहरू व्यक्त गर्न चाहन्छु।
विशेष महाधिवेशनमार्फत तपाईं पार्टीको नेतृत्वमा पुग्नुभएको छ। पार्टीका कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकले तपाईंप्रति परिवर्तन, सुशासन र नयाँ राजनीतिक संस्कृतिको आशा गरेका छन्। कांग्रेसको नेतृत्वमा तपाईंको आगमनसँगै युवापुस्ताले पार्टीभित्र नयाँ ऊर्जा र नयाँ सोचको अपेक्षा गरेको छ। त्यो अपेक्षालाई पूर्ति गर्न तपाईंले थुप्रै काम गरेर देखाउनु पर्नेछ। नत्र पार्टी सभापति हत्याउन मात्र तपाईंले विशेष महाधिवेशनबाट नेतृत्व हत्याएको र पाका नेताहरूको ठूलो अपमान गरेको कलंकको टिका सदा लागि राख्नेछ। यसतर्फ सचेत भएर सबै अट्ने कांग्रेस निर्माणका लागि म विनम्र अनुरोध गर्दछु।
पार्टीको शक्ति केवल शीर्ष नेतृत्वमा होइन, गाउँ–गाउँमा संघर्ष गर्ने कार्यकर्तामा निहित हुन्छ। तरुण दल, नेपाल विद्यार्थी संघ, महिला संघ तथा अन्य भ्रातृ संस्थाका हजारौं कार्यकर्ताले कठिन समयमा पार्टीलाई जोगाएका छन्। आज उनीहरू संगठनको पुनर्गठन, अवसरको न्यायोचित वितरण र योग्यताको सम्मानको अपेक्षामा छन्। त्यसैले पार्टीभित्र विधि, विधान र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन म तपाईंलाई सुझाव दिन चाहन्छु। भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको समयमै अधिवेशन सम्पन्न गरियोस् भन्ने मेरो जोडदार माग छ।
तपाईं आफैँ युवा हुनुहुन्छ। युवालाई केवल नारामा होइन, निर्णय प्रक्रियामा समेत सहभागी गराउनु हुनेछ भन्नेमा म र मजस्ता युवाहरू विश्वस्त छौं। भ्रष्टाचार, नातावाद र गुटगत राजनीतिमाथि स्पष्ट र कडा अडान लिनुहोला। कांग्रेसलाई जनताको भरोसाको केन्द्रका रूपमा पुनः स्थापित गर्ने अभियान सञ्चालन गरियोस्। आज देशका युवाहरू विदेश पलायन भइरहेका छन्। बेरोजगारी, निराशा र राजनीतिक अविश्वास बढिरहेको छ। यस्तो अवस्थामा कांग्रेसले आशाको राजनीति गर्न नसके लोकतान्त्रिक शक्तिहरूमाथि जनविश्वास कमजोर हुनसक्छ। त्यसैले तपाईंको नेतृत्वले परिणाममुखी काम गरेर कांग्रेसलाई जनताको पहिलो रोजाइ बनाउने विश्वास दिलाउन आवश्यक छ। तर, कांग्रेस पछिल्लो समय कुहिरोमा हराएको काज जस्तो देखिन थालेको छ। त्यसैले कांग्रेसलाई धेरैले रास्वपाको छाँया जस्तो देखियो भनेर आलोचना गर्न थालेका छन्। यसतर्फ पनि तपाईं सचेत रहनु होला।
सभापतिज्यू,
अर्को कुरा पार्टीको नेतृत्व गरिरहँदा हामीले इतिहासको जग, अग्रजहरूको योगदान र नेपाली राजनीतिको कठोर धरातललाई भुल्नु हुँदैन। हालैका दिनहरूमा वर्तमान सभापति शेरबहादुर देउवाज्यूको कार्यशैली र नेतृत्वलाई लिएर हुने गरेका कतिपय टिप्पणी असान्दर्भिक र खेदजनक छन्। इतिहास र वर्तमानको वस्तुनिष्ठ मूल्याङ्कन गर्दा प्रजातन्त्र निर्माणमा शेरबहादुर देउवाको योगदान र उहाँको लोकतान्त्रिक चरित्रको उचाई निकै परिपक्व तथा ऐतिहासिक रूपमा गहिरो रहेको तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन।
