काठमाडौं– २०६३ भदौको हरितालिका तीजको दिन झ्याम–झ्याम पानी परिरहेको थियो। कलाकार, निर्देशक जीवन थापा ‘क्षितिज’ झरीको पर्वाह नगरी नाटक अभिनय गरिरहेका थिए। भोजपुरको याकु गाविस (अरुण गाउँपालिका–६ सिक्रेटार) मा तीज अवसर पारेर देखाइएको सडक नाटक ‘गोरेटो’ उनैले लेखेर अभिनय गरेका थिए।
गोेरेटो शीर्षकको नाटक गरेसँगै जीवनको किशोर मनमा कलाकार बन्ने सपना छायो। समयको सौदाबाजीसँग निर्भीक भएर उभिने मानिसले मात्र सपनालाई पूरा गर्न सक्छ भनेझैं उनले निरन्तर कलाकै गोरेटो हिँडे। समाज रुपान्तरणका लागि गाउँघर र स्कुलमा खेलाइने, चलाइने नाटकमा निरन्तर अभिनय गरे।
करिब दुई दर्जन नाटकमा अभिनय गरिसकेका जीवनले यसमै भविष्य खोजेर २०७० मा भोजपुरबाट काठमाडौंतिर पाइला अगाडि बढाए। राष्ट्रिय नाचघरमा वरिष्ठ रंगकर्मी प्रभाकर गौतमसँग अभिनय कक्षा लिए र आफ्नो अभिनयलाई थप निखारे। उनी भन्छन्, ‘गाउँघरमा देखाइने सडक नाटक अनि मञ्चमा गरिने अभिनय रहरले गरिएको थियो। जब नाटकको कक्षा लिएँ, अनि यसै क्षेत्रमा गम्भीर भएर लागें।’
६ महिनाको अभिनय कक्षा लिइसकेपछि ‘जीवन्त कथाहरू’ शीर्षकको नाटक काठमाडौंमा गरे। उनकै लेखन तथा अभिनय रहेको नाटक जीवन्त कथाहरूमा शरणार्थीको पीर बोलिएको थियो। नाटक सिकेपछि उनले केही समय भोजपुरै गएर विकासे नाटक गरे। जनचेतनामूलक ५० नाटकलाई पनि उनले प्राथमिकतामा राखे।
‘जनचेतना नाटक गर्न बाध्य पनि थियौं। अलिअलि गोजी–खर्च हुने र समाजसँग सीधैं जोडिन पाइने भएकाले जनचेतनामूलक सडक नाटक थुप्रै गरियो’, उनले भने।
समाजमा हुने लैंगिक, जातीय, वर्गीय विभेदजस्ता हिंसा न्यूनीकरण गरी मानव समाजमा आमूल सामाजिक परिवर्तन ल्याउने उद्देश्यअनुरुप सडक नाटक माध्यमद्वारा जनमानसमा जनचेतना फैलाउन गाउँगाउँ पुगे उनी।
नाटकलाई निरन्तरता दिने क्रममै उनले शिल्पी थिएटर, मण्डला थिएटर र सर्वनाम थिएटरमा विभिन्न निर्देशकसँग अभिनय गरे। स्वतन्त्र रंगकर्मी किशोर अनुरागको लेखन तथा निर्देशनमा तयार भएको नाटक ‘जंगे पिल्लर’मा अभिनय गरे।
क्षितिज उपनाम राखेर लेखनमा समेत सक्रिय रहेका जीवनले आधा दर्जन चलचित्रका स्क्रिप्ट लेखिसकेका छन्। उनको लेखन तथा निर्देशन रहेको सोलो चलचित्र ‘अन्तिम पाना’ले ग्लोबल अन्तर्राष्ट्रिय फिल्मबाट बेस्ट स्क्रिप्ट राइटरको अवार्ड जितेको थियो।
दिवाज राई किराँती निर्माता रहेको उक्त चलचित्रमा नियोमा राई कार्यकारी निर्माता रहेकी छन्। लेखक तथा अभिनेता जीवनको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा एक मात्र कलाकार उमेश कार्कीले अभिनय गरेका छन्। लेखक तथा निर्देशक थापाका अनुसार समाजमा विभिन्न समस्याका कारण एक्लिन बाध्य पात्रको जीवन भोगाइ मुख्य विषय रहेको चलचित्र अन्तिम पाना पूर्वी तथा पहाडी जिल्ला भोजपुरको ट्याम्के मैयुङ, पांखाङ गाउँ, अरुण गाउँपालिका याकु मैदानेमा छायांकन गरिएको हो। उक्त चलचित्र एक मात्रै कलाकारको अभिनय रहेको नेपालकै पहिलो चलचित्र भएको उनले दाबी गरे।
