मध्यक्रममा दुई ब्याट्सम्यान कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट पारी खेलेपछि नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। स्कटल्यान्डले दिएको २७६ रनको लक्ष्य पछ्याउँदै नेपालले जारी त्रिकोणात्मक श्रृंखलामा लगातार दोस्रो जित निकालेको हो।
नेपालले ७७ रनमा ५ विकेट गुमाइसकेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै तीन विकेटको जित निकाल्न सफल भयो। सातौं नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्रसिंह ऐरीले अविजित ८५ रन बनाए। त्यसअघि पाचौं नम्बरमा आएका कुशल मल्लले विष्फोटक इनिङ खेलेका थिए। उनी ६७ बलमा ८१ रन बनाएर आउट भए जसमा ४ छक्का र ९ चौका थिए।