काठमाडौं– नेपालविरुद्ध पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले घरेलु टिमलाई २७५ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लिग २ अन्तर्गतको अहिले जारी खेलको पहिलो इनिङमा स्कटल्यान्डले पूरा ओभर खेल्दै आठ विकेट गुमाएर २७४ रन बनाएको हो।
आजको खेलमा स्कटल्यान्डका माइकल लिस्कले सातौं ब्याटरका रुपमा मैदानमा पसेर सतक बनाएपछि नेपालले ठूलो लक्ष्य पाएको हो। लिस्कले ९ छक्का र तीन चौकाका साथ सो रन जोडेका थिए। यता नेपालले सुरुआतमा निकै सानदार बलिङ गरे पनि माइकललाई भने आउट गर्न सकेन।
आठौं ओभरमा नेपालका लागि बलिङ गरेका कुशल मल्लले चौथो बलमा पहिलो विकेट लिएका थिए। उनले स्कटल्यान्डका ओपनर रिची बेरिङटनलाई कट एन्ड बोल्ड आउट गरेका हुन्।
यससँगै कप्तान बेरिङटोन २५ बलमा १९ रन बनाउँदै आउट भए। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि कुशलले नै दोस्रो विकेट पनि लिए। उनले क्रिस्टोफर म्याकब्रिडलाई १२ औं ओभरको पहिलो बलमा विकेटकिपर आरिफ शेखबाट स्टम्पिङ आउट गराएका थिए।
त्यसपछि लेग स्पिनर सन्दीप लामिछानेले १५ औं ओभर र १७ औं ओभरमा विकेट लिएका थिए। लामिछानेले १४ ओभर पाँच बलमा माथ्थिउलाई एलबीडब्लू आउट गराउँदा उनले दुई रन मात्र जोड्न सकेका थिए।
१६ ओभर एक बलमा थोमसलाई पनि एलबीडब्लू गराउँदा उनले १९ रन बनाएका थिए। त्यसपछि सन्दीपले ब्रान्डम म्याकुलमलाई कुशल मल्लको हातबाट क्याचआउट गराएका थिए। त्यसैले एक छक्का प्रहार गरिसकेका म्याकुलमले २२ रन मात्र बनाउन सकेका थिए।
खेलका क्रिस ग्रभ्सलाई कुशल भुर्तेलले शेखबाट स्टम्पिक गराएपछि पाहुना टिमले २४ ओभर दुई बलमा ६ विकेट गुमाएर १११ रन मात्र बनाएको कमजोर अवस्थामा थियो।
तर त्यसपछि मैदानमा रहेका माइकल लिस्क र ज्याक जर्भिसले लामो पारी खेले उनहरुले १११ बाट १९२ रनसम्म साझेदारी गरेका थिए। त्यतिखेरसम्म ४० औं ओभरको तेस्रो बलसम्ममा २६ रन बनाएका ज्याक जार्विसलाई दिपेन्द्र सिंह ऐरीले बोल्ड आउट गरेका थिए। यता खेलमा १० ओभर बाँकी रहँदै सातौं नम्बरमा मैदान छिरेका माइकल लिस्कले अर्धसतक बनाइसकेका थिए। उनले ५६ बलमा चार छक्का र दुई चौकाका साथ ५२ रन बनाएका थिए। पछि ७७ बल खेल्दै उनले सतक परा गरेका थिए। त्य बेलासम्म उनले ९ छक्का र तीन चौका प्रहार गरेका थिए। एक दिवसीय क्रिकेटमा यो उनको पहिलो सतक समेत हो। खेलमा उनी अविजित रहे।
यसअघि उनको सबैभन्दा उच्च रन ८५ रन रहेको थियो। आजको खेलसँगै उनले एक दिवसीयमा एक हजार रन पनि पूरा गरेका छन्। आजको खेलको अन्तिम ओभरमा आठौं विकेट गएको थियो। नवौं नम्बरमा मैदान पसेका मार्क वाटले सिंगल बाउन्ड्रिसाथ २० रन बनाएपछि स्कटल्यान्डले सम्मानजनक रन बनाएको हो। वाट चार बल बाँकी रहँदा रन आउट भएका थिए।
नेपालका लागि सन्दीपले तीन, कुशलले दुई विकेट लिए भने सोमपाल कामी, कुशल भुर्तेल र दिपेन्द्रले समान १–१ विकेट गिराएका थिए।
यसअघि स्कटल्यान्डले नामिबियालाई १० विकेटले हराएको थियो। सो खेलका जित निकाल्दै स्कटल्यान्ड लिग २ को विजेता बनिसकेको छ। नेपाललाई यो घरेलु सिरिजमा जित निकै महत्वपूर्ण रहेको छ। किनभने नेपालले बाँकी ११ खेलमध्ये आठ खेलमा जित निकाल्नै पर्ने हुन्छ। यसो गर्न सके मात्र नेपालको एक दिवसीय मान्यता जोगिने भएको छ।