काठमाडौं– नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि मंगलबार युवा उद्यमी प्रेम आचार्यले आत्मदाह प्रयास गरे। बुधबार बिहान उनको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भयो।
इलाम घर भएका ३६ वर्षीय आचार्यले आफूले गरेको कर्मबाट केही उपलब्धि हात पार्न नसकेको, देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, रोजगारीका लागि विदेश जाँदा धेरै समस्या भोगेको भन्दै निराशा व्यक्त गरेका थिए। नयाँ सरकारका केही प्रतिनिधिलाई सम्बोधन नै गरेर उनले फेसबुकमा नोट लेखेका थिए। नोटमा भाटभटेनी, बिगमार्ट, उपेन्द्र महतो र डा. समता नेपालको ग्रामो उद्योगलगायतले आफूलाई ठगेको र त्यहाँबाट लुटिएको आक्षेप लगाएका छन्। चारैतिरबाट असफल भएपछि आत्महत्या रोजेको उनले बताएका छन्।
आचार्यले आफूले ३६ वर्ष पूरा गरिसक्दा पनि गरिएका कर्मबाट केही उपलब्धि हात पार्न नसकेको, देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, रोजगारीका लागि विदेश जाँदा धेरै समस्या भोगेको भन्दै निराशा व्यक्त गरेका छन्। उनले आफ्नो आत्मवृत्तान्त र असफलताको कथा लेखेको भन्दै नागरिकसँग जोडिएका विभिन्न सवालबारे ६ हजार ५ सय शब्दको बयान लेखेर सम्बन्धित पक्षको ध्यानाकर्षणसमेत गराएका छन्।
धेरै हण्डर खाँदाखाँदै मन सम्हाल्न नसकेको, आर्थिक भार थाम्न नसकेर तिहारअघि सुसाइड नोट लेखी भारतको गुहाटी ब्रम्हपुत्र नदीमा फाल हान्ने जमर्को गरेको उनको भनाइ छ।
प्रेम आत्मदाह घटनाले यस्तै प्रकृतिको इतिहासको एउटा यस्तो आत्मदाहको घटना सम्झाउँछ, जसले अरब विद्रोह सुरु भएको थियो। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रेम आचार्यले गरेको आत्मदाहलाई अरब विद्रोह सुरु भएको मोहम्मद बौउजीजीसँग तुलना गरेका छन्। आचार्यको मृत्युलाई बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै नेपालमा पनि क्रान्ति ल्याउने हो कि भन्ने चिन्ता व्यक्त उनले गरेका छन्।
यस्तो थियो घटना
२६ वर्षीय बौउजीजी सडक व्यापारी थिए। पिताको देहान्तपछि परिवारका आठ सदस्यको जिम्मेवारी उनको काँधमा आएको थियो। त्यहाँको सरकारले सडक व्यापारीलाई दमन गर्दै आएको थियो। त्यस्तै भयो सन् २०११ दिसेम्बर १७ मा। बौउजीजी बिहान १० बजे आफ्नो फलफूलको ठेला लिएर व्यापार गर्न हिँडे, उनीसँग लाइसेन्स थिएन। तर प्रहरीले लगत्तै दमन सुरु गर्यो। ३६ वर्षीय प्रहरी अधिकारी फादिया हमदीले उनको ठेला अवरुद्ध गरे, फलफूलको कार्टुन प्रहरीको भ्यानमा राखे।
त्यसपछि पुन: फलफूल जफत गर्न ती अधिकारी ठेलामा आए। बौउजीजीले त्यसको प्रतिकार गरे। प्रहरी अधिकारीले बौउजीजीलाई खुला सडकमै धक्का मारेर भुइँमा पछारी कुटे। उक्त घटनाबाट अपमानित बौउजीजी प्रहरी प्रशासनमा धाए, सहयोगका लागि हात जोडे। तर उनको पुकार कसैले सुनेन। 'जे भयो बिर्सिदेउ, घर जाउ'को जवाफ पाएपछि उनले उक्त अन्याय र भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने बताए। उनले उक्त घटनाको विरोध गर्दै आत्मदाह गर्ने घोषणा गरे।
दिउँसो ११ बजेर ३० मिनेटमा उनले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरे। घटनाको भिडियो भाइरल भयो। स्थानीय हुँदै राष्ट्रिय रुपमा राज्यविरुद्ध आन्दोलन आरम्भ भयो। आन्दोलन चर्किएपछि राष्ट्रपति बेन अलीले २८ डिसेम्बरमा अस्पताल पुगेर बौउजीजीको परिवारलाई सान्त्वना दिए, तरपनि आन्दोलन रोकिएन। ४ जनवरीमा बौउजीजीको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो। ५ हजारभन्दा बढी स्थानीय सडकमा उत्रिए र आन्दोलन सुरु गरे। आन्दोलन दबाउन बल प्रयोग गर्दै त्यहाँको सरकारले इन्टरनेट र फोन नेटवर्क पनि अवरुद्ध गर्यो।
राजनीतिक आन्दोलनले २३ वर्षदेखि निरंकुश सत्ता चलाउँदै आएका राष्ट्रपति जिन अल अविदिन बिनलाई सत्ताच्यूत गर्यो। उनी ज्यान जोगाउन भागेर अरब पुगे। ट्युनिसियाको राजनीतिक आन्दोलनको प्रभाव इजिप्टमा पनि पर्यो, निरन्तर १८ दिनसम्म आन्दोलन भएपछि त्यहाँ पनि ३२ वर्षदेखि शासन गर्दै आएका राष्ट्रपति होस्नी मुबारक सत्ताच्यूत भए।
उक्त आन्दोलनको आगो फैलिँदै लिबिया पुग्यो। ३२ वर्षदेखि एकलौटी शासन चलाउँदै आएका कर्णेल गद्दाफीलाई पनि त्यहाँका जनताले घुँडा टेकाए। त्यहाँको आन्दोलन करिब ९ महिना चलेको थियो भने ३० हजारभन्दा बढीले ज्यान गुमाएका थिए। आन्दोलन यमनमा पनि फैलियो र अली अब्दुल्लाह भागेर अमेरिका पुगे।
ट्युनिसियाबाट फैलिएको आन्दोलन बहराइन, सिरिया, अल्जेरिया, इराक, सुडान, कुवेत, मोरक्को, इजरायल, ओमान, साउदी अरबलगायत देशहरुसम्म फैलिएको थियो भने धेरै देशमा सरकारको नेतृत्व गरिरहेका शासक सत्ताच्यूत भएका थिए। इरान र सिरियाबाहेक अन्य देशमा अरब आन्दोलनले सफलता हासिल गर्दै अरब क्षेत्रमा ठूलो राजनीतिक परिवर्तन भएको थियो।