बुधबार, वैशाख १९, २०८१

मिथिलाञ्चलमा जितिया पर्वको रौनक

 |  बिहीबार, असोज १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १८, २०८०

काठमाडौं- सन्तानको दीर्घ जीवन र पारिवारिक सुख–समृद्धिका लागि मनाइने जितिया पर्व मिथिलाञ्चलमा विधिपूर्वक सुरु भएको छ। पितृ पक्षमा मनाइने उक्त पर्वको मिथिलामा निकै ठूलो महत्व छ। यसमा महिलाले आफैंले पितृलाई पिण्ड चढाउने परम्परा छ।

triton college

भोलिदेखि ब्रत बसी सुरु हुने जितिया पर्वमा अघिल्लो दिनदेखि नै विभिन्न विधानसहित सुरुवात भएको मानिन्छ। तराईका सम्पूर्ण जिल्लामा विशेष महत्वका साथ मनाइने जितिया पर्व आज नहाइ–खाइ विधिबाट प्रारम्भ भएको छ। आजको दिन व्रतालु महिलाहरुले पोखरी तथा तलाउमा स्नान गरेर सोही स्थानमा पवित्र मानिने घिरौलाको पातमाथि जिमुतवाहन देवता र पितृलाई स्मरण गरी चिउरा, दही, अमोट (आँपको रसलाई घाममा सुकाएर बनाइएको परिकार)सहित चढाउने र आफूलगायत सपरिवार ग्रहण गर्ने चलन छ।

जनकपुरको गंगासागर, अरगजा सागरलगायत महोत्तरी, पर्सा, सिरहा र सप्तरीलगायतको स्थानीय पोखरीहरुमा महिलाहरुको घुइँचो हेर्न सकिन्छ। भोलि शुक्रबार बिहान ४ बजेदेखि व्रतारम्भ भई शनिबार बिहान साढे १० बजेपछि मात्रै पारण अर्थात समापन हुने संस्कृतिविद् रेवती रमण लाल बताउँछन्।

अन्य पर्वमा नहायखाय गरेपछि व्रतालुहरु सात्विक भोजन नै ग्रहण गरे पनि जितियामात्रै एक यस्तो पर्व हो जसमा महिलाहरुले आज पितृलाई प्रसाद चढाएर पनि माछा, कोदोको रोटी र सागलागायत अनिवार्य ग्रहण गर्छन्। जसलाई मिथिलामा माछ–मरुवा भन्ने गरिन्छ। यो मिथिलाको पारम्परीक भोजनमा समावेश र चर्चित परिकार समेत हो। आजको दिन मिथिलाको प्रत्येक घरमा माछा र कोदोको रोटी पाक्ने चलन छ।

संस्कृतिविद् लाल भन्छन्, 'माछा र कोदोको रोटी पच्न लामो समय लाग्छ भने यसले ताकत र इनर्जीसमेत दिने हुँदा कुनै वर्ष तीन साँझ पनि उपवास वस्नुपर्ने हँदा यसले महिलाहरुलाई शक्ति प्रदान गर्ने हेतुले पनि यसको प्रचलन सुरु भएको हो।' उनले जितियामा व्रत बस्ने दिन काग नकराउँदै व्रतालुमहिलाहरुले ओंगठन गर्ने परम्परा छ। जसमा दही–चिउरा ओठमा लगाउने अर्थात सेवन गर्छन् र बालबच्चालाई पनि खुवाउँछन्। त्यसपछि भने पूर्ण निराहार र पानीसमेत नखाइ व्रत बस्ने गर्छन्।

corrent noodles
Metro Mart

अचेल जितिया सुरु नहुँदै मिथिलाका महिलाहरुले विभिन्न कार्यक्रम गरी जितिया महोत्सवसमेत आयोजना गर्न थालेका छन्। सखि–बहिनपा नामक महिलाहरुको एक संस्थाले प्रत्येक वर्ष काठमाडौं लगायत नेपाल, भारत र विदेशमासमेत जितिया महोत्वसको आयोजना गर्दै आएको छ। संस्थाकी अध्यक्ष आरती झा भन्छिन्, 'आफ्नो संस्कृति नयाँ पुस्तालाई चिनाउन तथा यसको संरक्षण र संवर्धन गर्न महोत्सव गर्दै आएका छौं।

इतिहासदेखि नै संस्कृति र संस्कारको संरक्षण र जगेर्ना गर्ने कम मैथिल महिलाहरुले गर्दे आएका छन् त्यसैको एउटा स्वरुप हो जितिया महोत्सव। त्यस्तै मैथिल महिला समाज, कर्ण कायस्त महिला समाजलगायत विभिन्न संघसंस्थाहरुले जितियाको सन्दर्भ पारेर कार्यक्रमहरु आयोजना गर्न थालेका छन्। जितिया मिथिलाका साथै थारुहरुमा समेत विशेष महत्वका साथ मनाइने गरिन्छ। 

प्रकाशित: Oct 05, 2023| 17:31 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्