काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतका आयोग, विभाग र कार्यालयहरूको ब्रिफिङ लिएका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले आफू मातहतका कार्यालयको ब्रिफिङ लिएका हुन्।
ब्रिफिङमा राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी, राष्ट्रिय सतर्कता केन्द्रका सचिव रवीन्द्रनाथ श्रेष्ठ, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटी, लगानी बोर्डका कार्यकारी अधिकृत सुशील भट्ट, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, राजस्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहाल, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारीले आ–आफ्नो कार्यालयबारे प्रधानमन्त्रीलाई जानकारी गराए।
ब्रिफिङमा कार्यालय प्रमुखले आफू मातहतका कार्यालयको नीतिगत कार्यादेश, प्रगति अवस्था, गरिएका पहल, कार्यालयका समस्या र आगामी दिनमा चाल्नुपर्ने कदमबारे सुझाव प्रस्तुत गरे। प्रचण्डले बिहीबार बाँकी कार्यालय प्रमुखको ब्रिफिङ सुनिसकेपछि निर्देशनात्मक मन्तव्य राख्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।