गायक ब्रायन एडम्सका लागि रंगशालामा हुने सांगीतिक प्रस्तुतिहरु सुदूर दिनका स्मरण भएका छन्। यद्यपि, गीति संसारबाट फोटोग्राफीको दुनियाँमा हामफालेका एडम्सको विश्व यात्रा भने निरन्तर छ।
सांगीतिक दुनियाँका हस्ती इगी पप, जेनिफर हड्सन र ग्राइम्ससँग ब्रायन एडम्सको यात्रा जारी छ। तर ब्रायनको लागि यो यात्रा सांगीतिक हुने छैन। उनी फोटोग्राफरको हैसियतमा इटालियन फेसन डिजाइन कम्पनी पिरेलीले सन् २०२२ मा निकाल्ने क्यालेण्डरको लागि यी संगीतकर्मीहरुको फोटो खिच्ने यात्रामा छन्।
आउँदो वर्षका लागि तयार पारिने सो क्यालेन्डरको शीर्षक छ– अन द रोड। क्यालेन्डरको लागि फोटो खिचिरहँदा ब्रायनले आफ्ना पुराना दिनको पुनःसम्झना गरेका छन्।
ब्रायनले खिचेका फोटोहरु त नोभेम्बरअघि देख्न पाइने छैन तर उपलब्ध भएका केही फोटामा गायिका रिटा ओराले आफ्ना गोडाहरु नुहाउने बाथटवमाथि फैलाएको र गायिका तथा नायिका चेरले ड्रेसिङ रुमको ऐनाअगााडि रातो लिपस्टिक लगाइरहेको दृश्य कैद छन्।
ब्रायनले दश वर्षदेखि व्यावसायिक फोटोग्राफी गरिरहेका छन्। हाल ब्रायनको नाम प्रसिद्ध फोटोग्राफर एन्नी लिभोबिच र जर्मन फेसन फोटोग्राफर पिटर लेन्डबर्गसँग लिइन्छ।
चर्चित लेखिका सुसन सोन्ट्यागकी पार्टनर एन्नी लिभोबिच तिनै फोटोग्राफर हुन्, जसले जोन लेननको हत्या हुनुभन्दा केही घण्टाअघि जोन र उनकी श्रीमती योको योनोको कलात्मक फोटो खिचेकी थिइन्। सर्वाङ जोन लेननले पूरै कालो वस्त्र लगाएर भुइँमा लम्पसार परेकी योको योनोलाई अंगाल्दै चुम्बन गरेका छन्।
ब्रायनले भर्खरै मात्र र्यापर स्वातीको फोटो सेसन सकेर आएका थिए। ब्रायनको अनुभव छ– आफू पनि एक संगीतकर्मी भएकाले सेलिब्रिटीको फोटो खिच्दा समान धरातलमा रहेको आभाष हुन्छ।
‘हामीले एक अर्कालाई कहिल्यै नभेटे पनि भेट्नासाथ एक खालको सौहर्दता बन्छ। तिमीजस्तै म पनि संगीतकर्मी भन्ने बुझाइले काम गरिरहेको हुन्छ,’ ब्रायनले भने।
चार दशकसम्मको आफ्नो सांगीतिक यात्राको अनुभवका आधारमा ब्रायन पात्रको उत्साहलाई अन्तिम प्रदर्शनसम्म कसरी उतार्ने भन्नेमा गम्भीर हुन्छन्। फोटो सुट गर्दाको निर्देशन उनकै मातहत हुने भए पनि उनी आफू फोटो खिच्ने पात्रको क्षमता र ऊर्जाको उत्खननमा तल्लिन हुने बताउँछन्।
‘मैले पनि आखिरमा अरु फोटोग्राफरले गर्ने जत्ति नै गर्ने हुँ,’ ब्रायन भन्छन्, ‘मैले एउटा वातावरण बनाउने हुँ, त्यसपछि पात्र आफैंले प्रदर्शन गर्नुपर्छ। मलाई लाग्छ जति पात्रले प्रदर्शन गर्न सक्छन् त्यति नै राम्रो फोटो आउँछ।’