चलचित्र निर्माता दिवाज राई किरातीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भएपछि मात्र नेपालका हलमा सो चलचित्र प्रदर्शन गरिने जानकारी दिए। ज्ञानेन्द्र कोइरालाको निर्देशन तथा उनकै अभिनय रहेको फिल्म ‘खुल्ला आकाश’ पनि चर्चैमा थियो।
राजनीतिमा चासो नदिने स्रष्टाप्रति राज्यले दायित्व बिर्सिंदा सहरमा कलाकार डिप्रेसनबाट गुज्रिनुपरेको र गाउँमा हराउनुपरेको वा खाडी मुलुक पलायन हुनुपर्ने अवस्था छ। कला र गलाका लागि सिर्जिएका चलचित्र विकास बोर्ड, प्रज्ञा प्रतिष्ठानलगायतका संस्था राजनीतिमय भएपछि स्रष्टाहरू ओझेल पर्दै छन्।
नेपालमा जनयुद्धको समय घटेका घटना, सन्दर्भ र केही ओझेल परेका विषयलाई उजागर तथा सम्बोधन गरेको छ, खुल्ला आकाशले। सो चलचित्रको पटकथा लेखनका साथै मुख्य भूमिका निर्वाह जीवनले नै गरेका छन्। उक्त चलचित्रमा जीवन थापाको जीवन्त मार्मिक अभिनय देख्न सकिनेछ।
डेढ दशकदेखि अभिनयमा सक्रिय जीवन अहिलेको राजनीतिप्रति साह्रै वितृष्ण छन्। राजनीतिकै कारण आजका कलाकार बाँच्न गाह्रो भएको उनको गुनासो छ। उनी भन्छन्, ‘राजनीतिप्रति झुकाव छ तर कसैको झोले भएर भन्दा पनि शुद्धीकरण राजनीतिमा मेरो झुकाव हो।’
उनी कलाकार स्रष्टाको विकास र सहयोगका लागि बनेका चलचित्र विकास बोर्ड नेपाल, प्रज्ञा प्रतिष्ठानलगायतका संस्था राजनीतिमय भएको गुनासो सुनाउँछन्। उनी भन्छन्, ‘पार्टीको झन्डा बोके मात्रै त्यहाँ पुग्न सकिने भयो। तर राम्रा स्रष्टा र कलाकारले झन्डा नबोके जहाँको तहीँ हुनुपर्ने अवस्था छ। यतातिर राज्यको ध्यान छैन।’
अहिले उनकै गृहजिल्लाका नेता सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका छन्। त्यहाँ कुलपति, उपकलुपति तथा प्राज्ञ सदस्यका लागि धेरैको भागदौड चलिरहेको छ। मिलीजुली सरकार भएकाले त्यहाँ गतिला र प्रभावशाली व्यक्तित्वको नियुक्ति हुन नसक्ने अनुमान उनको छ। भन्छन्, ‘बौद्धिक तथा प्रभावशाली व्यक्तित्व त्यहाँ नपर्न सक्छन्। भर्ती केन्द्रजस्तो भयो एकेडेमी।’
चार दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका जीवन नेताहरूमा कलाकारप्रतिको दूरदर्शिता नभएको बताउँछन्। कुनै समय सुदन किराँतीलाई प्रमुख अतिथि बनाएर आफूले स्टेज नाटक गरेको सम्झिँदै उनले भने, ‘सोही कारण यसपालि बौद्धिक र प्रभावशाली व्यक्तित्व एकेडेमीमा पुग्छन् भन्ने लाग्छ। स्वतन्त्र स्रष्टा तथा कलाकार बोर्ड तथा एकेडेमीमा पुग्न नपाउने अवस्था हटाउन राजनीति कार्यकर्ता भर्ती निषेध गरिनुपर्छ। यति गर्न सकिए मात्रै स्रष्टा तथा कलाकारको योगदान राज्यले बुझ्न सक्छ।’
जीवनले हाल दुई चलचित्रको स्क्रिप्ट र एक चलचित्र निर्देशनको तयारी गरिरहेका छन्। राजनीतिमा चासो नदिने स्रष्टाप्रति राज्यले दायित्व बिर्सिंदा सहरमा कलाकार डिप्रेसनबाट गुज्रिनुपरेको र गाउँमा हराउनुपरेको वा खाडी मुलुक पलायन हुनुपर्ने अवस्था रहेको उनको बुझाइ छ।
