काठमाडौं– काठमाडौं महानगरले आइतबारदेखि ९ वटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र विवरण संकलन गर्ने भएको छ। महानगरले पहिलो चरणमा १५ माघदेखि २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाबाट राष्ट्रिय परिचयपत्रका लागि काम सुरु गरिने बताएको हो।
सुरुमा ९ र क्रमशः ३२वटै वडाबाट उक्त सुविधा उपलब्ध गराउन महानगरले राष्ट्रिय पञ्जीकरण विभागसँग अन्तिम चरणको छलफल गरिसकेको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
निश्चित स्थानमा मात्र परिचयपत्र वितरण व्यवस्था हुँदा समयमै प्राप्त गर्न नसकेको गुनासो नागरिकबाट आएपछि महाननगरले वडा कार्यालयबाट वितरणको तयारी थालेको हो। यसअघि सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट परिचयपत्र तयार गरी प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयबाट वा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको स्थानबाट मात्रै वितरण गरिँदै आएको थियो ।
नागरिकको पहिचानलाई डिजिटल पहिचान गर्नु, जैविक पहिचानलाई एकीकृत गर्नु राष्ट्रिय परिचयपत्र बनाउनुको अवधारणा हो । सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा, सामाजिक सुरक्षा, कर प्रणाली, राहदानीजस्ता सेवा यससँग आबद्ध हुने भएकाले सेवा वितरण र व्यवस्थापनमा यसबाट सहज हुन्छ।
विवरण दिन जाँदा नेपाली नागरिकताको प्रमाणपत्रको सक्कलप्रति, नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको भए शैक्षिक योग्यताका प्रमाणपत्र, राहदानी वा यस्तै खालका मिति खुल्ने आधिकारिक प्रमाण चाहिन्छ। नागरिकताको प्रमाणपत्रमा उल्लेखितभन्दा फरक स्थायी ठेगाना भएमा बसाइँसराइ दर्ताको प्रमाणपत्र सक्कलप्रति लैजानुपर्छ। नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले उक्त परिचयपत्र लिने सक्ने व्यवस्था छ।