काठमाडौं- हुलाकी राजमार्ग अन्तर्गतको जनकपुर–भिठामोड सडक लामो समयदेखि निर्माण पूरा हुन सकेको छैन। सडक निर्माणमा कमसल सामानको प्रयोगले विभिन्न ठाउँमा सडक भत्किनुको साथै ठाउँ–ठाउँमा खाल्टाखुल्टीले गर्दा सवारी आवागमनमा समस्या हुन थालेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेकाछन्।
जनकपुर–भिठामोड सडक खण्डका कल्भर्टहरु विभिन्न ठाउँमा भत्किन थालेको भन्दै स्थानीयले उक्त सडक निर्माणमा व्यापक भ्रष्टाचार भएको आरोप लगाउँदै आएका छन्। कम गुणस्तरको निर्माण सामग्री प्रयोग र निर्माण कार्यमा लापरबाही गरिँदै आएको महोत्तरीका मनोज झाले बताए। चार लेन भनिएका सो सडक अधिकांश ठाउँमा भत्केकोले सवारी आवागमनमा अप्ठ्यारो पर्न थालेको उनी बताउँछन्। उनका अनुसार भारतीय सीमा जोड्ने जनकपुरधाम–भिठामोड सडक निर्माण कार्य सम्पन्न नहुँदै भत्किन थालेको छ। उनले भने, 'एकातिर सो सडक बन्दै गरेको छ भने अर्कोतिर भत्किँदै गएको अवस्था छ।'
महोत्तरीको जलेश्वर–९ का राकेश चौधरीका अनुसार उक्त सडकबाट हिँड्ने जोकोहीले सडक निर्माणमा कमसल सामान प्रयोग भएको सजिलै बताउन सक्छ। उनले जनकपुर-भिठामोड जोड्ने उक्त सडक निर्माणपूर्व जुन दयनीय अवस्थामा थियो, केही दिनपछि सोही अवस्थामा पुग्ने पक्का रहेको बताए।
मापदण्डविपरीत निर्माण–अनुगमन प्रतिवेदन
सो सडक खण्डको गुणस्तरमा प्रश्न उठ्न थालेपछि दुई वर्षअघि प्रतिनिधि सभाको विकास तथा पूर्वाधार समितिले सांसद इन्दु शर्माको संयोजकत्वमा अनुगमन समिति गठन गरेको थियो। समितिले कमसल सामग्रीको प्रयोग, मापदण्ड विपरीत निर्माण, गुणस्तरहीन निर्माण भएको ठहर गर्दै प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा सडकको जग कमजोर रहेको, गुणस्तरहीन, सम्झौता विपरीत कार्य भएको तथा करोडौं रकमको हिनामिना भएको लगायत प्रतिवेदनमा उल्लेख छ। यद्यपि प्रस्तुत प्रतिवेदनको आधारमा सरकारले कुनै ठोस कदम चालेको देखिँदैन।
भुक्तानी बढी दिएर अनियमितता
महालेखापरीक्षण प्रतिवेदन ०७९ ले हुलाकी राजमार्ग योजना कार्यालय जनकपुर अन्तर्गतको जनकपुर–बसपिट्टी–हर्दि–पोखरभिडा–संग्रामपुर सडक खण्डको स्तर उन्नति गर्न २९ स्ल्याब कल्भर्ट निर्माण गरिरहेकोमा सडक निर्माणको बिलमा १२ स्ल्याब कल्भर्ट क्षेत्रफल मात्र घटाएकोले १७ स्ल्याब कल्भर्टको ५४९.४६ वर्गमिटर नघटाई बढी भुक्तानी दिएको १२ लाख ४२ हजार असुल उपर गर्न भनेको छ।
त्यस्तै १९ किलोमिटर जनकपुर–भिठामोड सडक खण्ड दुई प्याकेजमा ठेक्का सम्झौता गरिएको थियो। तर निर्माणको कार्य पूरा नभए पनि स्पेसिफिकेसन स्टेन्ड भन्दा बढीको डिजाइन तथा लागत अनुमान तयार गरी बढी रकम भुक्तानी गरिएको पाइएको छ।
महालेखापरीक्षणको प्रतिवेदनमा उल्लेख भएअनुसार दुई खण्डमा स्पेसिफिकेसनको डिजाइन तथा लागत अनुमान तयार गरी करिब ६२ लाख ९६ हजार रुपैयाँ ठेकेदारलाई भुक्तिानी दिएको पाइएको छ। महालेखा परिक्षकको प्रतिवेदनअनुसार पहिलो प्याकेज अन्तर्गत लागत अनुमान भन्दा बढी ३५ हजार ९२ मिटरभन्दा बढी खपत देखाई २० लाख ८८ हजार रुपैयाँ भुक्तानी गरिएको छ भने दोस्रो प्याकेज अन्तर्गत २२ हजार ६५३ मिटर खपत देखाई २४ लाख ८४ हजार रुपैयाँ बढी भुक्तानी गरिएको छ। गलत डिजाइन तयार गरी बढी खपत देखाएर भुक्तिानी गरिएको रकम असुलउपर गर्न प्रतिवेदनमा उल्लेख भए पनि हालसम्म असुलउपर भएको छैन।
यस विषयमा हुलाकी राजमार्ग आयोजना कार्यालयका प्रमुख कुष्णकुमार महतो भन्छन्, 'ठेक्काको अन्तिम बिल भुक्तानी हुन बाँकी रहेकोले त्यतिबेला हिसाब गरेर बढी भुक्तानी हुन गएको सबै रकम असुलउपर गर्छौं।'
