अन्यथा अर्थ नलागेमा यो काम बन्द गरौं, काम भए पो गर्नु 'नकाम' किन गर्नु ? कसरी भनौँ गज्जब चेतना? जागिर खान कोही आउँछ, जान्छ, समय गुजारे जस्तो गर्छ, फिर्छ। त्यो जागिरे जीवनको नियमित प्रक्रिया नै हो। कोही कहिँ आउनु र फर्कनु नियमित आकस्मिकता हो। यो बाहेक केही हो र!
सिडिओ जागिर खान आउँछन्। पुलिसको काम पनि त्यही हो, सिडिओ र पुलिस किटान गर्यो भनेर आवेग, उत्तेजनामा कोही नआउनु नै वेश। सरकारको सिन्दुर लगाउनेको यो जिम्मेवारी हो। लिएपछि त्यो जिम्मेवारी जो कसैले पूरा गर्नुपर्छ, त्यो उसको कर्तव्य नै हो।
तोकिएको कार्यसम्पादनका लागि कोही कर्मचारी आउँदा स्वागत र जाँदा भव्य बिदाइ! के जितिन्छ यसो गर्दा? जुन अफिसमा जो आउँछ, त्यहाँ स्वागत हुन्छ। त्यो स्वभाविक हो।
आउँदा स्वागत र जाँदा बिदाइ अन्यथा मान्न सकिन्न र होइन। तर, झापामा एउटा अनौठो प्रक्रिया चलिरहेको छ। देख्दै सरम लाग्ने। सचेततापूर्वक शब्द थपौँ, लाजले पनि कुरिकुरी भन्ने। आयोजक, सहआयोजक, प्रायोजक, सहप्रायोजकसँग माफ मागेरै प्रश्न गर्नु पर्ने भयो- काम नपाएर यसो किन गरेको? रिस भयङ्कर उठ्न सक्छ।
पंक्तिकारलाई कसैले भेट्यो भने ऊ आवेगमा पनि आउन सक्छ। यो सोच्नु ठिकै हो। किनकि, बेकाम गर्ने र बेचैन मनले सोच्ने नै यही हो। तर, जागिर खान आएको मानिसलाई लामबद्ध भएर स्वागत गर्नु र निर्धारित समय गुजारेर फर्कन लागेको मानिसलाई बिदाइ गर्नुको मतलब के? कि तिमी जहाँ जान्छौं , हामी आउँदा राम्रो खानपिन गराउ, घुमाउ, आराम गराउ भनेको?
सरकारी जागिर खाएपछि नागरिकको सेवा गर्नु जोसुकै कर्मचारीको दायित्व हो। त्यही दायित्व निर्वाह गरेको मानिसलाई सामूहिक स्वागत र बिदाइ सस्तो लोकप्रियता हो। सचेत झापालीले गरिरहेको यो कर्म नागरिक जिम्मेवारीमा पर्छ कि कुसंस्कारको पटाक्षेप?
कुनै राष्ट्रसेवकलाई नागरिक अभिनन्दनकै शैलीमा स्वागत र बिदाई गरिनु लगाएको कपडा फुस्किएर वा च्यातिएर लाज चिहाउनु जस्तो मात्रै हो। आदर्श भित्रको आडम्बर जरुरी छ ? छैन भने के सन्देश दिने, पट्क्कै लाग्दैन यो नकाम हो भन्ने ?
पंक्तिकारको आग्रहमा फ्याट्टै कोही नरिसाउनु होला। प्रशासकको काम राम्ररी प्रशासन चलाउने नै हो, जहाँ उसको उत्कृष्टता जरुरी हुन्छ। त्यसकै खातिर कोही प्रशासक बनेको हो। राज्यको ढुकुटीबाट तनखा खाएको हो। यसमा तारिफ जरुरी छ र!
प्रहरीले सुशासन कायम राख्न प्रयास गर्ने हो। चोर समात्यो, जाली, फटाहा, बेइमान र व्यभिचारीलाई कारबाही गर्यो, भनेर उत्सव मनाउनु को के अर्थ ? त्यो उसको दायित्व नै हो।
डाक्टरले बिरामी निको पार्नु जादु चलाउनु हो र! अस्पतालमा बिरामी मर्यो भने पो अनौठो मान्ने हो। बिमार जाति हुनु, निको पार्नु त डाक्टरको विज्ञताको परिणाम हो। तर, यो सारा कुरा बिर्सेर सरकारी कर्मचारीको स्वागत र बिदाइमा हापझाप गर्दै समय खर्चनुलाई कसरी उत्कृष्ट कर्म भन्ने?
अतिथि देवो भव: यो नेपाली संस्कार हो। यसमा कसैको विमति छैन। तर, संस्कारलाई कुसंस्कारमा बदल्ने र अतिरञ्जित गरेर जवरजस्त संस्थागत गर्ने मनसुवा राखियो भने त्यो त्यो अशोभनीय कर्म हुन्न? हो, यही दृश्य झापामा बारम्बार देखिँदै आएको छ, यो गर्नेहरूका दृष्टिमा मात्रै सुरम्य हो।
झापामा यही अशोभनीय कर्मका निकृष्ट दृश्य बारम्बार दोहोरिएका छन्। जो अपाच्य र कुरुप हुन् भन्न किन डराउने?
झापामा केही समय अघिदेखि मानवीय र सामाजिक संघसंस्थाले सरकारी कर्मचारीलाई सामूहिक स्वागत, बिदाई र सम्मान गर्ने गरेका थिए। देखिने ती दृश्यले बोल्थे, यो शोभनीय छैन, असामान्य पनि।
ती असामान्य दृष्य अहिलेका लागि स्वाभाविक मानिए पनि यो कर्म कुनै दिन कहीँ नभएका दृष्य गैरी गाउँका हुनेछन् भन्ने। ती दृष्यका 'मुर्कुटा' अहिले सग्लो देखिए, अनि यो सत्य सावित पनि भयो। तथापि, औँलामा गनिने बाहेक झापाले यसमा पटक्कै सन्तुष्टि जनाएन। उपमा दिने नै हो भने आत्मरतिमा रम्नेदेखि बाहेक।
झापाली संघसंस्था निरन्तर अघि बढे। चरम अवसरवादको पथ समातेर। त्यो उनीहरूको निर्णय हो, टिप्पणी को के अर्थ र !
उनीहरूको पाटो र विषय स्वाट्टै छोडिदिउँ, यथार्थ हो, स्थानीय सरकार शक्ति सम्पन्न छ, अधिकारका दृष्टिले । तर, एउटा कर्मचारीलाई बिदाई गर्न पालिकाका प्रमुख, उपप्रमुख हुत्तिनु, आफ्नो क्षेत्राधिकारलाई कुल्चनु हो, आफू को हुँ भनेर नचिन्नु र बिर्सनु हो।
यसले जनअभिमतलाई अपमान मात्रै गरेको होइन, पच्याकपुचुक हुञ्जेल कुल्चेको छ। सर्वाङ्ग लत्याएको छ।