शुक्रबार, मंसिर ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मौन आवाज र अभिव्यक्तिभित्रकी मृदुभाषी झमक

सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।
 |  शनिबार, चैत १८, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

शनिबार, चैत १८, २०७९

धनगढी– ‘जीवन काँडा कि फूल’ पढ्दा झमक घिमिरेलाई विलक्षण प्रतिभाको रुपमा बुझेको थिएँ। उनीभित्रको विलक्षणता हेर्ने हुटहुटी उहिलेदेखि नै थियो। दुई खुट्टाका केही औंलामात्रै चल्ने झमकले त्यसैको भरमा विश्व लेखिन्। लेखिरहेकी छन्। मनका भावना पुस्तकहारमा पोखिरहेकी छन्। सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।

triton college

यिनै झमकसँग यही चैत ९ गते दिउँसो काठमाडौंबाट धनगढीका लागि ५० मिनेट जहाजमा यात्रा गर्ने अवसर मिल्यो। यात्रामा मदन पुरस्कार विजेता कवि एवम् सञ्चारकर्मी डा. नवराज लम्साल, मिथिला साहित्य विज्ञ डा. राजेन्द्र विमल, पत्रकार मुकुन्द भण्डारी, टेकराज अवस्थी, अम्बादत्त भट्टलगायत १७ जना थियौं। झमकलाई उनकी दुई बहिनीले ह्विलचेयरमा गुडाइरहेका थिए। प्लेनमा बोकेर राख्ने पनि उनै, झार्ने पनि उनै। अहो ! कस्तो सकसपूर्ण झमक यात्रा। ५० मिनेट प्लेन र २० मिनेट गाडीको यात्रापछि हामी गन्तव्य धनगढी पुग्यौं। आयोजक र अध्यक्ष तीर्थराज पाण्डेय तथा महासचिव गणेश नेपालीले बुक गरिएका होटलमध्ये झमकलाई सहज हुने होटलमा राख्न गरेको आग्रह अनुसार नैनादेवी मन्दिर सँगैको बसेरा होटलमा राख्यौं।

मलाई उहाँसँग बोल्न उकुसमुकुस भइरहेको थियो। कोठामा राखेको केही बेरमै बोल्न मन लाग्यो र भनें–, दिदी हाम्रो पावन भूमिमा यहाँलाई स्वागत गर्न पाउँदा धन्य भएका छौं तर यहाँलाई सकस भयो है?

उनले साथमा आएका बहिनीहरूसँग कपी र कलम ल्याइदिन आग्रह गरिन्। र, लेख्न थालिन्– मलाई कस्तो भोक लागेको छ। पहिले खाजा खाउँ न है।

अहो ! पानी नै पिउन नदिएर बोल्न कति लालायित भएको म। आफैंसँग रिस पनि उठ्यो। होटल कर्मचारीलाई भनेर दिदीको इच्छा अनुसारको कुनै कुरामा कमी हुन नदिन आग्रह गरेर हामी कार्यक्रम स्थलतर्फ लाग्यौं। झमकसँग संवाद गर्ने हुटहुटी बाँकी नै थियो।

Metro Mart
vianet

दोस्रो दिन बिहानै गजलकार एवम् सुदूरपश्चिम साहित्य समाजका उपाध्यक्ष टोपेन्द्र शाहको मोटरसाइकल पछाडि बसेर झमक बसेको होटलमा पुगें। र, सुरु भयो हाम्रो संवाद।

यात्रा र बसाइ सहज–असहज के भयो दिदी?

प्लेनको यात्रा भएकाले त्यति असहज भएन। गाडीमा भने असहज नै हुन्छ।

धनगढी र यहाँको साहित्यिक माहोल कस्तो लाग्यो?

तपाईंहरूमा एकता रहेछ। साहित्यकारहरूबीचको यस्तो एकताले हर्षित भएकी छु।

धनगढीको गर्मी र मच्छडले दुःख दिए नि है?

