काठमाडौं– इन्डियासँग दुई मैत्रीपूर्ण खेल्नका लागि नेपाली महिला फुटबल टिम आज चेन्नइ प्रस्थान गरेको छ। साफपछि नेपाली टिमले पहिलो अन्तर्राष्ट्रिय खेल्न लागेको हो।
नेपाल र इन्डियाबीच फुटबल वा कुनै खेल हुँदा त्यो खेलमा मात्र सीमित रहँदैन। यसले त्यसभन्दा धेरै अर्थ राखिरहेको हुन्छ। गएको भदौमा नेपालले घरेलु मैदानमा भारतलाई हराउँदा नेपाल साफको फाइनलमा त पुगेकै थियो। त्यसले नेपाली घरेलु समर्थकलाई अपार खुसी बनाएको थियो।
त्यो हारबाट मोरल डाउन भएको ठानेको भारतले केही समयपछि ओलम्पिक छनोट खेल्ने तयारी गरिरहेको छ। त्यो छनोट खेल्नु अघि भारतको फुटबल संघले नेपाली महिला टिमलाई दुई मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा दिएको थियो। अब यी दुई खेल फेब्रुअरी १४ र १८ तारिखमा भारतको चेन्नईमा हुनेछ।
केहि दिनअघि पत्रकारसँगको कुराकानीमा मिडफिल्डर सरु लिम्बुले पनि भारतले आफ्ना खेलाडीको मोरल अप गराउनका लागि बोलाएको हुनसक्ने शंका गरेकी थिइन्। तर प्रशिक्षक थापा भने फुटबलमा लामो भिजन राख्नु पर्ने कुरालाई इंगित गर्दै भन्छन्, ‘यि दुई देशको राइभलरी छँदैछ। यसबीच नेपाललाई दक्षिण एसियामा नम्बर वान बनाउने भन्ने नै हो। मैत्रीपूर्ण खेलमा एक्सपोज गर्ने हो भन्ने लाग्छ। हाम्रो एउटा लक्ष्य के विर्सनु हुँदैन भने दक्षिण एसियामा कसरी नम्बर वान हुने। अनि एसियामा कसरी उदाउने र विश्वकपसम्मको यात्राका लागि कसरी अघि बढ्ने हाम्रो लक्ष्य हुनुपर्छ।’
यहि प्रसंगमा उनले अगाडि भने, ‘यि दुई टिमको प्रतिद्वन्दीता छँदै छ त्यसबाहेक फुटबल निरन्तर चलिरहनु पर्छ भन्ने लागेको छ।’ ओलम्पिक छनोट आउँदै गर्दा, भारतले पनि त्यसको राम्रो तयारी गरिरहेको छ। यो मैत्रीपूर्णले त्यसको लागि पनि अर्थ राख्छ। ‘मैत्रीपूर्ण खेलेपछि हामीलाई फाइदा नै हुन्छ। हाम्रो समूहमा त भारतभन्दा पनि राम्रा देशहरु रहेका छन्। जति मैत्रीपूर्ण खेल्यौं हामीलाई उति नै फाइदा हुन्छ भन्ने लाग्छ। उसले पनि त्यही सोचेको होला। भारतलाई मोरल अप गर्ने भन्ने होला, त्यो फरक कुरा हो। तर मैत्रीपूर्ण खेल भनेको फुटबलको निरन्तर प्रकृया हो। विगत देखि नै,’ प्रशिक्षकले भनेका छन्।
भारतविरुद्ध खेलको लागि दुई हप्ताभरी एन्फा कम्प्लेक्समा समग्र तयारी राम्रो भएको प्रशिक्षक बताउँछन्। ‘पहिलो छनोटपछि बन्द प्रशिक्षण बसेको हो। टिममा कम्बिनेसन पनि राम्रो हुँदै गइरहेको छ। केहि दिनअघि यू२० साफ खेलेका तीन बैनीहरु पनि आइसकेपछि टिम पूरा भएको थियो। उनीहरुले भारतलाई जितेर आएको कारण टिमको मनोबल पन उच्च छ। यो टिमले राम्रो फाइछ दिन्छ भन्ने लागेको छ,’ उनले भने।
