काठमाडौं- डडेलधुराको गन्यापधुरा गाउँपालिका-४ मा जन्मिएका गणेश भट्टको बाल्यकाल उतै बित्यो। एसईईसम्मको अध्ययन गाउँपालिकामै गरेका भट्ट उच्च शिक्षाका लागि २०६९ सालमा धनगढी झरे र सरस्वती मावि गेटामा भर्ना भए। पछि उनी सुदूरपश्चिमाञ्जल क्याम्पसमा सरे। त्यहाँ पढ्दै गर्दा उनलाई धनगढीमा बस्न मन लागेन र २०७२ सालमा सपनाको सहर काठमाडौं छिरे।
काठमाडौं आउँदै गर्दा भट्ट बाहिरबाट रित्तो थिए तर, सपनाका चाङ भने थुप्रै थिए उनीभित्र। उनी मोडलिङ गर्न चाहन्थे। त्यससँगै उद्यमशिलता र समाजसेवा पनिरुची। तर, चिनेजानेका कोहि छैनन् अनि गोजी रित्तो छ। आफ्नो सपना कसरी पूरा गर्ने भन्ने चिन्ताले उनलाई सताइरहन्थ्यो। मध्यमवर्गीय परिवारका भट्टले सहज जीवनयापनका लागि थुप्रै ठाउँमा काम खोजे। धेरै ठाउँमा त काम पनि गरे।
अपेक्षित जीवनयात्रा नचलेपछि भट्टले विदेश पलायन हुने सोच नबनाएका पनि होइनन्। तर, आफ्नै देशमा रहेर केही गर्नुपर्छ भन्ने भावनाले उनलाई सधैँ प्रेरित गरिरह्यो। त्यसैले बेला-बेला उनको विदेश जाने सोच पनि त्यसै मरेर जान्थ्यो। कोरोनाकालको लकडाउनले पनि उनको विदेश जाने सोचलाई केही हदसम्म रोक्यो। सोही समयमा उनी घर फर्किए। काठमाडौंमा काम गरेर अध्ययन गरिरहेका भट्टलाई गाउँमा समय बिताउन निकै सकस भइरहेको थियो। कोरोना महामारीको त्रास अलि कम भएपछि उनी पुन: काठमाडौं फर्किए।
अरुसँग पैसा मागेर उनी काठमाडौं त आए तर कोरोनाकालको लामो समयदेखिको कोठा भाडा तिर्न बाँकी थियो। उनलाई अब भाडा कसरी तिर्ने भन्ने चिन्ताले पिरोल्न थाल्यो। साथीभाइसँग सरसहयोग माग्दै उनले त्यो गर्जो त टारे। अब साथीभाइहरूलाई तिर्ने पैसाले पिरोल्न थाल्यो।
फेरि उनी कामको खोजीमा भौतारिए र लामो संघर्षपछि काम पाए। उनलाई साथीभाइसँग चिनजान गर्ने भोक थियो। सम्बन्ध बनाउने रहर थियो। काम गर्दै उनले आफ्नो मोडलिङ गर्ने सपना पूरा गर्न विभिन्न क्षेत्रका व्यक्तिहरूसँगको सान्निध्यता बढाए। यही क्रममा २०७७ सालमा उनले पहिलो पटक दसैं गीत बिरानो ठाउँमा अभिनय गर्ने अवसर पाए।
पहिलो अभिनयलाई दर्शकले रुचाइदिए। उनमा पनि म केही गर्न सक्छु भन्ने आत्मविश्वास बढ्दै गयो। त्यसपछि उनी गीत निर्माता र निर्देशकको नजरमा पर्दै गए। अहिले उनले दर्जनौं गीतमा अभिनय गरिसकेका छन्।
'मलाई अभिनय गर्ने रहर सानैदेखि थियो। तर, अहिले आएर यो सपना पूरा हुँदै गएको छ,' २५ वर्षीय भट्ट भन्छन्। उनले आफूले यस क्षेत्रमा उत्कृष्टता हासिल गर्दै जाने बताएका छन्। उनको निरन्तरको संघर्षकै कारण राष्ट्रपति विद्यादेवी भण्डारीका हातबाट २०७९ वर्षको 'रारा म्युजिक अवार्ड' जिते। जसलाई सांगीतिक क्षेत्रमा एउटा उत्कृष्ट अवार्डका रुपमा लिइन्छ।
त्यसपछि उनी उत्कृष्ट अभिनय गरेबापत चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ को नोमिनेसनमा परे। यसले उनलाई ख्यातिप्राप्त कलाकारहरूसँग चिनजान गर्ने मौका पनि दियो। यसलाई भट्ट आफ्नो अभिनय जीवनको कोशेढुंगाका रूपमा लिन्छन्।
'छोटो समयमा नै यसरी अवार्डेड हुँदा खुसी लागेको छ। यसले आगामी दिनमा अझै राम्रो गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ,' उनले भने, 'अहिले त मैले नृत्य र अभिनय क्लास पनि लिन थालेको छु। मेरो मनमा अभिनयप्रति रुची थियो। यसमा लाग्न मैले ठूलो संघर्ष गर्न पर्यो। तर, दत्तचित्त भएर आफ्नो कर्ममा लाग्ने हो भने एक दिन सफल भइन्छ भन्ने आत्मविश्वास बढेको छ। अरु युवाहरूलाई पनि म सफलता प्राप्तिका लागि आफ्नो उद्देश्यबाट विचलित नहुन आग्रह गर्छु।'
भट्टसँग अभिनयमात्र नभएर व्यापार व्यवसायको अनुभव पनि छ। उनले आगामी दिनमा पनि अभिनय यात्रालाई नै निरन्तरता दिने बताएका छन्। 'म उद्यमशिलताका साथ अभिनयमा केन्द्रित रहने छु। सफलता प्राप्तिका लागि ठूलो संघर्ष गर्नुपर्छ भन्ने मलाई थाहा छ। सधैँ यही मर्मभित्र रहेर काम र अभिनय यात्रालाई अगाडि बढाउने छु,' उनले भने।