आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मधेशमा आधाभन्दा कम रोपाइँ, रोपेको धान पनि सुक्दै

सिँचाइको आफ्नो स्रोत रहेका किसानहरुले धेरथोर रोपाइँ गरे पनि प्राकृतिक जलश्रोतमा मात्र आश्रित किसानहरु भने छटपटिएका छन्।
 |  सोमबार, साउन ८, २०८०
nespernesper

विजेता

विजेता

सोमबार, साउन ८, २०८०

काठमाडौं- देशको अन्न भण्डार रहेको मधेश प्रदेश रोपाइँको समयमा सुख्खाको चपेटमा परेको छ। प्रत्येक वर्ष असार–साउनमा बाढीले बेहाल हुने मधेश यस वर्ष भने सुख्खा भोग्न बाध्य छ। जसको प्रत्यक्ष असर रोपाइँमा परेको छ।

triton college

प्रत्येक वर्ष साउनमा ९० प्रतिशतसम्म रोपाइँ गरिसक्ने किसानहरु यतिबेला ४५ प्रतिशतमात्र रोपाइँ गर्न सकेका छन्। सिँचाइको आफ्नो स्रोत रहेका किसानहरुले धेरथोर रोपाइँ गरे पनि प्राकृतिक जलश्रोतमा मात्र आश्रित किसानहरु भने छटपटिएका छन्।

महोत्तरी जिल्ला भंगहा नगरपालिका वडा ९ का कृषक रामजनत साह भन्छन्, 'यस वर्ष पूरै सुख्खा पर्यो। चापाकलहरुमा समेत पानी आउँदैन। सिँचाइको भरमा खेती भइरहेको अवस्था छ। गाउँमा अहिलेसम्म ३० प्रतिशतमात्र रोपाइँ हुन सकेको छ।'

मधेश प्रदेशका भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता रोशन मेहता भन्छन्, 'यस वर्ष सुख्खाको कारण हुनुपर्ने जति रोपाइँ हुन सकेको छैन।  किसानहरुले आफ्नै स्रोतले ४५ प्रतिशतसम्म रोपाइँ गरेका छन्।'
मधेश प्रदेशका कृषि विकास निर्देशनालयका सहायक बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी राम कलेश साहले मधेशमा पूरै सुख्खा परेको बताउँदै भने, 'साउनको ५ गतेसम्म जम्मा ४५ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ। रोपाइँको आधाभन्दा धेरै समय बितिसक्दा यतिमात्रै रोपाइँ हुनु चिन्ताजनक हो।' उनले प्राकृतिक जलस्रोतको भन्दा पनि किसानहरुले आफ्नै स्रोत–साधनले त्यत्ति पनि रोपाइँ गर्न सफल भएको बताए।

मन्त्रालयको तथ्यांकअनुसार मधेश प्रदेशमा धान रोपाइँ हुने कुल क्षेत्रफल ४ लाख १ हजार ६५० हेक्टर रहेकोमा हालसम्म १ लाख ८२ हजार ८०७ हेक्टरमा मात्रै रोपाइँ हुन सकेको छ। यो भनेको कुल क्षेत्रफलको ४५.५१ प्रतिशत हो।

Metro Mart
vianet

यस वर्ष सिरहा, सप्तरी, बारा र रौतहटमा ६० प्रतिशतसम्म पानी परेको हुनाले उतातिर धान रोपाइँको काम अन्य जिल्लाको भन्दा धेरै रहेको छ। धनुषा, महोत्तरीमा भने बर्खा कम भएको हुनाले रोपाइँ पनि सबैभन्दा कम भएको छ। निर्देशनालयका अनुसार मधेश प्रदेशको पर्सा जिल्लामा ३५ प्रतिशतमात्र रोपाइँ भएको छ। पर्सामा धान रोपाइँ हुने ४७ हजार १३० हेक्टर क्षेत्रफलमध्ये हालसम्म १६ हजार ४८५ हेक्टरमामात्रै रोपाइँ हुन सकेको छ।

सप्तरी जिल्लामा सबैभन्दा बढी ६५ प्रतिशत रोपाइँ भएको छ। सप्तरीमा धान रोपाइँ हुने कुल ६८ हजार हेक्टर क्षेत्रफलमध्ये ४४ हजार २ सय क्षेत्रफलमा धानको रोपाइँ भइसकेको छ। सप्तरीमा अन्य जिल्लाको तुलनामा बर्खा भएको कृषि निर्देशनालयले जानाएको छ। त्यस्तै बारामा धान रोपाइँ हुने कुल ४६ हजार २० हेक्टरमध्ये हालसम्म २७ हजार ६१२ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ। यो कुल क्षेत्रफलको ६० प्रतिशत हो।

त्यस्तै रौतहटमा भने कुल ३५ हजार हेक्टर क्षेत्रफलमध्ये २१ हजार हेक्टरमा रोपाइँ भइसकेको छ। रौतहटमा ६० प्रतिशत रोपाइँ भएको साह बताउँछन्। सर्लाही जिल्लामा धान रोपाइँ हुने ४६ हजार हेक्टरमध्ये १८ हजार ४ सयमा मात्रै रोपाइँ भएको छ।