यहाँले विद्यार्थी राजनीति सुरु गर्दा र सडकमा लोकतन्त्रको आवाज बुलन्द गर्दा शेरबहादुर देउवा नेपालमा प्रजातन्त्र पुनस्र्थापनाका लागि कठोर जेल जीवन र निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको कठिन सङ्घर्ष पार गरिसक्नुभएको नेता हुनुहुन्थ्यो। वि.सं. २०१७ सालको शाही कदमपछि नेपालको लोकतान्त्रिक आन्दोलनलाई जीवित राख्न नेपाल विद्यार्थी संघ (नेविसंघ)को संस्थापक कार्यसमिति सदस्य हुँदै सभापति बन्दा उहाँले बगाएको पसिना र भोगेको हिरासतको शृङ्खला इतिहासको पानामा अंकित छ। २०४६ सालको जनआन्दोलन होस् या २०६२÷६३ को आन्दोलन, देशमा लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न उहाँले खेलेको भूमिका र राजनीतिक जोखिम लिने क्षमता अतुलनीय छ। इतिहासको कालखण्ड र राजनीतिक संघर्षको आयतनका हिसाबले देउवाको योगदानलाई हलुका रुपमा लिनु इतिहासप्रतिको अन्याय हुन जान्छ।
लोकतन्त्र केवल राम्रो भाषण गर्नु वा सैद्धान्तिक बहस गर्नु मात्र होइन, यो त विपरीत विचार र विरोधीहरूलाई समेटेर अगाडि बढ्ने व्यावहारिक चरित्र पनि हो। यस मानेमा शेरबहादुर देउवा बढी लोकतान्त्रिक र सहिष्णु चरित्र भएको नेताका रूपमा देखिनुहुन्छ। पार्टीभित्र जतिसुकै कडा आलोचना वा विरोध भए पनि उहाँले कहिल्यै प्रतिशोधको राजनीति गर्नुभएन। आफूलाई संसद् र पार्टीभित्रै तीव्र घेराबन्दी गरिँदा पनि उहाँले लोकतान्त्रिक विधि (प्रक्रिया र निर्वाचन)लाई नै स्वीकार गर्नुभयो। विरोधी मतलाई सुन्ने, उचित समयमा स्पेस दिने र सत्ता एवं संगठनमा सबै पक्षलाई भागबन्डा मिलाएरै भए पनि व्यवस्थापन गर्ने उहाँको शैली संकीर्ण थिएन। उहाँ संवेगभन्दा माथि उठेर निर्णय लिन सक्ने, सहमतीय राजनीतिलाई अगाडी बढाउन सक्ने चरित्रको व्यक्ति हो। उहाँले प्रतिसोध साँधेर पार्टीका जिल्ला सभापतिहरूलाई कहिले कारबाही गर्नुभएन।
नेतृत्वमा पुग्नु मात्र ठूलो कुरा होइन, नेतृत्व सम्हाल्ने क्षमता प्रदर्शन गर्नु आजको मुख्य आवश्यकता हो। निवर्तमान सभापति देउवाको बहिर्गमनपछि पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे यहाँले गम्भीरतापूर्वक सोच्न जरुरी छ। गुटबन्दी अन्त्य र पार्टीलाई एक ढिक्का बनाउने संकल्प साथ तपाईं अगाडि बढ्नुपर्ने छ। आम नेपाली युवा, बौद्धिक वर्ग र भुइँमान्छेहरूले तपाईंको नेतृत्वमा एउटा आधुनिक, गतिशील र भरोसायोग्य कांग्रेसको परिकल्पना गरिरहेका छन्। तर, तपाईंमा यो कुराको अभाव देखिएको महशुस सिंगो कांग्रेस पङ्तिले गरिरहेको छ। पार्टीमा तपाईंले गरेको विद्रोहलाई पुष्टि गर्न सक्नु भएको छैन भन्ने हाम्रो ठम्याइ छ।
यतिबेला देश भर्खरै प्रतिनिधि सभा निर्वाचनको संघारबाट गुज्रिएको छ। पार्टीले प्राप्त गरेको परिणाम हाम्रा अगाडि छ। निर्वाचनको समीक्षा गर्दा इमानदार कार्यकर्ताको हैसियतले पार्टीको आन्तरिक रणनीति र त्यसले चुनावी परिणाममा पारेको प्रभावबारे केही तितो तर सत्य समीक्षा गर्नैपर्ने आवश्यकता मैले महसुस गरेको छु। राजनीतिमा परिवर्तन अपरिहार्य हुन्छ तर परिवर्तनको समय र तरिका सधैं महत््वपूर्ण रहन्छ। निर्वाचनको समुखमा निवर्तमान सभापति शेरबहादुर देउवालाई जसरी बहिर्गमनको बाटो देखाइयो, त्यसले पार्टीभित्र एउटा ठूलो मनोवैज्ञानिक र सांगठनिक खाडल सिर्जना गर्यो।