मुसुक्क हाँस्दै– होइन, त्यस्तो महसुस भएको छैन।

यस्तै–यस्तै कुरा भए। सँगै फोटो खिचेर हामी बाहिरियौं।

११ गते थियो ‘जीवन काँडा कि फूल, मौन आवाज मौन अभिव्यक्ति’ सेसन। उक्त सेसनमा झमक घिमिरे बोलिरहेकी थिइन्। उनलाई डा. नवराज लम्सालले सहजीकरण गरिरहेका थिए। झमकसँग आवाज थिएन। तर, उनी धनगढीसँग मज्जाले बोलिन्। खित्का छोडेर हाँसिन्। आवाजबिनै उनले धनगढीसँग कुरा गरिन्। आफ्ना सबै भावना सुनाइन्। सहजकर्ता लम्सालले प्रश्न गरे। धनगढीले प्रश्न गर्यो। झमक शब्द कोर्दै बोलिरहिन्। सबैका प्रश्नको उत्तर दिइरहिन्, सहजकर्ता लम्सालको आवाजमार्फत।

...

यो दुनिया आफैंमा राम्रो र नराम्रो छैन। हामीले जे बोल्छौं, जे गर्छौं त्यही रिफ्लेक्ट भएर आउने हो भन्दै लम्सालले संवाद सुरु गरे। भने, ‘झमक घिमिरेले यो नेपाल नामको डाँडामा बसेर माया, प्रेम, सद्भावता, हार्दिकता र त्यो भन्दामाथि मानवता, मानवता, मानवता भनिन्। त्यसैले मानवताकै प्रतिध्वनि आयो। त्यसैले यो युगले उनलाई माया गर्यो र यो युगकै ठूलो मान्छे झमक घिमिरे हामी माझ हुनुहुन्छ।’ 

सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।

लम्सालले त्यति भनेपछि तालीको गडगडाहटसँगै झमकको अनुहारमा मुस्कानका धर्सा देखिए। लम्सालले अगाडि थपे, ‘मसँग एउटा जिउँदो मान्छे झमक घिमिरे हुनुहुन्छ।’ भनिन्छ– एउटा लेखकले लेखेको र बाँचेको जिन्दगी उस्तै भएन भने त्यो लेखक लेखक हुँदैन। हाम्रो अगाडि संघर्षकी साक्षी झमक थिइन्, जसले लेखेको जिन्दगी बाँचिरहेकी थिइन्, बाँचेको जिन्दगीले मानवता, मानवता भनिरहेकी थिइन्।

‘बाहिर एउटा उज्यालो छ। भित्र एउटा दिव्य उज्यालो। भित्रको दिव्य उज्यालोलाई तानेर बाहिरको उज्यालोमा लगेर जोड्ने हो। मर्नु भनेको अरु केही होइन। रगत पानीमा मिसिनु हो, स्वास हावामा मिसिनु हो। भित्रको ज्योति माथि जानु हो। मासु माटोमा बिलिन हुनु हो। यो आत्मा परमात्मामा बिलिन हुनु हो। भगवान मान्नु हुन्न भने मेरो गुनासो छैन। प्रकृतिमा लीन हुन भनिदिनुहोस्। तर, लेखकले आफूले लेखेको अक्षरको सहारामा जीवनको लय मिलाएन भने त्यो लेखक लेखक हुँदैन। झमक यथार्थताकी आदर्श हुन्,’ लम्साल भनिरहेका थिए।

झमकको सन्देश पनि थियो। सन्देशमा भनेकी थिइन्, सबैलाई साहित्यिक अभिवादन। सर्वप्रथम त म यस धर्तीलाई प्रणाम गर्दछु। जसले मलाई अपनत्व दिएर सुदूरपूर्वदेखि बोलाएर यहाँका सबै मानवहरुको स्नेह दियो। त्यसका लागि मेरा सबै अग्रज र प्रियजनप्रति हार्दिक आभार व्यक्त गर्दछु। 