आयोजना प्रमुख महतोले सडकको बजेटअनुसार गुणस्तरीय काममा कुनै किसिमको कमी नभएको दाबी गरेका छन्। उनले भने, ‘सडक अहिले निर्माणको चरणमै छ, केही लेयरको काम मात्रै भएको छ। सबै काम सकेर हस्तान्तरण गरिसकेपछि तोकिएको ४ वर्षको अवधिमा भत्किए पछि मात्रै दोष लगाउन सकिन्छ।'
उनले निर्माण चरणको अवस्थामा सवारी साधन आवागमन र वर्षाले गर्दा सडक भत्किन थालेको दाबी गरेका छन्। परियोजना प्रमुख कुष्णकुमार महतो भन्छन्, ‘जति भत्किए निर्माण कम्पनीले बनाउनेछ।’ महतोले निर्माण कार्य सम्पन्न भएको ४ वर्षपछि एक लेयर पुनः थपिने हुँदा सडक बलियो हुने बताए।
१६ वर्षदेखि बन्दै गरेको हुलाकी राजमार्ग
तराईका २१ जिल्ला पूर्व–पश्चिम ९७५ किलोमिटर र उत्तर–दक्षिण सहायक मार्ग करिब ८७१ किमि सहित १ हजार ७९२ किमि सडक र सो सडक खण्डमा पर्ने २१९ पुलको निर्माण गर्न २०६५–०६६ देखि हुलाकी राजमार्ग आयोजना सञ्चालनमा रहेको छ। यो आयोजनको निर्माण कार्य सुरुमा ०७४–०७५ सम्म सम्पन्न गर्ने लक्ष्य रहेकोमा कार्य सम्पन्न नभएकोले आयोजनाको अवधि ०७९–८० सम्म थप गरिएको छ। संशोधित लागत अनुमान ६५ अर्ब २० करोड हुने उल्लेख छ। आयोजनामा ०७८–०७९ सम्म ५२ अर्ब ७७ करोड खर्च भएको छ।
तर अझै पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन भने निर्माण हुँदै गरेको सडक र कल्भर्टहरु ठाउँ–ठाउँमा भत्किँदै गएको छ। तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ३ वर्षमा सम्पन्न गर्ने गरी २४ भदौ ०७३ मा यो जनकपुर–भिठामोड सडकको शिलान्यास गरेका थिए। ९३ करोड ४३ लाख रूपैयाँ लागतमा निर्माण भइरहेको १८.५६ किमिको उक्त सडक खण्डमा दुई निर्माण कम्पनीले सम्झौता गरेका थिए।
पहिलो खण्डमा जनकपुरस्थित जिरो माइलदेखि महोत्तरीको पिपरासम्म प्रतिभा वाइपी जे.भी.ले ४३ करोड ५४ लाख ७२ हजार ८७४ रूपैयाँ दोस्रो खण्ड पिपरादेखि भिठामोडसम्मको ९.५६ किलोमिटर सडक आशिष पप्पु रोशन जेभीले ४९ करोड ८९ लाख २० हजार ७०७ रूपैयाँमा निर्माणको ठेक्का पाएका हुन्।
हुलाकी राजमार्ग परियोजनाका अनुसार कल्भर्ट निर्माणका लागि इलाइट सूर्या जेभीसँग १९ भदौ ०७७ मा २९ करोड २६ लाख ६९ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको हो। कल्भर्ट निर्माण कार्यको सम्पूर्ण काम १८ भदौ ०७९ मा सम्पन्न गर्नुपर्ने थियो। यस्तै प्रतिभा वाइपी जेभीलाई ३७ करोड ७९ लाख २४ हजार, आशिष पप्पु रोशन जेभीलाई ४६ करोड १७ लाख ५ हजार र कल्भर्ट निर्माणको ठेक्का पाएको इलाइट सूर्या जेभीले निर्माण सम्पन्न नगर्दै ८ करोड ४ लाख १६ हजार रूपैयाँ भुक्तानी लिइसकेको छ।
कार्यालय प्रमुख महतोले २०८१–८२ सम्ममा पुल र बाँकी सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने गरि निर्माणकार्य जारी रहेको बताए। हालसम्म सबैभन्दा बढी सर्लाहीमा १५१ किलोमिटर कालोपत्रे सडक निर्माण र सबैभन्दा कम सिरहामा ३० किलोमिटर सडक निर्माण भएको उनको भनाइ छ। त्यसैगरी महोत्तरीमा ८८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ।
किन भनिन्छ ‘हुलाकी’ राजमार्ग ?
पूर्व–पश्चिम लोकमार्गको समानान्तर हुँदै करिब २० देखि ३० किमि दक्षिणतर्फ भएर फैलिएको सडक नै हुलाकी राजमार्ग हो। राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिँड्ने छोटो बाटो भएकोले यसलाई हुलाकी सडक अथवा मार्ग भनिएको हो। जसलाई पद्मशमशेरले आगाडि बढाएका हुनाले पद्मरोड पनि भनिँदोरहेछ।यो तराई मधेसका जिल्लाहरू जोड्ने सुगम मार्ग पनि हो। पूर्व–पश्चिम ९७५ किमि फैलिएको यो सडकसँगै पूर्व–पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८१७ किमिको ३२ वटा सहायक राजमार्गहरू छन्, जसले गर्दा हुलाकी राजमार्गको लम्बाइ १७९२ किमि पुगेको छ।