काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले देशको शान्ति सुरक्षामा असरपर्ने खालका अभिव्यक्ति र गतिविधि नगर्न सरकार, राजनीतिक दल, अभियन्ता र आमनागरिकलाई आग्रह गरेको छ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा अभिव्यक्ति स्वतन्त्रता र शान्ति सुरक्षाको सवालमा गम्भीर हुन आग्रह सबैलाई आग्रह गरिएको छ।
'कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसतर्फ गम्भीर हुन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ,' विज्ञप्तिमा भनिएको छ, 'देशको शान्ति सुरक्षामा असरपर्ने खालका अभिव्यक्ति र गतिविधि नगर्न आयोग राजनीतिक दल, अभियन्ता र आमनागरिकलाई आग्रह गर्दछ।'
अभियन्ता दुर्गा प्रसाइँलाई पक्राउ गरिएको घटनाको सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको र आजै आयोगको टोलीले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पुगी दुर्गा प्रसाइँ र सम्बन्धित प्रहरी अधिकारीहरूसँग भेट गरी जानकारी लिएको बताइएको छ।
आयोगले प्रसाइँलाई आज राति १२.३० बजे निजको निवास सानो ठिमी, भक्तपुरबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको, प्रहरी प्रतिवेदनअनुसार सार्वजनिक शान्तिसुरक्षा विरुद्धको अनुसन्धानका लागि पक्राउ गरिएको भनी निजलाई पक्राउ तथा थुनुवा पूर्जी दिइएको र निजको स्वास्थ्य अवस्था सामान्य रहेको आयोगलाई जानकारी प्राप्त भएको जनाएको छ।