काठमाडौं- भारतबाट पाइलाइनको माध्यमबाट सीधै खाना पकाउने एलपी ग्यास ल्याउने सम्बधमा मन्त्रीस्तरीय सहमति भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र नेपाल आएका भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानसँग राजधानीमा भएको वार्तामा बैठकमा उक्त सहमति भएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए।
गोइतले मन्त्रीस्तरीय बैठकमा भारतदेखि सीधै पाइलाइनको माध्यमबाट खाना पकाउने एलपी ग्यास ल्याउने सम्बन्धमा प्रारम्भिक अध्ययनका लागि सहमति भएको जानकारी दिए । ‘बैठकमा ग्यास ल्याउन कुन मोडालिटीमार्फत प्रारम्भिक अध्ययन गर्ने, अध्ययनको शुरु कसरी गर्नेलगायत विविध विषयमा छलफल भएको छ,’ उनले भने, ‘छलफलको क्रममा भारत सकारात्मक देखिएको हाे ।’
निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले पाइपलाइनबाट ग्यास भित्र्याए सडकबाटभन्दा सस्तो लाग्ने बताए । सँगै ग्यास ल्याउन सहज सरल र सहज हुने उनको भनाइ छ ।
बैठकमा ५३ वटा खाना पकाउने एलपी ग्यास ढुवानी गर्न दिनेसमेत सहमति भएको प्रवक्ता गोइतले जानकारी दिए । उनका अनुसार पारादिम, मथुरा र कर्णालको तीन टर्मिनलबाट नेपाली बुलेटबाट ग्यास ल्याउन दिने सहमति भएको हो ।
त्यस्तै रुपन्देहीमा रासायनिक मल कारखाना स्थापना गर्ने, प्रकृतिक ग्यास प्रवाहका लागि सर्वेक्षण अध्ययन गर्ने सम्बन्धमा पनि भारतीय पक्षसँग छलफल भएको छ ।
अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन तथा ग्यास लाइनको मोडालिटी, पेट्रोलियम तथा ग्यास आपूर्तिसँग सम्बन्धमा समेत छलफल भएको छ ।
निमार्णधीन मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई समेत चाडो सम्पन्न गर्न जोड दिइएको थियो । साथै पेट्रोलियम र एलपीजी ग्यासको पाइपलाइन चितवनसम्मनै विस्तार गर्न सहमति भएको निगमको भनाइ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४