बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चुनौतीका बाबजुद स्थानीय कोल्ड ड्रिंक्स उद्योग फस्टाउँदै 

चुनौतीका बाबजुद स्थानीय कोल्ड ड्रिंक्स उद्योग फस्टाउँदै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
 पर्साको हरपुरमा निर्माणाधीन मनपसन्द वेभरेज नेपाल । श्रोत: अनिल व्याहुत

वीरगंज-चिसो पेयको बजारमा ठूला नाम चलेका  ब्राण्डले आक्रामकरुपमा बजारीकरण गरिरहेको बेला प्रदेश-२ मा सानो लगानीका कार्बोनेटेड सफ्ट ड्रिंक्स उद्योग फष्टाउँदै छन् ।

स्थानीय उद्योगले आफ्नो पकेट क्षेत्रलाई सुरक्षित बनाउँदै लगानी र उत्पादन दुबै बिस्तार गरिरहेका छन् ।विशेषगरी ब्राण्डसँग खासै सरोकार नहुने ग्रामीण र पहाडी भेगका उपभोक्तालाई लक्षित गरेर सफ्ट ड्रिंक्सको उत्पादनमा पुरानाले लगानी बिस्तार गर्ने र नयाँ खेलाडीको प्रवेश दुबै देखिएको छ।

स्थानीय सफ्ट ड्रिंक्स उद्योगले उद्योग आसपासका चारदेखि आठ जिल्लालाई आफ्नो मुख्य बजारका रुपमा निर्धारित गर्दै बजारमा जम्ने प्रयास गरिरहेका छन् ।

प्रदेश-२ को पर्सा, बारा र धनुषा समेतमा कुल चारवटा जुस तथा सफ्ट ड्रिंक्स उद्योग संचालनमा छन् । पर्सा र बारामा निर्माणाधीन‌ दुई नयाँ उद्योगले तीन महिनाभित्रै उत्पादन बजारमा ल्याइ सक्नेछन् ।

बजारमा बंगलादेशी लगायतका सस्तो मूल्यका हलुका पेय आइसके, सनराइज वेभरेजका प्रबन्ध निर्देशक दीपक श्रेष्ठले नेपाल समयसँग भने, यस्तो अवस्थामा आम उपभोक्ता पोपुलर ब्राण्डभन्दा पनि पसलेले जे उपलब्ध गराउँछ छ, त्यही लिन थालेका छन् । 

सनराइज फुड्स एण्ड वेभरेज बारा

सनराइज फुड्स एण्ड वेभरेज बहुराष्ट्रिय ब्राण्डको चिसो पेय उत्पादन गर्ने यहाँको दोश्रो उद्योग हो । पार्ले कम्पनीको फ्रुटी ब्राण्ड जुस पेट बोतल(प्लाष्टिक बोतल) उत्पादन थालेको यो उद्योगले अहिले पार्लरको बेली ब्राण्ड पिउने पानी मात्र उत्पादन गरिरहेको छ। 
 
विदेशी ब्राण्डको फ्रेन्चाइज (निश्चित सलामी दस्तुर तिरेर अन्य कम्पनीको ब्राण्डमा उत्पादन गर्ने सहमति) लिएर विगत आठ वर्षदेखि पार्लेको फ्रुटी ब्राण्ड जुस उत्पादन गर्दै आएको यो उद्योगले आफ्नै ब्राण्डमा आँप जुस र लिच्चीको स्वाद भएको पेय उत्पादन थालेको छ । बाराको छातापिपरामा अवस्थित यो उद्योगसँग प्रति मिनेट १०० बोतल उत्पादन क्षमताको मेशिन छ।

बाराको लिपनिमालमा अवस्थित डाबर नेपाल प्रालि रियल ब्राण्ड जुस उत्पादन शुरु गर्ने यहाँको पहिलो उद्योग हो ।
 
मनपसन्द वेभरेज नेपाल

भारतीय बजारमा दोश्रो ठूलो उपभोग्य ब्राण्डसँग मिल्दोजुल्दो नाम जुराएको यो उद्योग पर्सा जिल्लाको हरपुरमा निर्माणाधीन छ ।