त्यस्तै महोत्तरीमा ४७ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये १९ हजार हेक्टरमा धान रोपाइँको काम सकिएको निर्देशनालयका बाली संरक्षण अधिकृत साह बताउँछन्। यो कुल क्षेत्रफलको ४० प्रतिशत हो। त्यस्तै सिरहामा भने ४५ हजार हेक्टरमध्ये २१ हजार ६ सयमा रोपाइँ भइसकेको छ। यो ४० प्रतिशत हो। अत्यधिक सुख्खाका कारण खेतमा लगाइएको धान पनि सुक्न थालेको साहले बताए। उनले यस वर्ष धानको उत्पादनमा ह्रास आउने जानकारी दिए।

कृषि मन्त्रालयसँग न विकल्प न पूर्वतयारी
असारको १५ सम्म मलखादको अभावका कारण रोपाइँ गर्न नसकेको बताउने मन्त्रालयले यतिबेला भने वर्षा नभएर रोपाइँ हुन नसकेको बताएको छ। यद्यपि वर्षेनि हुने यस्ता समस्याहरुको विकल्प खोज्ने फुर्सद मन्त्रालयसँग छैन। मन्त्रालयका प्रवक्ता रोशन मेहता भन्छन्, 'सुख्खा वा धान उत्पादनको ह्रास घटाउने विकल्पको रुपमा अहिले नै त कुनै तैयारी मन्त्रालयसँग छैन।'

धानको रोपाइँ नभए उत्पादन स्वतः घट्ने भए यसले खाद्य संकट र चुनौतीका साथै आर्थिक भार पनि बढाउन सक्ने अवस्थाबारे आफूहरु जानकार रहेको बताउँदै उनले भने, 'किसानलाई सिँचाइलागायतको स्रोत साधनमा पहुँचको लागि मन्त्रालयले केही कार्यक्रमहरु सञ्चालन गरिरहेको छ।' कृषि विकास निर्देशनालयका रामकलेश साहले पनि त्यस्तो विपत् अथवा खाद्य संकटको विषयमा पूर्वतयारीबारे मन्त्रालयबाट आफूहरुलाई कुनै जानकारी नआएको बताए।

उनले किसानहरुलाई सिँचाइमा आत्मनिर्भर बनाउन साझेदारी सोलार सिँचाइ प्रणालीको व्यवस्था गरेको बताए। 'यसको लागि प्रदेशका ८ जिल्लाका किसानलाई बोरिङ, मोटर उपलब्ध गराउँछौं। यसमा ८५ प्रतिशत लगानी सरकारले गरिदिन्छ भने बाँकी १५ प्रतिशत किसानसँगको साझेदारीमा उपलब्ध गराइएको छ।'

मधेश प्रदेशको कुल ग्रार्हस्थ उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान ३४.३१ प्रतिशत रहेको छ। यो सातै प्रदेशमध्ये सबैभन्दा उच्च हो। अन्य प्रदेशको आ–आफ्नो प्रादेशिक कुल ग्रार्हस्थ उत्पादनमा कृषि क्षेत्रको हिस्सा सुदूरपश्चिमको ३३.५५ प्रतिशत रहेको छ भने प्रदेश १ को ३३.११ प्रतिशत, कर्णाली प्रदेशको ३१.५० प्रतिशत, लुम्बिनी प्रदेशको २०.४२ प्रतिशत, गण्डकीको २५.९८ प्रतिशत र सबैभन्दा कम बागमती प्रदेशको ११.१० प्रतिशत रहेको छ।

धान बाली उत्पादनमा क्रमशः ह्रास
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८-०७९ मा मधेश प्रदेशमा खाद्य तथा अन्य बाली २९ लाख ५९ हजार ६५० मेट्रिक टन उत्पादन भएको छ। तरकारी तथा बागवानी उत्पादन ८ लाख २२ हजार ५९९ मेट्रिक टन र फलफूल तथा मसला उत्पादन १ लाख ७९ हजार ८८ मेट्रिक टन उत्पादन भएको छ। समयमै वर्षा भएको र सिँचाइको सुविधाले तेलहनको उत्पादन १०.८३ प्रतिशत रहेको उल्लेख छ।

धानको उत्पादन ३.२४ प्रतिशत, उखुको उत्पादन ९.०१ प्रतिशतले ह्रास आएको छ। धान भित्र्याउने समयमा परेको झरीले पाकेको धानबाली नष्ट हुँदा धानबाली उत्पादनमा कमी आएको प्रतिवेदनमा उल्लेख छ।

खाद्य बाली अन्तर्गत कुल खेती गरिएको क्षेत्रफलमा सामान्य वृद्धि भए तापनि सिँचाइ सुविधामा उल्लेखनीय वृद्धि नहुनु, मलखाद र बिउ–बिजनको सहज उपलब्धता नहुनु र बेमौसमी वर्षा तथा बाढीका कारण खाद्य तथा बालीहरूको उत्पादनमा ह्रास आएको राष्ट्र बैंकले निष्कर्ष निकालेको छ। 

प्रकाशित: Jul 24, 2023| 12:31 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्