बुधबार, असोज २८, २०८३

पर्सा निकुञ्‍जमा धमाधम रिसोर्ट खुल्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगंज- जंगल सफारीको लागि प्रदेश २ मै सबैभन्दा आकर्षक गन्तव्य पर्सा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकलाई लक्षित गर्दै होटल व्यवसायमा धमाधम लगानी भित्रिंदैछ ।

अमलेखगंजस्थित आयल निगमको डिपोबाट पश्चिमतर्फ अवस्थित निकुञ्जको हात्तिसार घुम्न आउने पर्यटकलाई लक्षित गर्दै ४ तारे रिसोर्टसहित कूल २५ करोड रुपैयाँभन्दा बढीको लगानीमा होटल व्यवसायीले चारवटा रिसोर्ट संचालनमा ल्याउँदैछन्।

वन्जजन्तु आरक्षबाट २०७४ वैशाखदेखि निकुञ्जमा परिणत भएको यो क्षेत्रलाई जंगल सफारीको गन्तव्य बनाउन निजी क्षेत्रले चासो देखाउँदै रिसोर्टमा लगानी थालेको हो। अहिले हात्ति शयरको लागी यो आकर्षक गन्तव्य बनेको छ । निजगढको होटल तारा इनले पर्यटकलाई जीप सफारी सेवा समेत प्रदान गरिरहेको छ।
 
सिमरामा चार तारे होटल इच्छा संचालन गरिरहेका पर्यटन व्यवसायी इच्छाबहादुर वाग्लेले अमलेखगंज हात्तिसारमा १५ करोड रुपैयाँभन्दा बढीको लगानीमा चार तारे स्तरको रिसोर्ट निर्माण थालेका छन्। १० कठ्ठा क्षेत्रफलमा फैलिएको रिसोर्टमा ३० वटा कोठा, स्वीमिङ्गपुल, पार्टी हल,रेष्टुरेन्ट सहितको सुविधा हुने वाग्लेले जानकारी दिए । एक वर्षभित्रै रिसोर्ट संचालनमा ल्याउने उनको योजना छ।


हेटौंडामा क्वीक ट्वान्टी पार्टी प्यालेस संचालन गरिरहेका व्यवसायीको अगुवाईमा अमलेखगंजमै पूर्व पश्चिम राजमार्ग छेउ ५ करोड रुपैयाँ लगानीमा रिसोर्ट निर्माणाधीन छ। निगमको डिप्पोबाट दुई किलोमिटर उत्तरतर्फ १० कठ्ठा क्षेत्रफलमा निर्माणाधीन क्वीक ट्वान्टी रिभर साइड रिसोर्टमा वातानुकुलित २८ वटा कोठा तयार पारिदैंछ ।
आगामी वैशाखबाट होटल संचालनमा ल्याउने लक्ष्य छ, संचालक नरोत्तम आचार्यले नेपाल समयसँग भने,स्वीमिङ्ग पुल, पार्टी हल, रेष्टुरेन्ट बारसहितको सुविधा दिनेछौं। 

हात्तिसारमै एलिफ्यान्ट भिलेज रिसोर्ट संचालन गरिरहेका होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माको ५ करोड रुपैयाँ थप लगानीसहित रिसोर्टको स्तरोन्नती गर्ने योजना छ । डेढ करोड रुपैयाँ लगानीमा ८ कोठासहित गत जेठबाट रिसोर्ट संचालनमा ल्याएका उनले पर्यटकको चापलाई मध्यनजर गर्दै स्तरोन्नती गर्न थालेका हुन् । रिसोर्टले दशैंबाट जीप सफारी सेवा पनि शुरु गर्ने भएको छ।

महेन्द्र राजमार्गको अमलेखगंजस्थित नेपाल आयल निगमको डिप्पो नजिकै रहेको निकुञ्जको हात्तिसार प्रवेशद्वारमा संचालनमा रहेका पुराना दुई रिसोर्टले लगानी थप्दैछन्। प्याराडाइज कटेजका संचालक हिरा मानन्धरले डेढ करोड रुपैयाँको लगानीमा ४ वटा वातानुकुलित कोठा र ८० जना अटाउने क्षमताको कन्फ्रेन्स हल निर्माण गरिरहेका छन्। 


