आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • खाद्य कम्पनी डेढ लाख क्विन्टल चामल खरिद गर्ने तयारीमा

खाद्य कम्पनी डेढ लाख क्विन्टल चामल खरिद गर्ने तयारीमा

खाद्यले यसअघि किसानका धान खरिद गरी आफैं कुटाएर चामल बिक्री गर्दै आएकामा यो वर्ष पर्याप्त धान खरिद गर्न नसकेपछि चामल किनेर बेच्न थालेको हो।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

काठमाडौं– सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १ लाख ४२ हजार २०० सय क्विन्टल चामल खरिद गर्ने भएको छ । कम्पनीले चालू आर्थिक वर्षमा लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि चामल किन्न लागेको हो।

National life

लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि चामल खरिद गर्न लागिएको र त्यसका लागि बोलपत्र आह्वानसमेत गरिसकिएको कम्पनीका कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले बताए।

कम्पनीले अरुवा, सोना मन्सुली, स्टिम जिरा मसिनो, अरुवा साँवा, अरुवा मोटा र मार्सीलगायतका चामल खरिद गर्न लागेको हो। कम्पनीको मुख्य शाखा कार्यालय बिर्तामोडबाट ३ हजार क्विन्टल, प्रादेशिक कार्यालय विराटनगरबाट १० हजार क्विन्टल, मुख्य शाखा कार्यालय लहानबाट १५ हजार क्विन्टल चामल खरिद गर्ने कम्पनीको योजना छ। 

नेपालगञ्ज शाखा कार्यालयबाट २० हजार, प्रादेशिक कार्यालय धनगढीबाट २२ हजार क्विन्टल, प्रादेशिक कार्यालय सुर्खेतबाट २० हजार १०० र तुलसीपुर शाखा कार्यालयबाट २ हजार क्विन्टल, वीरगञ्ज शाखाबाट २२ हजार क्विन्टल, काठमाडौंबाट २० हजार ३०० क्विन्टल, प्रादेशिक कार्यालय भैरहवाबाट ७ हजार ८०० क्विन्टल चामल खरिद गरिने कम्पनीले बताएको छ। यो वर्ष कम्पनीले मार्सी चामल १०० क्विन्टल मात्र खरिद गर्नेछ।

कम्पनीले गत वर्ष २०० क्विन्टल मार्सी धान खरिद गर्ने भनिए पनि कम परिमाणमा खरिद गरेको थियो। कम्पनीले यसअघि किसानका धान खरिद गरी आफैं कुटाएर चामल बिक्री गर्दै आएकामा यो वर्ष पर्याप्त धान खरिद गर्न नसकेपछि चामल किनेर बेच्न थालेको हो।

यो वर्ष ३ लाख २ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेकामा फागुन ८ सम्म १ लाख २९ हजार ४२९ क्विन्टल धान खरिद भइसकेको कम्पनीले बताएको छ। कम्पनीले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गरेको हो।

सरकारले चालू आर्थिक वर्षका लागि मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ९६७ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १२८ रुपैयाँ तोकेको छ। गत वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७५२ र मध्यम धानको २ हजार ९०२ रुपैयाँ तोकेको थियो।

प्रकाशित: Feb 23, 2023| 11:24 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्