दूरदराजमा लुकिबसेको कलालाई राज्यले अझै खोज्न नसकेको लाग्छ उनलाई। गीत–संगीत, साहित्य तथा चलचित्र क्षेत्रमा लागेका स्रष्टा कलाकारको सहयोगमा राज्य अगाडि आउनुपर्नेमा उल्टै राजनीतिक नियुक्तिमा दलीय कार्यकर्ता भर्ती गर्ने गरिएको उनको गुनासो छ।
उनले ठूलासाना, कथानक र लघुजस्ता आधा दर्जन बढी नेपाली कथानक चलचित्रमा सशक्त अभिनय गरिसकेका छन्।
कुनै दिन भोकको पिरामिडलाई भोटे ताल्चा लगाएर चलचित्रको सिडी तथा डीभीडी, सहर–बजारका चोकचोकमा खोज्दै हिँड्ने उनी स्कुल र कलेजको मोहले भन्दा पनि सिनेमा हल र थिएटरतिर धाउने बानीले आजसम्मको कलाकारिता यात्रालाई बलियो बनाएको स्वीकार्छन्।
‘कलाकारिता क्षेत्रको हकहितका लागि काम गर्ने भनियो तर युवालाई त्यस्ता ठाउँमा कहिले लगिँदैन। बर्सेनि कलाकार तथा स्रष्टालाई राष्ट्रपतिबाट तक्मा बाँडिन्छ तर युवा कलाकार तथा स्रष्टालाई एकेडेमी तथा बोर्डमा लगिँदैन। कम योगदान भएको बिल्ला ओढ्याएर पन्छाउने गरिन्छ,’ उनी भन्छन्।
नेपाल प्रज्ञाप्रतिष्ठानमा आजीवन भत्ताविरुद्ध कवि, पत्रकार घनेन्द्र ओझाले मुद्दा नै हाल्नुपर्यो। कोही तीन–तीन पटक कुलपति बन्न कसरतमा हुने तर कसैले बाहिर बसेर ताली पिटिदिनुपर्ने। राजनीतिक नियुक्तिले सही बौद्धिक पात्रलाई प्रतिष्ठानमा पुर्याउन नसकेको बुझाइ छ, उनको।
‘आखिर योग्य मानिस कहिले पुग्ने त्यहाँ’, उनी प्रश्न गर्छन्, ‘मेरो सभा–जुलुसमा ढुंगा हानेको छस्? राजनीतिक दलको झोला बोकेको छस्? नारा भट्याएको छस्? ज्यूहजुरी गरेको छस्जस्ता प्रश्न गर्नेहरू सिफारिस समितिमा पुगेका छन्। यिनलाई सम्बन्धित विषयमा ज्ञान छैन। राजनीतिक दलकै कार्यकार्य भएको भरमा नियुक्त गरिएको छ। अनि कसरी उँभो लाग्छन् साहित्य, सर्जक?’
जीवनका अनुसार बोर्ड तथा एकेडेमीमा हुने राजनीतिक नियुक्ति स्रष्टा तथा कलाकारका पक्षमा नभएर राज्यको ढुकुटी रित्याउने काम मात्रै हो। यो वैधानिक रूपमा गरिने भ्रष्टाचार हो।
‘कार्यकर्ता भर्ती प्रणालीले कला, साहित्य र संस्कृति क्षेत्र कहिल्यै फस्ट्याउँदैन’, उनी भन्छन्, ‘कलाकार, साहित्यकार राज्यको सफ्टवेयर हुन्। राज्यलाई मार्ग देखाउने स्रष्टा कलाकारको काम हो, जसमाथि राजनीति मात्रै गर्यो राज्यले। हामीले भोट हालेर जिताएर पठाइयो। हाम्रै हित विपरीत काम गर्छन् सरकारमा पुगेपछि।’
निरन्तर अभिनय कक्षा लिँदै आएका जीवन प्राज्ञिक थलोमा राजनीति मात्रै भएको बताउँछन्। अन्तिममा उनी थोरै आशको कुरा गर्छन्। सुदन मन्त्री भएर आएपछि स्रष्टा कलाकारका लागि केही नयाँ हुन सक्ने आश जागेको उनी सुनाउँछन्। भन्छन्, ‘सुदन दाइसँग स्रष्टा कलाकारको भावना छ। पक्कै केही गर्नुहुन्छ कि भन्ने आश छ। स्रष्टालाई राजनीतिबाट बाहिर लगेर हेरे हुन्थ्यो भन्ने हो।’