आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • चार करोड लगानीमा गाउँमै पशुपालन, दूध बेचेर मासिक १५ लाख आम्दानी

चार करोड लगानीमा गाउँमै पशुपालन, दूध बेचेर मासिक १५ लाख आम्दानी

स्याङ्जाको फेदीखोला गाउँपालिका– १ मट्टिखानका विष्णुप्रसाद पोख्रेलले गाउँमै पशुपालन गर्दै आएका छन्। किराना पसल सञ्चालन गर्दै आएका उनले पुर्ख्यौली थलोमा पशुपालन सुरु गरेका हुन्।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

स्याङ्जा- स्याङ्जाको फेदीखोला गाउँपालिका– १ मट्टिखानका विष्णुप्रसाद पोख्रेलले गाउँमै पशुपालन गर्दै आएका छन्। किराना पसल सञ्चालन गर्दै आएका उनले पुर्ख्यौली थलोमा पशुपालन सुरु गरेका हुन्।

National life

उनले दुई वर्षअघि ‘जनविश्वास कृषि तथा पशु बहुउद्देश्यीय फार्म’ दर्ता गरी १० वटा भैँसीबाट व्यवसाय थालेका हुन्। बजारमा किराना पसल सञ्चालनमा रहेको भएपनि गाउँमा भएको जग्गाको सदुपयोग गर्नका लागि पशुपालनमा हात हालेको उनी बताउँछन्।

‘फेदीखोला बजारमा किराना पसल अहिले पनि छ’, उनले भने, ‘गाउँको जमिन सदुपयोगका साथै बजारमा दूधको माग अत्यधिक रहेकाले पशुपालन सुरु गरेको हुँ।’ सुरुमा गोठ बनाउने, भैँसी खरिद गर्ने, घाँस, पराल तथा दाना खरिदमै करिब रू दुई करोड लगानी लागेको उनको भनाइ छ।

फार्मबाट प्राप्त आम्दानी तथा लगानी थप गर्दै उनले गाई भैँसी खरिद गरेका हुन्। १० भैँसी पालेर व्यावसायिकतातर्फ उन्मुख भएका पोख्रेलको फार्ममा अहिले १८५ वटा गाई र भैँसी छन्। जसमध्ये एक सय दुहुना भैँसी,  ५० वटा राँगा र पाडापाडी तथा २० वटा दुहुना गाई र १५ वटा बाच्छाबाच्छी छन्।

फार्म १५ रोपनीमा फैलिएको छ। जग्गा भाडामा लिएर गाई भैँसीका लागि उनले घाँस उत्पादन गरेका छन् भने झण्डै एकसय रोपनी अरुको जग्गा भाडामा लिएर डालेघाँस, खर घाँस तथा उन्नत खालका घाँस लगाएका छन्। उनको फार्मबाट अहिले भैँसीको दूध ४०० लिटर र गाईको दूध एक सय लिटर उत्पादन हुँदै आएको छ। भैँसीको दूध फेदीखोला, मट्टिखान, सेतीदोभान, खड्केटारी, पोखरालगायतका स्थानीय बजारमै खपत हुने गरेको उनले बताए।

Laxmi sunrise bank
kumari

‘दूधको बजारका लागि कुनै समस्या छैन बरु स्थानीय बजारमा माग भएअनुसार दूध पुर्‍याउन सकिएको छैन’, उनले भने, ‘दूधको माग धान्न पनि अझै ४० वटा गाई थप्ने तयारी गरिरहेको छु।’

भैँसीको दूध स्थानीय बजारमा खपत हुने गरेको छ भने गाईको दूध पोखरा औद्योगिक क्षेत्रमा दिएको पोख्रेलको भनाइ छ। दूध बिक्रीबाट अहिले मासिक रू १५ लाख आम्दानी हुने उनको भनाइ छ। सुरुका वर्ष भएकाले गाईभैँसी खरिद, दानापानी, पराल किन्नुका साथै पूर्वाधार निर्माण गर्नुपरेकाले त्यसैमा लगानी गरेको उनले बताए। फार्ममा हाल १३ जना कार्यरत छन्।

‘यहाँ उत्पादन भएको दूध बजारमा पूरै खपत भएकाले पनि दूधबाहेक अन्य सामग्री बनाएर बिक्री गर्ने तत्काल कुनै योजना छैन’, उनले भने।

प्रकाशित: Feb 03, 2023| 23:00 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्