बिहीबार, असोज ३०, २०८२

सुदूर भूमिमा स्रष्टा संरक्षणमा जुटेको साहित्य समाज

साहित्यको विराटता निकै फराकिलो छ। भनिन्छ– शब्द नामेट इतिहास हुन्, जो जीवन्त हुन्छन्। त्यस्तै जीवन्तता बोकेको छ, काली–कर्णाली क्षेत्रको साहित्यले। सो क्षेत्र नेपाली भाषाको उद्गम थलो पनि हो।
 |  सोमबार, फागुन २२, २०७९

यज्ञराज जोशी

यज्ञराज जोशी

सोमबार, फागुन २२, २०७९

काठमाडौं– साहित्यको विराटता निकै फराकिलो छ। भनिन्छ– शब्द नामेट इतिहास हुन्, जो जीवन्त हुन्छन्। त्यस्तै जीवन्तता बोकेको छ, काली–कर्णाली क्षेत्रको साहित्यले। सो क्षेत्र नेपाली भाषाको उद्गम थलो पनि हो। काली–कर्णाली भन्नाले कर्णाली तथा सुदूरपश्चिमको भू–भागलाई चिनिन्छ, जो सांस्कृतिक रुपमा निकै धनी छ र सिंगो देशकै गौरवशाली इतिहास बोकेको छ। तर, त्यही भूमि सधैं राज्यको दृष्टिकोणमा दूर–सुदूर रहँदै आएको छ। त्यहाँका श्रष्टाहरूले भने आफूलाई कम आकेका छैनन्। साहित्यको श्रीवृद्धि, कला–संस्कृतिको संरक्षण र इतिहासको प्रचारप्रसारका लागि विभिन्न पुस्तकरमा शब्दको बान्की भर्दै आएका छन्।

Kumaribank

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा तल्लीन संस्था हो– सुदूरपश्चिमाञ्चल साहित्य समाज। साहित्यकर्मी र साहित्यप्रेमीको साझा थलोका रुपमा रहेको समाज धनगढी–१ स्थापित छ। समाजको आफ्नै तीन तले भवन छ। साहित्य समाजले प्रदेशको साहित्य, कला, संस्कृति, पर्यटन, पहिचान, गौरवगाथा र विकासका समग्र पक्षलाई उजागर गर्दै आएको छ। देश र विदेशका लेखक, कवि, साहित्यकार, पत्रकार, कलाकार तथा वुद्धिजिवीहरूको उल्लेख्य सहभागितामा प्रत्येक वर्ष धनगढीमा बृहत् साहित्य सम्मेलन गर्दै आएको छ। यस वर्ष पनि समाजले चैत १० देखि १३ गतेसम्म विश्व नारी साहित्य महोत्सवको आयोजना गर्ने भएको छ।

‘२०५१ सालमा समाजको स्थापना भयो। त्यसयता हामी निरन्तर साहित्यिक गतिविधिमा क्रियाशील छौं। २०७६ सालमा हामीले सुदूरपश्चिम प्रदेश सरकारको मुख्य प्रवर्द्धनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरेर साताव्यापी विश्व नेपाली साहित्य महोत्सवको आयोजना गरेका थियौं। कार्यक्रमको समापन तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले गर्नुभएको थियो,’ समाजका अध्यक्ष तीर्थराज पाण्डेयले भने। त्यसपछि २०७८ सालमा पनि आफूहरूले नेपाली साहित्य महोत्सव भव्यका साथ सफल पारेको पाण्डेयले सुनाए। यस पटक भने विश्व नारी साहित्य महोत्सव गर्ने तयारी छ।

‘नेपाली भाषा, साहित्य र सभ्यताकै जननी स्थलका रूपमा रहेको सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, गीत–संगीत, उद्योग–व्यापार र समग्र सामाजिक विकासका पक्षलाई उजागर गर्ने हाम्रो उद्देश्य हो। यस प्रदेशलाई  हामी सभ्यता, चेतना र साहित्य संस्कृतिको अगुवा प्रदेशको रुपमा विकास गर्न चाहन्छौं,’ उनले भने। देशविदेशमा रहेका नेपालीभाषी लेखक, कवि,  साहित्यकार, पत्रकार, कलाकार र वुद्धिजीविलाई सुदूरपश्चिममा आउँदा यहाँको कला, साहित्य र इतिहास बुझ्न सहज हुने उनी बताउँछन्।

334888003_690412219527800_2232391516248569314_n1678067330.png

Metro Mart

झमक घिमिरे निवासमा साहित्य समाजको टोली

‘कुनै पनि क्षेत्रको विकासका लागि प्रचारको आवश्यकता पर्छ। हामीले त्यसरी देश–विदेशमा रहेका नेपाली भाषी साहित्यकारहरूलाई बोलाउँदा उहाँहरूले आँखैले यहाँको वस्तुस्थिति बुझ्न सक्नुहुनेछ। र, आफ्ना सिर्जनामार्फत यहाँका विषयवस्तुलाई उठान गरे तिनले विश्वव्यापीकरण पाउने हाम्रो विश्वास छ,’ नेपाल समयसँग कुरा गर्दै पाण्डेयले भने।