‘समर अफ सिक्स्टीनाइन’, ‘एभ्रिथिङ आइ डु, डु इट फर यु’ जस्ता कालजयी गीतका स्रष्टा ब्रायनका फोटोहरु विश्वप्रसिद्ध कला संग्रहकर्ता स्याचीको ग्यालरीमा प्रदर्शित छन्।
उनका फोटा बेलायतको ‘भोग’ र ‘हारपर्स बजार’ जस्ता विश्व प्रसिद्ध पत्रिकामा छापिएका छन्। त्यति मात्रै होइन ब्रायनका फोटो पुस्तक पनि प्रकाशित छन्, जसमा अफगान युद्धका सहभागी सेना तथा घरबारविहीन सडकछाप पात्रहरुको संग्रह पर्छन्।
सन् १९६४ मा पहिलो पटक प्रकाशित पिरेलीको क्यालेण्डरमा महिलाहरुको शारीरिक आनन्द लक्षित फोटाहरु छापिन्थे। तर महिला यौन हिंसाविरुद्धको #मिटु अभियानपछि पिरेलीले आफ्नो क्यालेन्डरलाई नयाँ संस्करणमा ढाल्ने प्रयास गरेको छ। पछिल्ला क्यालेन्डर महिला सशक्तीकरणको विषयमा केन्द्रित छ र मोडलहरुको छनोट फराकिलो हुँदै गएको छ।
ब्रायनले भने कयौं पुरुषहरुलाई समावेश गरेर क्यालेन्डरलाई नयाँ दिशामा अग्रसर गरेका छन्।
यस पटक एउटा गजबकोे फोटो इगी पपको आएको छ। पंकका गडफादर ७४ वर्षीय पपले आफ्नो नाङ्गो छातीमा चाँदीको लेपन लगाएर स्टेजमा उभिएको फोटो खिच्ने कार्यलाई गजबसँग निर्वाह गरेका ब्रायन बताउँछन्।
फोटो खिच्ने बेला उपस्थित सहकर्मीहरुले वातावरणलाई दुरुस्त बनाइदिएको ब्रायनको स्मरण छ। र्यापर बोहन फिनिक्स भने धुवाँमय वातावरणमा नाङ्गो छातीसहित स्पटलाइटको प्रकाशमा उभिएका छन्।
‘यद्यपि पुरुष मोडलहरुलाई समान अवसर दिन नसकेको व्याकुलता मलाई छ,’ ब्रायन भन्छन्। पिरेलीको क्यालेन्डरमा पुरुष मोडललाई प्रयोग गर्ने हकमा ब्रायन पहिलो फोटोग्राफर भने होइनन्। सन् २०१८ मा बितेका चर्चित फेसन डिजाइनर तथा फोटोग्राफर कार्ल लेगरफिल्डले सन् २०११ का पिरेलीको क्यालेन्डरमा पुरुष मोडल बाप्टिस्ट ज्याकोमिनीको सर्वाङ्ग फोटो खिचेका थिए।
‘अब यो कुराको सामना गर्ने बेला आयो। हामी पुरुषहरुलाई पनि महिलाहरुलाई जसरी ‘अब्जेक्टिफाइड’ गरी प्रस्तुत गरिनु पर्छ,’ ब्रायन भन्छन्।
ब्रायन आफू महिलाहरुलाई यौनिकताका दृष्टिले प्रस्तुत गर्ने पुरानो धारणासँग असहमत रहेको बताउँछन्। उनी आफूले खिचेका फोटोहरु आकर्षक होऊन् भन्ने चाहन्छन् अतिशय यौनिक आकर्षक चाहिँ होइन।
‘यो त नयाँ दुनियाँ हो नि,’ उनी भन्छन्।
(सिएनएनमा स्टाइलमा प्रकाशित मेगन हिलको आलेख महेश्वर आचार्यले भावानुवाद गरेका हुन्।)