दक्षिण एसियामा भारत शसक्त राष्ट्र हो। तर नेपालले काठमाडौंमै भएको पछिल्लो साफमा जस्तो प्रदर्शन गरेर भारतलाई हरायो यो नेपाली टिमकै लागि एउटा चुनौति पनि भएको छ। ‘जहिल्यै इन्डियाको तयारी राम्रो भइरहेको हुन्छ। यद्यपि म सुखद् नतिजाकै आशामा छु,’ उनले भने।
प्रशिक्षकको हिसाबले अनन्तलाई छोटो समय थियो। उनी नेपाली टिमसँग यसअघि पनि जोडिएका थिए। साफमा उनी टेक्निकल टिममा थिए र सबै खेल हेरेर टिमलाई बुझ्ने मौका पाएका थिए। ‘साफको सबै खेल टिममै रहेर हेरेका कारण प्लस पोइन्ट भएको छ। भारतको टिम खेल्ने रणनीतिबारेमा पनि बुझेको थिएँ। नेपाली महिला फुटबल टिमले अब नयाँ शैलीले फुटबल खेल्ने छ। हाम्रो टिमले मोडर्न फुटबल कसरी खेल्छ भन्ने हामी सन्देश दिने छौं,’ उनले भने।
पुनम जर्घा मगर टिममा नभएपछि नेपाली टिमको सेन्ट्रल डिफेन्समा समस्या थियो। त्यसलाई आफैंले सटआउट गरिसकेको अनन्त बताउँछन्। पहिलेका टिमकै खेलाडीले निरन्तरता पाए पनि केही खलाडी विकल्पमा राखेर उनले त्यो ठाउँमा देखिएको समस्या समाधान गरेको बताउँछन्। ‘खेलाडीले दुवै पोजिसन एडजस्ट गर्न सक्छ भनेर गरेको हो,’ उनले भने।
अहिले नेपालमा कुनै घरेलु लिग भइरहेका छैनन्। त्यसले पनि खेलाडीको फिटनेस कस्तो छ भन्ने कुरा समस्याको रुपमा देखिने नै भयो। यद्यपि अनन्तले यतिबेला त्यो समस्या नदेखेको बताएका छन्। उनी भन्छन्, ‘फिटनेसबारे कुरा गर्दा, यस्तो मैत्रीपूर्ण गर्नुपर्छ जस्तो लागेको छ। आयोजनाका लागि दुवै संघलाई धन्यवाद दिनुपर्छ। जति पनि हाम्रा खेलाडी छन् उनीहरु विभागीय टिमका खेलाडी हुन्। विभागमा लगातार अभ्यास भइरहेको कारण आउँदा फिटनेस कम पाएको छैन। अनि हामीले बन्द प्रशिक्षणमा जति समय पाएका छौं त्यसमा हामीले शतप्रतिशत दिएर गरेका छौं।’
छोटो समयमा फिटनेरस राम्रो गरेर भारतलाई फाइट दिन तयार रहेको उनी बताउँछन्। साफअघि घाइते भएकी तत्कालिन कप्तान रेनुका नगरकोटी पनि टिममा फर्किएकी छन्। सविता राना मगर र पूजा पनि टिममा परेका छन्। त्यसमध्ये पनि रेनुका नेपाली टिमको ठूलो सम्पत्ति हो। उनलाई त नेपाली टिमको इन्जिनकै रुपमा हेरिएको छ। तर उनमा केहि इन्ड्युरेन्सको समस्या समाधान भइसकेको छैन। ‘हामीले उनलाई टिममा राखेको चाहिँ उनले टिममा धेरै दिन सक्छ भनेर नै हो,’ अनन्तले भने।