व्यवसायी मुन्नाकाजी मगरले झण्डै ४ करोड रुपैयाँ लगानीमा ७ कठ्ठा क्षेत्रफलमा वातानुकुलित ४ वटा कोठा थपेर कामिनी रिसोर्टको बिस्तार गरेका छन्। 
वनजंगल र चुरे भावरले घेरिएको हराभर क्षेत्र भारतीय पर्यटकको लागी ज्यादै आकर्षणको केन्द्र हो,अध्यक्ष शर्माले भने,शहरको भीडभाडबाट टाढा गर्मी छल्न, शयर गर्नको लागी यो निक्कै उपयुक्त छ।

पदयात्रा पनि शुरु हुँदै 


पर्सा राष्ट्रिय निकुञ्जले पर्यटन प्रवद्र्धनको लागी निकट भविष्यमै पदयात्रा समेत शुरु गर्ने भएको छ । निकुञ्ज प्रमुख हरिभद्र आचार्यले हात्तिसारदेखि चुरे पहाडसम्म करिब ५ किलोमिटर लामो पदयात्रा मार्ग बिस्तार गर्ने योजना रहेको जानकारी दिए।
 
उनले प्रवेशद्वार,पर्यटक सूचना केन्द्र निर्माण, हात्तिसारको स्तरोन्नतीको लागी समेत पहल भइरहेको बताए। आधाभार, अमलेखगंजको हात्तिसार, मकवानपुरको प्रतापपुर, निजगढ द्रूतमार्गसँग सीमा जोडिएको लालरतनपुरी र पर्साको स्वर्णपुरमा निकुञ्ज प्रवेशद्वार निर्माण गरिने भएको हो। 

पर्यटनसँग सम्बन्धित जनशक्ति उत्पादनको लागी होटल संघ बारासँगको सहकार्यमा २५ जना स्थानीयलाई पर्या पर्यटन सम्बन्धी तालिम समेत प्रदान गरिएको छ।

राजधानी र भारतीय सीमाबाट सुगम

पर्सा राष्ट्रिय निकुञ्ज भारतको सीमावर्ती शहर रक्सौलबाट ३८ किलोमिटर अर्थात् डेढ घण्टा दूरीमा अवस्थित छ । राजधानी काठमाण्डौंको बल्खुबाट ९८ किलोमिटर अर्थात् करिब ४ घण्टाको सडक यात्राबाट यहाँ पुग्न सकिन्छ।


प्रदेश ३ को राजधानी हेटौंडाबाट २० किलोमिटर दूरीमै भएकोले हेटौंडासम्म काम विशेषले पुग्ने जोकोहीले अमलेखगंजसम्मको यात्रा तय गरेर छोटो समयमै हात्ति शयरको आनन्द लिन सक्छन्। 

 सुगम ठाउँमा अवस्थित भएपनि पर्या पर्यटनको लागी भर्जिन छ, पर्सा वन्यजन्तु निकुञ्ज । चितवनको सौराहामा पर्यटकको भीडभाडको विपरित यो निकुञ्ज शान्त र मनोरम छ। 

उत्तरपश्चिममा चितवन राष्ट्रिय निकुञ्जको सिमासम्म, उत्तरमा मकवानपुर,पूर्वमा बारा, दक्षिणमा पर्सासँग जोडिएको यो निकुञ्ज चुरे र महाभारत पर्वतबीच कूल ६ सय २७ वर्ग किलोमिटरमा फैलिएको छ। यो क्षेत्र समुद्री सतहदेखि ४३५ देखि ९५० मिटर उचाईमा अवस्थित छ। 

यो निकुञ्ज जंगली हात्तिको मुख्य बासस्थान हो। हालै गरिएको बाघ गणनामा यहाँ १९ वटा पाटे बाघ रहेको अनुमान गरिएको छ । चितुवा,गौरी गाई, चित्तल, हरिण, निल गाई,विभिन्न प्रजातीको चरा यहाँ प्रशस्त देख्न पाइन्छ।

ऐतिहासिक कामिनी दह, हिन्दूहरुको आस्था केन्द्र रामभौरी भाठा, दुग्धेश्वर महादेव मन्दिर, सुवर्णपुरको होमस्टे यहाँको थप आकर्षण हो। सौराहाको तुलनामा निक्कै कम बजेटमै यहाँ घुमघाम गर्न सकिन्छ। एक हजार देखि ३ हजार रुपैयाँसम्ममा वातानुकुलित कोठा, ३ सय ५० रुपैयाँमा स्वादिलो खाना र १ सय रुपैयाँमा खाजा उपलब्ध छ। ७ सय रुपैयाँमा १ घण्टाको हात्ति सफारी। 

तस्बिर सौजन्य: पर्सा राष्ट्रिय निकुञ्‍जको  फेसबुक पेजबाट
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्