शुक्रबार, चैत ८, २०८१

स्टन्टमा रमाउने 'डेमगग' नेता

हाम्रो राजनीतिले मीठा गफ गर्न सिकायो तर पदिय जिम्मेवारी वहन गर्नको लागि क्षमता विकास गर्न सिकाएन। परिणाम– मन्त्रीहरु स्टन्ट गरेर सस्तो लोकप्रियताको पछि दौडिँदै आएका छन्।
 |  शुक्रबार, माघ १३, २०७९

भानु बोखिम

भानु बोखिम

शुक्रबार, माघ १३, २०७९

पदमा रहँदा सस्तो लोकप्रियताको लागि स्टन्टबाजी अधिकांश नेताहरुहरु शैली बनेको छ। यही बाटो पछ्याइरहेका छन्, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती। उनले अपनाएको शैलीले एकाध दिन चर्चा मिल्ला, तर समस्या जहिँको तहिँ रहन्छ भन्ने कुरा उनीअघिका मन्त्रीले प्रमाणित गरिसकेका छन्।  

health

विशेषगरी राजनीतिक नेतामा नेतृत्व र व्यवस्थापन क्षमता दुवैको आवश्यकता रहन्छ। कुनै पनि विचार र दर्शनले निश्चित लक्ष्य र उद्देश्य प्राप्तितिर डोर्‍याउन नेतृत्व गर्न सक्ने क्षमता चाहिन्छ। साथै कुनै पनि पदीय जिम्मेवारी निर्वाह गर्दा कार्यसम्पादनको लागि व्यवस्थापकीय सीप, ज्ञान तथा क्षमता चाहिन्छ। तर हाम्रा नेताहरु जनतासामु डेमगग र सत्तामा रहँदा एटेन्सन सिकर हुने गरेका छन्, जसको ताजा उदाहरण हुन् मन्त्री सुदन किराती। 

हाम्रा नेताहरुसँग रटेर तयार पारिएको सिद्धान्त छ, तर त्यसमा उनीहरु आफैं विश्वस्त छैनन्। अथवा भनौं कि उनीहरुले आफूले चर्चा गर्ने सिद्धान्तअनुरुपको व्यवहार विरलै प्रदर्शन गरेका छन्। कुनै पनि राजनीतिक दल र त्यसमा आवद्ध नेताहरुको उद्देश्य निर्वाचनमा विजय हासिल गर्नु र पदमा पुग्नु हो। यसको लागि उनीहरुले जनता तथा मतदातालाई दर्शन र सिद्धान्तको आधारमा मनाउने काम विरलै गर्छन्। जनताले के सुन्न खोजेको त्यहि बोल्दै हिँड्छन्।

आफूले लोकप्रियताको लागि बोल्दै हिँडेका कुरा भोलिको दिनमा विधिको शासन र सुशासन कायम गर्न चुनौति हुन्छ भन्ने कुरा ख्याल राख्दैनन्। यो कुरा नैतिकता र क्षमताको अभावमा जन्मिने समस्याहरु हुन्। राजनीतिक दलमा आवद्ध नेताहरुमा आदर्श सोच र विचारको आधारमा जनतालाई निश्चित लक्ष्य र उद्देश्यमा डोर्‍याउने क्षमता चाहिन्छ। जता मल्कु, उतै ढल्कु प्रवृत्तिले नेताहरुको नेतृत्व क्षमता विकास भएको छैन। परिणाम– उनीहरु निश्चित गुट तथा झुन्डको नाइके हुन पुगेका छन्। 

जिम्मेवारी वहन गर्न नेतृत्व क्षमतासँगै व्यवस्थापनको सीप पनि चाहिन्छ। सही व्यवस्थापनले कुनै पनि संस्था वा निकायको योजना तथा कामहरु प्रभावकारी रुपमा कार्यान्वयन हुन्छन्। तर व्यवस्थापन लोकप्रियताको लागि गरिने बजार हल्ला हैन। यो भएको स्रोतको परिचालन गर्ने ज्ञान र मानव संशाधनलाई प्रोत्साहन गर्ने सीप हो। आजको दिनमा कुनै पनि स्थानको छड्के जाँच तथा धम्कीको भाषा व्यवस्थापनको तरिका हैनन्। मन्त्रीको छड्के जाँचले परिवर्तन आउँथ्यो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग यात्रुको गुनासो रहँदैनथ्यो। मन्त्री सुदन किरातीले पनि विमानस्थलको अनुगमन गरिसकेका छन्। विमानस्थलको अनुगमन सम्बन्धित मन्त्रीको नियमित शैली होला। उनले गरेको अनुगमन र दिएको निर्देशनले विमानस्थलमा सुधार आउने कुरामा विश्वास गर्न सकिँदैन। यदि मन्त्रीको अनुगमन र निर्देशनले परिवर्तन आउँथ्यो भने सुदन किरातीको छड्के जाँच जरुरी थिएन। उनीअघिका मन्त्रीले गरेका छड्के जाँच नै पर्याप्त हुन्थ्यो। 

हाम्रो राजनीतिले मीठा गफ गर्न सिकायो तर पदिय जिम्मेवारी वहन गर्नको लागि क्षमता विकास गर्न सिकाएन। परिणाम– मन्त्रीहरु स्टन्ट गरेर सस्तो लोकप्रियताको पछि दौडिँदै आएका छन्। 

