काठमाडौं– भारतको चेन्नईमा आयोजना भएको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार पनि नेपालले भारतसँग बराबरी खेलेको छ। दुई खेलको मैत्रीपूर्ण अन्तर्गत पहिलो खेलमा २–२ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा भने गोलरहित बराबरी खेलेको हो।
शनिबार भएको खेलमा दुवै टिमले गोलका लागि थुप्रै प्रयास गरेका थिए। नेपाली अग्रपंतिमा प्रशिक्षक अनन्त राज थापाले अमिषा कार्की र सावित्रा भण्डारीसँगै दिप शाहीलाई सुम्पिएका थिए। तर उनीहरूले गोल गर्न सकेनन्।
निर्धारित समयको तीन मिनेट बाँकी रहँदा थापाले अमिषाको ठाउँमा अनिता बस्नेतलाई प्रतिस्थापन गरेका थिए। तर, नेपालले गोल गर्न सकेन।
पहिलो खेलको अन्तिम दुई मिनेटमा नेपाली टिमकी सावित्रा भण्डारीले दुई गोल गरेर नेपाललाई बराबरी गराएकी थिइन्। त्यसअघि नेपाल २–० ले पछि परेको थियो। यो बराबरी सँगै नेपाल अपराजित रहँदै घर फर्किने भएको छ। यसअघि नेपालमै भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा भने नेपालले इन्डियालाई हराएको थियो।