राज्यले केही गरेन भन्ने भन्दा पनि आफूहरू नै आफ्नो संस्कृति र सभ्यतालाई माथि उठाउन कति सक्रिय छौं भन्ने कुराले ठूलो अर्थ राख्ने पाण्डेयको बुझाइ छ। ‘सुदूर साँच्चै प्राकृतिक सुन्दरताले भरिपूर्ण, भौगोलिक सम्पदाले मनोरम र सांस्कृतिक वैभवले सम्पन्न छ। यो साहित्य, कला र संस्कृतिको उर्वर भूमि हो,’ उनी सुदूरपश्चिमको व्याख्या गर्दै भन्छन्, ‘सेती, महाकाली र कर्णाली नदीको विशाल जलराशिले सिञ्चित, अपी, सैपाल र व्यास ऋषि हिमालहरूले सुशोभित, घोडाघोडी, रामारोशन, जाखोरताल, बेदकोट, सुर्मादेवी, शुक्लाफाँटा र खप्तडका अनमोल छटाहरूले शोभायमान तथा उग्रतारा, शैलेश्वरी, बडीमालिका, त्रिपुरासुन्दरी र वैद्यनाथजस्ता देवस्थलहरूले यो भूमि पवित्र छ।’ उनले अमर सहिद दशरथ चन्द, भीमदत्त पन्त, वीरांगाना द्वारिकादेवी ठकुरानी, मानवतावादी विचारक जयपृथ्वीबहादुर सिंह र साहित्यकार पहलमानसिंह स्वारजस्ता राष्ट्रका विभूतिहरूको जन्मस्थलका रूपमा समेत सुदूरपश्चिम गौरवमय रहेको बताए।

वास्तवमा साहित्य समाजले राज्यले गर्नुपर्ने काम गरिरहेको छ। महोत्सव आयोजनाका लागि करोडौं खर्च हुन्छ। तर, साहित्य समाज परिवारमा आफ्नो कला, संस्कृतिको रक्षा र साहित्यको प्रवर्द्धनका लागि केही गरौं भन्ने हुटहुटी छ। त्यसैले त उनीहरू प्रदेश सरकारसँग समन्वयका लागि आग्र्रह गर्छन्, केन्द्र सरकारलाई खोज्दै सिंहदरबार धाउँछन्। इतिहास र स्रष्टा राज्यले खोज्नुपर्ने हो तर यहाँ त सुदूर भूमिमा रहेर स्रष्टाले राज्य खोजिरहेका छन््। साहित्यको संरक्षणका लागि चन्दा खोज्दै आयोजना गरेको कार्यक्रममा तिनै राज्यका सर्वोच्च पदमा रहेका राष्ट्रपति, प्रधानमन्त्रीलाई लगेर कार्यक्रमको उद्घाटन गराइरहेका छन्।

supa-sahitya-samaj1678067447.jpg

साहित्य समाजको तीन तले भवन

‘यसरी देशकै सर्वोच्च व्यक्तिलाई बोलाउँदा यसतर्फ राज्यको ध्यान केन्द्रित हुन्छ कि भन्ने पनि हाम्रो लोभ हो,’ पाण्डेयले भने। यस पटकको महोत्सव आयोजनाका लागि पनि टोली देशका कुनाकन्दरा पुग्यो। प्रमुख अतिथिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गुहार्‍यो। प्रधानमन्त्रीले दिएको समय अनुसार नै कार्यक्रम तय गरिएको छ।

साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको नेतृत्वमा सल्लाहकार तथा पूर्वअध्यक्ष रामलाल जोशी, समाजका महासचिव गणेश नेपाली, उपाध्यक्ष हरिकृष्ण कठायत, सल्लाहकार यज्ञराज उपाध्यायलगायतको टोली दिनरात भोकप्यास नभनी महोत्सव आयोजनाको तयारीमा जुटेको छ। मेचीदेखि कालीसम्म पुगेर श्रष्टाहरुलाई कार्यक्रममा उपस्थित हुन आमन्त्रण गरिसकेको छ। टोली देशभरका नारी श्रष्टालाई निमन्त्रणा गर्दै झमक घिमिरेदेखि समाजसेवी अनुराधा कोइरालाको घरदैलोमै पुगेको छ।

सुदूरपश्चिममा पहिलोपटक हुन लागेको हो नारी साहित्यकारहरूको सम्मेलन। महोत्सवको विशिष्ट अतिथिका रुपमा झमक घिमिरे रहनेछिन्। उनलाई यस वर्ष समाजले प्रदान गर्दै आएको १ लाख ११ हजार १११ राशीको ‘बद्रीकृष्ण वाङ्मय पुरस्कार’ प्रदान गरिने समाजका महासचिव गणेश नेपालीले बताए। सोही कार्यक्रममा समाजसेवी अनुराधा कोइरालालाई ‘जशुधा समाजसेवा पुरस्कार’ प्रदान गरिने छ भने एक दर्जनभन्दा बढी पुरस्कार समेत वितरण हुने महासचिव नेपालीले बताए। 

सुदूरपश्चिमको कला, संस्कृति, झाँकी, भेषभुषाको प्रवर्द्धनसहित सुरु हुने साहित्य महोत्सवका क्रममा विभिन्न प्यानल डिस्कसन आयोजना गरिने समाजका सल्लाहकार तथा मदन पुरस्कार विजेता सर्जक रामलाल जोशीले बताए।

प्रकाशित: Mar 06, 2023| 07:28 सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।