नेपाल वायुसेवा निगममाथि कर्मचारीमाथि कडा अभिव्यक्ति दिएपछि मन्त्री किराती मिडियामा छाएका छन्। एकथरी मिडिया र पत्रकारलाई यस्तै मन्त्री चाहिएको छ, जसको अभिव्यक्तिले निराश दर्शकलाई केही गर्छ भन्ने भ्रम सिर्जना गर्छ। तर कुनै पनि काम संस्थाको मानव संशाधनलाई चिढ्याएर वा धम्क्याएर हुँदैन। उनीहरुलाई प्रोत्साहन गर्नुपर्छ। निश्चय नै हाम्रो कर्मचारीतन्त्र आफ्नो काम र जिम्मेवारीप्रति उदासिन छन्। तर उनीहरुको उदासिनतामा राजनीतिक दलको गतिविधि पनि कम जिम्मेवार छैन। तसर्थ कुनै पनि मन्त्रीले केही समयको लागि मन्त्री हुँदा कडा अभिव्यक्ति दिने हैन, निरन्तर राजनीतिको रंग परिर्वतन गर्ने प्रयास गर्नुपर्छ। जुन राजनीतिले भोलिको दिनमा कर्मचारीलाई कर्ममा विश्वास गर्ने बनाओस्, गुलामी र जिहजुरीमा हैन।

अर्काे पक्ष भनेको नेतृत्वले आफू मातहतकालाई कामको लागि थर्काउने हैन, प्रोत्साहन गर्ने हो। वर्षाैंदेखि काम गरिरहेका कर्मचारीमा अनुभव र ज्ञानको कमी हुँदैन। कामप्रति उदासिन हुनुमा कहीँ न कहीँ राजनीति जोडिन्छ। यस्तोमा राजनीतिक नेतृत्वलाई उनीहरुको सहजताको लागि हौसला दिने हो। मन्त्रीले ठूलो कुरा गर्दै गर्दा स्थायी रुपमा नियुक्त भएका कर्मचारीले मन्त्री दुई दिनको पाहुना हो भनेर राम्ररी बुझेका हुन्छन्। मन्त्रीले काम गर्न प्रोत्साहन र हौसला नै उपयुक्त विधि हो भन्ने कुरा गगन थापाले प्रमाणित गरेका छन्। स्वास्थ्य मन्त्रालयमा आएका मध्ये राम्रो छाप छोड्ने मन्त्रीमा पर्छन् गगन। उनले गरेका कति निर्णय तथा ल्याएका योजनाबाट जनता निरन्तर लाभान्वित छन्।

नेवानिका कर्मचारीसँग मन्त्री सुदन किराती
उनले कहिले पनि कर्मचारीलाई धम्क्याएको सुनिएन। तर स्वास्थ्य मन्त्री हुँदा राजेन्द्र महतोले वीर अस्पतालमा पुगेर चिकित्सकलाई राजनीति नगर्न चुनौति दिएका थिए। राजनीति गर्ने हो भने राजीनामा दिएर पूरै राजनीति गर्न भनेका थिए। उनको यो धम्कीले मिडियामा चर्चा पायो तर स्वास्थ्य मन्त्रीको रुपमा कनै छाप छोड्ने काम भने गर्न सकेनन्। तसर्थ मन्त्रीले नीतिगत सहजताको लागि भूमिका खेल्ने हो। कार्यसम्पादनको लागि आउने अवरोध समाधन गर्न भूमिका खेल्ने हो। एउटा मन्त्रीले १२ बजे रातिसम्म बसेर कुनै एक निकायको काम हेर्छु भन्नु हास्यास्पद मात्र हैन।

यो भएको खण्डमा असक्षमताको पराकाष्ठा  हो। कतिलाई लाग्न सक्छ कि अबेरसम्म मन्त्रीले काम गर्न खोज्यो। तर कार्यालय समयभन्दा बाहिर काम गरेर परिणाम आउँछ भन्नु आत्मरति मात्र हो। अझ व्यवस्थापकीय क्षमताका हिसाबले असक्षमता हो। तोकिएको समयभित्र काम गर्न नसक्नु मिहिनेत हैन, व्यवस्थापकीय र कार्यसम्पादनको कमी हो। यो कुरा जबसम्म पदमा आसिन नेता तथा कर्मचारीले बुझ्दैनन्, तबसम्म कुनै पनि मन्त्रालय, विभाग वा शाखाको काम प्रभावकारी हुँदैन। 

हाम्रा नेताहरुलाई केही गरौं भन्ने त होला। मान्छे भएपछि जोकोही केही गरौं भन्ने चाहन्छ तर केही गर्नको लागि चाहेर मात्र हुँदैन, आवश्यक ज्ञान, सीप र क्षमता चाहिन्छ। हाम्रो राजनीतिले मीठा गफ गर्न सिकायो तर पदिय जिम्मेवारी वहन गर्नको लागि क्षमता विकास गर्न सिकाएन। परिणाम– मन्त्रीहरु स्टन्ट गरेर सस्तो लोकप्रियताको पछि दौडिँदै आएका छन्।

प्रकाशित: Jan 27, 2023| 08:17 शुक्रबार, माघ १३, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...