१० करोड रुपैयाँको लगानीमा पहिलो चरणमा‌ प्रति मिनेट १०० बोतल उत्पादन क्षमताको मेशिन सहित उद्योग संचालनमा ल्याउने कार्यकारी निर्देशक अनिल व्याहुतले जानकारी दिए । उनले टेट्रा प्याक समेतको उत्पादनको योजना रहेकोले लगानी ४५ करोड रुपैयाँसम्म पुग्ने बताए । यो उद्योगले पहिलो चरणमा पेट बोतलमा आँप जुसका साथै अन्य स्वादमा चिसो पेय उत्पादन गर्नेछ ।
 उनले उद्योग विभागको नीति अनुरुप 'पहिलो हुनेले' ब्राण्ड दाबी गर्न पाउने भएकोले आफूहरुले मनपसन्द ब्राण्ड दर्ताको लागी आवेदन दिएको भएपनि भारतीयकै नाममा विभागले ब्राण्ड दर्ता गरिदिएकाले कानूनी उपचार खोज्ने बताए ।

यजत फुड्स नेपाल, बारा 

बिटु ब्राण्ड पिउने पानीबाट चार महिना अघि बजारमा प्रवेश गरेको यो उद्योग आगामी फागुनदेखि हलुका चिसो पेय(सफ्ट ड्रिंक्स) लिएर बजार प्रवेश गर्दैछ । बाराको जितपुरमा अवस्थित यो उद्योगले ६० बोतल प्रति मिनेट क्षमताको प्लान्ट जडान गर्दैछ।
 
पहिलो चरणमा पेट बोतलमा सफ्ट ड्रिंक्स लिएर बजार प्रवेश गर्छौं, उद्योग संचालक बिटु गुप्ताले नेपाल समयसँग भने, दोश्रो चरणमा टेट्रा प्याकमा जुस लिएर आउने योजना छ।


नेपाल ग्रामोद्योग 
व्यापारीको रुपमा पहिचान स्थापित गरिरहेका भारतीय योगगुरु रामदेव नेतृत्वको पतन्जली आयुर्वेद साझेदारीबाट बाहिरिएपछि नेपाल ग्रामोद्योगले आफ्नै ब्राण्डमा अमला र घिउ कुमारी जुस उत्पादन गरिरहेको छ। बाराको प्रसौनीस्थित यो उद्योगले भविष्यमा थप पेय पदार्थ उत्पादन गर्नेछ।

सुगम उद्योग, धनुषा

प्रतिमिनेट ६० बोतल क्षमताको सुगम उद्योगले अहिले बोतल बन्द पिउने पानीका साथै  चिसो पेय समेत उत्पादन गरिरहेको छ। उद्योग संचालक अशोक कुमार साह कोक र डिउको स्वाद दिलाउने स्थानीय पेयको बजार सन्तोषजनक रहेको बताउँछन् । १ करोड रुपैयाँ लगानी गरिसकेका उनी समेत लगानी बिस्तार गरेर जुस उत्पादन गर्ने योजनामा छन् ।
उनले भने, जुस प्लान्टका लागी आवश्यक लगानीको जोहो गर्न बैंक ऋण जुटाउने प्रयास भइरहेको छ ।

बंगलादेशीसँग प्रतिस्पर्धा चुनौतीपूर्ण

कोक, पेप्सी जस्ता स्थापित ब्राण्ड भन्दा पनि बजारमा सस्तो मूल्यमा उपलब्ध बंगलादेशी उत्पादनसँग प्रतिस्पर्धा गर्नु स्थानीय उद्योगका लागी चुनौतीपूर्ण छ। बंगलादेशी सफ्ट ड्रिंक्स नेपाली उद्योगले आयात गर्ने प्याकिङ मेटेरियल पि फम भन्दा पनि सस्तोमा भित्रिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्छन् उद्योगी दिपक श्रेष्ठ ।

अर्का उद्योगी बिटु गुप्ता पनि बंगलादेशी उत्पादनको आयात मूल्य अपत्यारिलो रहेको गुनासो गर्छन् । उनी भन्छन्, जतिसुकै प्रतिस्पर्धी मूल्यमा कच्चा पदार्थ भित्र्याएर उत्पादन गरेपनि बंगलादेशी‌ प्रान्तको ब्राण्ड को आयात मूल्यमा उत्पादन गर्न संभव छैन ।

भन्सार विभागले सन्दर्भ मूल्यमा प्रान ब्राण्ड जुसको मू्ल्यांकन प्रतिलिटर ०.३९ डलर अर्थात् अहिलेको सटही दर अनुसार जम्मा ४५ रुपैयाँ तोकेको छ। उद्योगीका‌‌ अनुसार यो अपत्यारिलो मूल्य हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्