देउवासँग पार्टीको एउटा ठूलो हिस्सा, दशकौंदेखि भिजेका पुराना कार्यकर्तासँग निश्चित राजनीतिक सन्तुलन जोडिएको थियो। उहाँहरुलाई सम्मानजनक नेतृत्व हस्तान्तरणको वातावरण नबनाई बाहिर राख्दा पार्टीको तल्लो तहसम्म हामी र उनीहरू भन्ने भावना जागृत भयो। झनै फेरिएको कांग्रेस वा २.० कांग्रेस जस्ता नाराले त झनै निर्वाचनको मुखमा हुनुपर्ने भावनात्मक एकता, आन्तरिक सन्तोष र विश्वासमा ठूलो खाडल सिर्जना गरिदियो। यसको प्रत्यक्ष असर चुनावी परिणाममा देखिएको महशुस मैले गरेको छु। यदि हामीले देउवाको अनुभवी विरासत र तपाईंको युवा जोशलाई समायोजन गरेर पार्टीलाई पूर्ण रूपमा एकढिक्का राख्न सकेको भए प्रतिनिधि सभा निर्वाचनको चित्र निकै फरक र सुखद हुने थियो। पार्टीभित्र तीव्र गुटबन्दी नहुँदा कांग्रेसका परम्परागत मतदाताहरू कतै पनि विभाजित हुने थिएनन्। अन्तर्घात र निष्क्रियताका कारण गुमेका दर्जनौं सिटहरू सुरक्षित हुने थिए। जब शीर्ष नेतृत्वमा एकताको सन्देश जान्छ, तब गाउँ–गाउँका कार्यकर्तामा दोब्बर ऊर्जा थपिन्छ। कांग्रेस आफैंमा बलियो र नीतिगत रूपमा स्पष्ट भएर चुनावमा होमिएको भए परम्परागत मतहरू नयाँ उदाएका शक्तिहरू वा कम्युनिस्ट गठबन्धनतिर बहकिने सम्भावना न्यून हुने थियो।
सभापतिज्यू
हामीले बुझ्नुपर्ने कुरा कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन, यो त नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास, विचार र निष्ठाको धरोहर हो। बिपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता महान नेताहरूले रगत–पसिना बगाएर निर्माण गरेको यो पार्टीको जग नीति, नियम, सिद्धान्त र आदर्शमा अडिएको छ। तर, पछिल्लो समयमा पार्टीभित्र आदर्शभन्दा अवसरवाद र सिद्धान्तभन्दा शक्ति आर्जनको होडबाजी बढेको हो कि भन्ने चिन्ता आम कार्यकर्ता र शुभचिन्तकहरूमा पर्न थालेको छ। कांग्रेसको मूल सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हो, जुन मैले स्मरण गराइराख्नुपर्ने विषय होइन। तर, आज यी शब्द भाषणमा मात्र सीमित हुन थालेका छन्। पार्टीलाई गुट र उपगुटको दलदलबाट बाहिर निकालेर वैचारिक स्पष्टताका साथ अगाडि बढाउनु पर्ने आवश्यकता छ। सिद्धान्तबिनाको राजनीतिले क्षणिक लाभ त देला, तर यसले पार्टीको जग कमजोर बनाउँछ। आजको कांग्रेस हेर्दा समुन्द्रमा ‘कम्पास हराएको जहाज’ जस्तै देखिन थालेको छ। जसले न सही गन्तव्य भेट्न सकिरहेको छ, न सही बाटो नै पहिल्याउन सकिरहेको छ। यो आफैँभित्र रुमलिरहेको छ।
पार्टीभित्र विधिको शासन पूर्ण रूपमा लागू हुन जरुरी छ। जब पार्टीको विधान र नियमहरूलाई नेताहरूको अनुकुलतामा मिचिने प्रयास हुन्छ, तब इमानदार कार्यकर्ताको मनोबल गिर्छ। कांग्रेस आफ्नो इतिहास, त्याग र निष्ठाले भरिएको छ। आजको पुस्ताले कांग्रेसबाट त्यही उच्च नैतिक आचरण र आदर्शको अपेक्षा गरेको छ। भ्रष्टाचार विरोधी अभियान, सुशासन र जनताका आधारभूत आवश्यकताप्रति पार्टी सधैँ निर्भीक भएर उभिनुपर्छ। नीति र आदर्शको राजनीतिले मात्रै जनतामा गुमेको विश्वासलाई पुनः फर्काउन सक्छ।
