बिहीबार, मंसिर २५, २०८२

बाली जोगाउन बाँदरका लागि वनमै फलफूल खेती

 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

धनकुटा- किसानका खेतीपातीमा लाग्ने बाँदर नियन्त्रणका लागि धनकुटाका सामुदायिक वनमा वनजन्य फलफूल खेती सुरु गरिएको छ। कोशी प्रदेश सरकारको १० लाख रूपैयाँको सहयोमा आर्थिक वर्ष २०७९/८० देखि डिभिजन जिल्ला वन कार्यालयले उक्त कार्यक्रम सुरुवात गरेको हो।

National life

प्रदेश सरकारको ‘प्रदेश वन विकाश कार्यक्रम’अन्तर्गत करिब आठ हेक्टर (१५७ रोपनी) मा फलफूल खेती गरिएको छ।

जिल्लाका सात वटा सामुदायिक वनमा विभिन्न नौ जातका १२ हजार सात सय वनजन्य फलफूलको बिरुवा रोपिएको कार्यालयका योजना अधिकृत राजन राईले जानकारी दिए।

पाख्रिबास नगरपालिकाको जनता सामुदायिक वन, महालक्ष्मी नगरपालिकाको अर्खौले, छथर जोरपाटी गाउँपालिकाको गोगनपानी, धनकुटा नगरपालिकाको ढोडनी कालीवन र लामाटार, चौबिसे गाउँपालिकाको बुटेनी र सागुरीगढी गाउँपालिकाको जोगीथुम्का सामुदायिक वनमा बिरुवा रोपिएको छ।

प्रत्येक सामुदायिक वनमा कहटहर, अम्बा, अमला, जामुन, लप्सी, बर्रो, ओखर, हलुवाबेद र चिउरीका एक हजार १२ देखि एक हजार १९ वटासम्म बिरुवा रोपिएको उनले जानकारी दिए। वनजन्य फलफूलका बिरुवा रोपेपछि आगामी दिन किसानलाई बाँदरको आतंकबाट राहत मिल्ने र वनको जैविक विविधताको संरक्षणमा टेवा मिल्ने कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताए। 'बाँदरले वनमा नै खान पाएपछि किसानलाई दुःख दिने छैन', उनले भने।

Laxmi sunrise bank
kumari

यस कार्यक्रमलाई निरन्तरता दिँदै यो पनि वर्ष करिब दश हजार वनजन्य बिरुवा रोप्ने तयारी भइरहेको योजना अधिकृत राई जानकारी दिए। उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्ष मा प्रदेश सरकारको पाँच लाख रूपैयाँ बराबरको कार्यक्रम छुट्याएको उनले उल्लेख गरे। जिल्लामा हाल तीन सय ८७ सामुदायिक वन छन्।

प्रकाशित: Sep 12, 2023| 18:21 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्