काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले यही फागुन ४ र ५ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा पहिलोपटक फुटबल प्रदर्शनी मेला (फुटबल एक्स्पो) गर्ने बताएको छ। फागुन १९ गतेबाट सुरु हुने ए डिभिजन लिगलाई लक्षित गरेर एन्फाले एक्स्पो गर्न लागेको हो।
एन्फाले एक्स्पो गर्ने घोषणा गरे पनि त्यसको कुनै तयारी थालिसकेको भने छैन। यसबारे विभिन्न क्लबहरुसँग छलफल गर्ने जानकारी उसले दिएको छ। ‘कार्यक्रम घोषणापछि हामी एक्स्पोको लागि क्लबहरुलाई पत्र काट्ने तयारीमा छौं,’ लिगका मार्केटिङ कमिटी संयोजक रविद्र चन्दले भनेका छन्, ‘यसअघि सामान्य मौखिक कुरा भएको छ। अब हामी क्लबहरुसँग छलफल गर्ने योजनामा छौं।’
‘फुटबललाई थप व्यावसायिक बनाउन धेरैभन्दा धेरै व्यवसाय र व्यावसायिक घरानाहरुलाई यस प्रदर्शनीमा जोड्ने प्रयास एन्फाले गर्दैछ,’ एक्स्पोलाई लिएर एन्फाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सो प्रदर्शनीमा इच्छुक ए, बी र सी डिभिजनका क्लबहरुले स्टल राखेर आफूसँग सम्बन्धित फुटबलका जर्सी वा कुनै पनि वस्तुहरु बिक्री गर्न पाउनेछन्।’
एन्फाका अनुसार प्रदर्शनीमा क्लबहरुले आफूले जितेको ट्रफी प्रदर्शनमा राख्ने र फुटबलका फ्यानहरुसँग प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन्। साथै व्यावसायिक घराना (कर्पोरेट हाउस) र सेलिब्रेटी कलाकारहरुलाई समेट्ने योजना रहेको छ । अन्तरक्रिया कार्यक्रमसमेत राखिएको एक्स्पोमा स्पोर्टस म्यानेजमेन्ट विषय लिएर पढेका वा पढिरहेका मानिससँग सुझाव साटासाट गर्ने उद्देश्य रहेको एन्फाका प्रवक्तासमेत रहेका सुरेश शाहले स्पष्ट पारेका छन्।
‘लिगलाई ब्रान्डिङ गर्ने भनेर एक्स्पो गर्न लागेको हो। सम्भवतः पहिलो नै होला। त्यसैकारण केही कमजोरी हुन सक्लान्,’ चन्दले भने, ‘मूल आशय कर्पोरेटसँग क्लबहरुको मैत्रीपूर्ण वातावरण निर्माण गर्ने र ए डिभिजनका लागि स्पोन्सरको वातावरण मिलाउने भन्ने छ। हामीले क्लबको महत्व व्यावसायिक घरानालाई सम्झाउनका लागि यो गर्न लागेको हो।’
अहिलेसम्म एन्फाले ए डिभिजन लिगको मुख्य प्रायोजक नै पाइसकेको छैन। बाँकी प्रायोजक पनि मिलिसकेको छैन। लिगकै मुख्य प्रायोजक नभएको अवस्थामा क्लबले पनि प्रायोजक पाउन मुस्किल छ। पछिल्ला वर्षहरुमा पनि केही क्लबले मात्र प्रायोजन पाएको अवस्था थियो।
त्यो समस्या दोहोरिन नदिनका लागि एन्फाले एक्स्पो गर्न लागेको हो। यो एक्स्पोमा क्लबले गिफ्ट, पुराना जर्सी, ट्रफी राख्न पाउने छन्। ‘एन्फामा ठूलो स्पेस छ। फ्यान्सहरु आउनुहुन्छ भन्ने लागेको छ। स्कुल कलेज, स्पोर्टस कम्प्लेक्स, मिडिया र स्पोर्टस फोटोग्राफरले पनि स्टल राख्न पाउनेछन्,’ चन्दले भनेका छन्।
एन्फाले यो एक्स्पोका लागि ठूलो पैसा भने खर्च नगर्ने भएको छ। उसले स्टल राखेवापत पाउने पैसाले नै एक्स्पो व्यवस्थापन गर्ने लक्ष्य लिएको छ। ‘बैंक वा कर्पोरेट हाउस आयो भने उसले आफ्नो प्रोडक्ट सेल गर्छ। हामी उनीहरुलाई चार्ज लगाउँछौं,’ चन्दले भने, ‘खेलाडीको कुरा गर्दा, उनीहरुले सिधा फाइदा लिन नपाए पनि अन्य कर्पोरेट हाउससँग सम्बन्धमा जोडिन सक्छन्। क्लब बलियो हुन्छ।’
एन्फाले लिगअघि क्लबका लागि फाइदाजनक कुरा गरे पनि समय थोरै भएकाले क्लबले व्यवस्थापन गर्न भने असर पर्नेगरी मिति तय गरेको छ। अब एक्स्पोका लागि केही दिनमात्र बाँकी रहेको अवस्थामा क्लबले जर्सी बनाउने र स्टल व्यवस्थापन गर्नका लागि समय घर्किसकेको छ। ‘अर्को साल गर्नुभन्दा यो वर्ष नै गर्यौं भने एक साल ठूलो भयौं,’ साहले भने, ‘सबैलाई युनाइट गराउन मात्र खोजेको हो। यसले सबैको समस्या बुझ्न सहयोग हुन्छ भन्ने लागेको छ। सुरुआत गर्नमात्र खोजेको हो।’
त्यसो त नेपालमा क्लबका धेरै फ्यान छैनन्। केही क्लबका फ्यान भए पनि प्रतियोगिता निरन्तर नहुँदा उनीहरुले खेलमा चासो दिन छोडेका छन्। यसरी कर्पोरेट हाउसले धेरै क्लबको फ्यान नभएको थाहा पाए भने त बिच्किने सम्भावना पनि रहन्छ। यसबारे के सोच्नु भएको छ? साहको जवाफ छ, ‘हामीले यसको नकारात्मक पक्षमा भन्दा पनि सकारात्मक पक्षबारे सोचेका छौं। केहि समस्या आउँछ भने सिकाइको विषय पनि हो। समयको हिसाबले चाहिँ कमी भयो नै।’
एक समय महावीर क्लब, एनआरटी क्लब ठूला क्लब भनेर चिनिन्थ्यो। ठूला व्यापारीले चलाएको क्लब भनेर पनि चिनिएका थिए। उनीहरु अहिले सी र बी डिभिजनमा छन् र उनीहरुको इतिहास गुमनाम अवस्थामा रहेको छ। उनीहरुको स्मृति ताजा बनाउन पनि एक्स्पोले सहयोग गर्ने चन्दले दाबी गरेका छन्।
ए डिभिजन लिगका निर्देशन सञ्जिव मिश्रले आउँदो लिगलाई लक्षित गरेर विदेशी क्लबका फ्यान क्लबसँग नेपाली क्लबको फ्यान बेस जोड्नेबारे कुरा भइरहेको जानकारी दिएका छन्। उनले भने, ‘विदेशी फ्यान क्लबसँग जोडेर नेपाली फ्यान क्लब बनाउनका लागि कुराकानी भइरहेको छ। त्यसमा हामी पनि सकारात्मक छौं भन्ने लागेको छ।’