हामी भाषा, साहित्य, कला र संस्कृतिमा लागेका मानिसहरुको लागि यस्ता कार्यक्रम हुनु र उपस्थित हुन पाउनु गर्व गर्ने कुरा हो। यसका लागि सुदूरपश्चिमाञ्चल साहित्य समाजप्रति धन्यवाद दिनैपर्छ। जसले यति ठूलो साहित्य महोत्सवको आयोजना गरेर हामी सबैलाई एकै ठाउँमा भेला हुने र आपसमा सद््भाव, सद्प्रेम र सिर्जनात्मक रुपमा कुलता प्रदान गरेको छ। यसका लागि म आफैंमा हर्षित छु। राज्यका तर्फबाट पनि हामीलाई देशका गहनाको रुपमा मात्र हेर्ने दृष्टिकोण बदलिन आवश्यक छ। विशेष नीति ल्याएर हाम्रो जीवनका लागि पनि केही सोच्न र केही गर्न आवश्यक छ। यसको अर्थ यो होइन, सबैलाई राज्यले हेर्नुपर्छ तर राम्रा श्रष्टालाई हेर्दै उनका कृतिलाई बजारिकरण गर्नमात्र होइन राम्रा कृतिको अनुवादका माध्यमबाट  विश्व बजारसम्म पुर्याउने वातावरणको सिर्जना गरिनुपर्छ। अनिमात्र नेपाली साहित्यको विकासमा टेवा पुग्न सक्छ।

jhamak ghimire 1680324739.jpg

अब म अलिकति नारी साहित्यको बारेमा पनि कुरा राख्न चाहन्छु। नेपाली महिला साहित्यको चर्चा गर्दा त्रिपुरासुन्दरीदेखि इतिहास पल्टाउनुपर्छ। त्यस युगदेखि अहिलेसम्म आउँदा थुप्रै नारी हस्ताक्षरहरु सशक्त बनेर आइसकेका छन्। यिनको उपस्थितिले मात्र होइन, लेखनको स्तरले पनि निरन्तर अगाडि बढिरहेका छन्। पुरुषको तुलनामा यो उपस्थिति कम छैन। कम छन् तर अब्बल छन्। लेखनमा लाग्न पनि नारीलाई  पुरुषझैं सहज छैन। उनले पहिला, घर परिवार सम्हाल्नुपर्छ। अनि मात्र लेख्न पढ्न समय पाउँछन्।

अन्त्यमा सबै श्रष्टालाई सिर्जनशिलताको कामना।

त्यसपछि लम्सालले प्रश्न गरे, झमक कुमारी घिमिरेबाट किन झमक हुनुभयो?

उनको उत्तर थियो– बाआमा जसले निरीह सन्तानलाई जन्माएका थिए। पुरोहितले पनि त्यही निरिह बालिकाको नाम राखे। समयले झमकसँग धेरै कुरा खोस्यो। उसँगको स्वाभिमान खोस्न सकेन। आफ्नै जीवनसँग विद्रोह, प्रत्येक समयसँग विद्रोह गर्दागर्दै आफ्नै नामसँग पनि विद्रोह गर्न सकिसकेकी छे। झमकलाई जन्माउन आमाले जति पीडा बेहोर्नुप¥यो। त्यो भन्दा दोब्बर पीडा उसले आफूलाई जन्माउन बेहोरिसकेकी छे। मलाई जे भनेर मलाई सम्बोधन गर्नुस् वा चिन्नुहोस् त्यो स्वतन्त्रता तपाईंलाई छ। आफूले चिनाउनु पर्दा म झमक घिमिरेमात्रै भन्छु ल। यही नाम मलाई प्र्रिय लाग्छ। मान्छेलाई आफूले रोजेको नाम प्रिय लाग्छ। जुन मैले मागेर पाइन, चाहेर पाइन, खोजेर पाइन। अब खोसेर लिएँ। उहिले जसरी रत्नाकर बाल्मिकी बने, विष्णुकुमारी वाइवा पारिजात बनिन्। म पनि झमक कुमारीबाट झमक बने।

लम्सालले सोधे– तपाईंको बालादिन कसरी बित्यो?

मैले हात चलाउन खोजेँ, सकिनँ। हातका औंलाहरूसँग चल्न सक्ने शक्ति अलिकति पनि बाँकी रहेन छ। ओठ झमझमाए तर कुनै शब्द वा वाक्य निस्केनन्। खुट्टामा पनि शरीर बोकेर हिँडाउन सक्ने शक्ति थिएन। यसरी आफ्ना शरीरका अंगहरू बेकम्मा भएको ज्ञान हुँदै जाँदा म अत्यन्तै लाचार र निरिह बन्दै गएँ। अत्यन्तै दुःखी पनि भएँ। ममा पनि आम बालबालिकाहरू जस्तै हिँडेर परसम्म पुग्ने चाहना थियो। गोडाले भर दिएनन्। त्यसैले म घस्रिन थालँे। घस्रेर दुई–चार हात टाढा पुगे पनि मलाई नयाँ देश पुगे झैँ रमाइलो लाग्यो। मैले नयाँ कुरा देखेको अनुभूति हुन्थ्यो। घरपर पुगेर नयाँ झारपात देख्नु, बटुल्नु मेरा लागि नौला कुरा बन्थे। त्यसभन्दा परको संसार देखेकी थिइनँ। मैले अरुभन्दा म बस्ने घर निकै ठूलो देखेकी थिएँ। त्यतिबेला आफ्नो घर राम्रो देखेकी थिएँ। किनकि आफ्नो घर भन्दा अरुको घर देखेकी थिइनँ।

