काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक महिनाको तलबसहित दानपेटिकामा संकलित रकम शिक्षा क्षेत्रमा खर्चिने बताएका छन्। ३ माघमा पद वहालीका क्रममा माला र खादा लिएर नआउन आफन्त तथा शुभेच्छुकलाई आग्रह गरेका उनले माला र खादाको खर्च दानपेटिका बनाएर दुर्गम क्षेत्रको शिक्षामा लगानी गर्ने घोषणा गरेका थिए।
दानपेटिका १३ माघदेखि बन्द गरिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। उनले बिदाबाहेक सात दिनमा संकलित रकम, आफ्नो एक महिनाको तलब र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर ६ लाख ४४४ रुपैयाँ शिक्षामा खर्चिने उल्लेख गरेका हुन्।
‘जनताका लागि केही राम्रो कार्य गर्ने क्रममा बधाइ दिन आउने महानुभावबाट खादा र माला लिनुको सट्टा दानपेटिकामा रकम हाल्न भन्यौं। संकलित रकम हाम्रो शैक्षिक विकासको अभियानको एक पाइलाको रुपमा दुर्गम क्षेत्रका विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिनेछ’, पर्यटनमन्त्रीले उल्लेख गरेका छन्।
पर्यटनमन्त्रीको सचिवालयका अनुसार संकलित रकम दुर्गमका विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिनेछ। विद्यालयको छनोट गरी चाँडै हस्तान्तरण गरिनेछ। उक्त प्रयोजनका लागि आवश्यक कार्यविधि बनाइने भएको छ।