तपाईंसँग युवाहरूको ऊर्जा छ, आम नागरिकको भरोसा छ र पार्टीलाई रूपान्तरण गर्ने एउटा ऐतिहासिक अवसर छ। अब कांग्रेसलाई केवल चुनाव जित्ने मेसिन वा सत्ताको जोडघटाउ गर्ने माध्यम मात्र बनाइनु हुँदैन। यसलाई विचार, एजेन्डा र स्पष्ट मार्गचित्र बोकेको जीवन्त संगठन बनाउनु पर्छ। पार्टीका हरेक निर्णयहरू नीति र सिद्धान्तका आधारमा हुन सकून्, व्यक्तिवादी सोचभन्दा संस्थागत पद्धति बलियो बनोस्। कांग्रेसलाई पुरानै गौरव र नयाँ उर्जाका साथ अगाडि बढाउने यस महाअभियानमा यहाँको नेतृत्वदायी भूमिका अझ सशक्त र प्रभावकारी बनोस् भन्ने हार्दिक शुभेच्छा प्रकट गर्दछु।
सभापतिज्यू
अन्त्यमा आज देश एउटा गम्भीर राजनीतिक, आर्थिक र सामाजिक संक्रमणकालबाट गुज्रिरहेको छ। पुराना दलहरूको अकर्मण्यता र नयाँ शक्तिहरूको अस्थिरताका बीच आम नागरिकहरू भरपर्दो विकल्पको खोजीमा छन्। यो अलमलको अवस्थामा देशले स्पष्ट दृष्टिकोण र दृढ इच्छाशक्ति भएको नेता खोजिरहेको छ। निसन्देह त्यो नेतृत्वदायी भूमिकामा देशले आज तपाईंलाई नै देखिरहेको छ। तपाईंमा नै आशा टिकेको छ। तपाईंसँग युवाहरूको ऊर्जा छ, आम जनताको सहानुभूति छ र देशका समस्याहरूलाई बुझ्ने बौद्धिक क्षमता छ। तर, यो आशा र सम्भावनालाई देशको वास्तविक नेतृत्वमा बदल्नका लागि केही स्पष्ट र ठोस कदमहरूको खाँचो देखिएकाले त्यो आसाको खाका तपाईंले प्रस्टरुपमा देखाउन सक्नुपर्छ।
जनताले तपाईंलाई मन पराउनुको मुख्य कारण तपाईंको स्पष्ट वक्ता र मुद्दाहरूमाथिको पकड हो। तर, पार्टीभित्रको आन्तरिक संघर्षमा रुमल्लिँदा तपाईंको मूल राजनीतिक दिशा कता जाँदैछ भन्नेमा आम नागरिक अलमलिने गरेका छन्। अब ढिला नगरी तपाईंको राजनीतिक मार्गचित्र देशसामु प्रष्ट रूपमा आउनुपर्छ। देशले तपाईंलाई लोकप्रिय नेताका रूपमा मात्र होइन, भोलिको प्रधानमन्त्री र देशको मुख्य संवाहकका रूपमा हेर्न चाहेको छ। तर, नेतृत्व केवल चाहनाले मात्र पाइँदैन, यसका लागि योजनाबद्ध तयारी चाहिन्छ। आर्थिक मन्दी, बेरोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रको बेथिति समाधान गर्न तपाईंसँग कुन क्षेत्रमा कस्ता योजना छन्, त्यसको खाका जनताले देख्न पाउनुपर्छ।
इतिहासले सबैलाई यस्तो अवसर दिँदैन। आज देशका लाखौँ युवाहरू तपाईंको पछि लाग्न तयार छन् तर उनीहरूलाई एउटा स्पष्ट गन्तव्यको खाँचो छ। तपाईं केवल कांग्रेसभित्रको एउटा गुटको नेता वा पार्टी सुधारको कुरा गर्ने सभापतिमा मात्र सीमित हुनुहुनेछ कि देशकै नेतृत्व गर्ने साहसी कदम चाल्नुहुनेछ ? फैसला तपाईंको हातमा छ। नीति, योजना र स्पष्ट दिशासहित अघि बढ्नुहोस्, हामी जस्ता युवा तपाईंको साथमा उभिन तयार छौं।
सद्भाव र उच्च अपेक्षासहित,
कांग्रेस शुभेच्छुक– भीमकुमार गौतम
जयनेपाल !
मिति : २०८३/०२/२५