सानो दिनबाट अलि ठूलो हुँदा, बहिनीहरू स्कुल जाँदा र बहिनीहरूले पढेको सुन्दा कस्तो लाग्थ्यो?

कहिलेकाहीँ गाई बाख्राहरूले आँखाबाट बरबर आँसु झारेको देख्थेँ। तिनिहरू पनि मलाई नै देखेर रोएका हुन् जस्तो लाग्थ्यो। अनि म पनि उनीहरूकै छेउमा बसेर क्वाँक्वाँ रुन्थेँ। गाई बाख्रा धेरै कराउँदा मलाई छोडिदेउ भनेझंै लाग्थ्यो। नजिकै हँसिया देखेँ भने डोरी काटिहाल्थेँ। त्यसपछि गाईबाख्रा फुक्का भएर हिँडेको देख्दा मन औधि रमाउँथ्यो। आफूले निकै ठूलो काम गरे भन्ने लाग्थ्यो। पशुले अरुको बाली खाँदा आमाले मलाई धेरै पटक मज्जाले गोदेकी छन्। नगोदुन् पनि किन, बाँधेका गाईगोरु डोरी काटेर छोडिदिएपछि कसको कन्पारो तात्दैन र?

दार्जलिङकी अमला तामाङ प्रश्न गर्छिन्– दार्जिलिङ साहित्यलाई के सन्देश दिनुहुन्छ?

झमक भन्छिन्– दार्जिलिङलाई कस्तो सन्देश दिउँ म? जे गर्दैै हुनुहुन्छ, निरन्तर गर्दै जानुहोस्।

कैलाशदेव नागार्जी प्रश्न गर्छन्– आउँदो पुस्तालाई कस्तो सन्देश दिन चाहनुहुन्छ?

झमक भन्छिन्– कैलाशजी, म नयाँ पुस्तालाई यही सन्देश दिन चाहन्छु, प्रत्येक आजको समयपछि भोली आफैं आउने छ।

यसरी मौनताभित्रबाट पनि झमकले करिब सवा घण्टासम्म मृदुलभाषी संवाद गरिरहिन्। धनगढीलाई प्रेरणा प्रदान गरिरहिन्।

घिमिरेले २०५५ सालमा ‘संकल्प’ नामक कविता संग्रह, २०५७ सालमा ‘आफ्नै चिता अग्नीतिर’ कविता संग्रह, २०५७ सालमै ‘मान्छे भित्रका योद्धाहरू’ कविता संग्रह र २०५७ सालमै ‘अवसानपछिको आगमन’ कविता संग्रह प्रकाशित गरिन्। २०६० मा ‘नौलो प्रतिविम्ब’ कविता संग्रह प्रकाशित गरेकी झमकले २०६५ मा ‘झमक घिमिरे’का कविताहरू पाठक माझ ल्याइन्। निबन्ध संग्रहमा ‘सम्झनाका बाछिटाहरू’ २०५७, ‘बेमौसमका आस्थाहरू’ २०६३ र ‘जीवन काँडा कि फूल’ २०६७ प्रकाशित भएका छन्। जीवन काँडा कि फूल २०६७ सालको मदन पुरस्कार विजेता कृति हो। घिमिरेले सधैँ आफ्नो डायरी लेख्छिन्। त्यो डायरीको पनि संस्मरणात्मक पुस्तक ‘समय विम्व’ २०७० प्रकाशित छ। यस्तै ‘रातका भुतप्रेतहरू’ २०६७ उनका केही पुस्तक प्रकाशित भएका छन्।
 

प्रकाशित: Apr 01, 2023| 10:37 शनिबार, चैत १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।