शुक्रबार, जेठ १९, २०८०

संस्कृतिको जगेर्ना गर्दै कर्णालीका मुगाली महिला

बढ्दो आधुनिकता र सहरीकरणका कारण पछिल्लो समयमा यहाँका मौलिक संस्कृति विस्तारै हराउन थालेका छन्।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

कर्णाली- बढ्दो आधुनिकता र सहरीकरणका कारण पछिल्लो समयमा यहाँका मौलिक संस्कृति विस्तारै हराउन थालेका छन्। भाषा, साहित्य, कला र संस्कृतिले सम्पन्न कर्णाली विगतको परम्परा आज लोपोन्मुख अवस्थामा पुगेको छ। यसको संरक्षण, सम्वर्द्धन एवं प्रवर्द्धन हुन नसक्दा पाको पुस्ता चिन्तामा छ।

Everest Bank

मौलिकता गुमनाम हुँदै जाँदासमेत नवपुस्ता कसैले पनि त्यति धेरै चिन्ता गरेको पाइँदैन। अनुशरण गर्नलायक विरासत बोकेका संस्कृति संरक्षणमा गर्नुपर्ने विषयमा सरोकारवालाहरू बेखबरजस्तै देखिन्छन्। आजभोलि आधुनिकताले गाउँलाई पनि छोएको छ। स्थानीयवासीको छाना, बाना र खाना सबै परिवर्तन हुँदै गएको पाइन्छ। मुलतः पश्चिमा संस्कृतिको प्रभाव गाउँसमेत परेको छ।

हिजोका मौलिक परम्परा, संस्कार, संस्कृति हराउँदै जान थालेपछि यतिबेला मुगाली महिलाहरू कर्णालीको सांस्कृतिक परम्परा जगेर्ना गर्नतर्फ लागेका छन्। छायाँनाथ रारा नगरपालिका–१२ मुगुका स्थानीय महिलाले शनिबार बीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको कर्णाली प्रदेशसभाको पाँचौँ स्थापना दिवसका अवसरमा आफ्ना परम्परागत पहिरनबाट मञ्चमै सन्देशमूलक गीत प्रस्तुत गरे।

जनताले मत दिएर पठाइसकेपछि त्यसलाई शिरोपर गर्दै उनीहरूकै हितमा लाग्न प्रदेशसभा सदस्यहरूलाई गीतमार्फत उनीहरूले सुझाव दिए। मुगुबाट कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगरमा आएर ती महिलाहरूले दिएको सन्देशले प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री राजकुमार शर्मा, सभामुख नन्दा गुरुङलगायत दलका नेता, मन्त्री, प्रदेशसभा सदस्य, प्रमुख सचिव तथा विभिन्न मन्त्रालयका सचिवलगायत सबैलाई प्रभावित बनाएको थियो।

छायाँनाथ रारा नगरपालिका–१२ मुगुका स्थानीय झरना बुढाले आधुनिक कपडा लगाउने र आफ्नो पहिचान एवं संस्कृति बिर्सनेलाई परम्परागत पहिरनमा देउडा गीत प्रस्तुत गरेर खस इतिहासको स्मरण गराइएको बताए। बुढाका अनुसार गर्विलो इतिहास बोकेको खस संस्कृति तथा सभ्यताको जगेर्ना गर्ने मनसायले कर्णालीको परम्परागत पहिरन सार्वजनिक गरिएको हो।

National life insurance
Metro Mart

सोही वडाका सुनक्यौडा बुढाले डौठो, चोलो, घाँगरो, पटुका, जाल्या, चन्द्रमा, नानी माला, ठूली माला, चाप्की, फुर्को, बाला र हात्या छाप लगाएर सांस्कृतिक प्रस्तुति पस्केको बताए। उनले भने, 'पहिरन हाम्रो सम्पत्ति, पहिचान र इतिहास हो। यसले हाम्रो भाषा, संस्कृति, भेषभूषा र जीवनशैलीका बारेमा प्रष्ट पार्दछ। यो हाम्रो अस्तित्व र जीवन इतिहाससँग जोडिएको छ।'

कार्यक्रममा सहभागी शोभा बुढाले जोसुकैले अहिले यो पहिरनमा सजिन सजिलो अवस्था नरहेको बताए। 'अहिलेका युवा–युवतीहरू पाइन्ट, टिसर्ट लगाउने गर्दछन्। त्यो पनि ठाउँ–ठाउँ च्यातिएको हुन्छ। त्यस्ता पहिरनमा हिँड्न लाज मान्दैनन्', उनले भने, 'आफ्नो बोली, भाषा गर्न भने हिनामति मान्छन्, (हिच्किचाउँछन्) लज्जित भएको महसुस गर्छन्। यसले मातृत्व र जननीप्रतिको प्रेम हराउँदै गएको प्रष्ट हुन्छ।'

मोनालिसा मिडिया उद्योग मुगुका व्यवस्थापक वसन्त बाग्चनले स्थानीय कला, संस्कृति र वेषभूषाको जगेर्ना गर्ने हेतुले परम्परागत पहिरनमा सजिएको टोली मुगुबाटै बीरेन्द्रनगर सुर्खेतमा ल्याइएको बताए। यसले लोपोन्मुख अवस्थामा पुगेको कर्णालीको पहिरन, जीवनशैली र खस संस्कृतिको उजागर गरेको उनको भनाइ छ।

जुम्लाका संस्कृतिसम्बन्धी जानकार नवराज न्यौपाने विसं १८४६ पूर्वको इतिहासबारे झल्को दिने संस्कृतिको संरक्षण र पुरातात्विक सम्पदाको अनुसन्धान तथा अध्ययन हुन जरुरी रहेको बताउँछन्। उनका अनुसार सिञ्जा सभ्यता विश्वका सभ्यतामध्येको एक उत्कृष्ट भन्ने बुझिन्छ। यसको महत्व र विरासत बुझ्न नेपाल सरकारले यससम्बन्धी एक अलग्गै ऐन ल्याउनुपर्दछ।

तिला गाउँपालिका-४ जुम्लाका स्थानीय ज्येष्ठ नागरिक वीरबहादुर सिंहले परम्परागत पहिरनले कर्णालीको कला, संस्कृति, धर्म, सङ्घर्ष, स्वाभिमान, मेहनत, वीरता सबैको प्रतिविम्ब दिने गरेको बताए। 'संस्कृति पनि त हाम्रो पुँजी हो। यसले हाम्रो मौलिकता र वास्तविकता दुवै बोल्छ', सिंहले भन्नुभयो, 'हामी त माल भएर पनि चाल नपाउने कस्तुरी मृगजस्तै भयौँ। यसको महत्व बाहिरका मान्छेले बुझेका छन्।'


प्रकाशित: Feb 05, 2023| 02:38. 01 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्