सोमबार, जेठ ४, २०८३

तेब्बर बढ्यो कोरिया रोजगारीमा जाने नेपालीको माग

यसअघि कम्बोडियाबाट बढी श्रमिक लिँदै आएकामा यो वर्ष नेपालीको कोटा बढाएसँगै मासिक २ हजार युवा कोरिया रोजगारीमा जाँदै।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

काठमाडौं– नेपालीका लागि रोजगारको भरपर्दो गन्तव्य रहेको दक्षिण कोरियामा नेपाली श्रमिकको माग तेब्बर बढेको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले बताएको छ।

National life

कोरियाले नेपालसहितका विभिन्न १६ मुलुकबाट ईपीएसमार्फत श्रमिक लैजाने गरेको छ। नेपाली कामदार विश्वासयोग्य भएपछि कोरियाको साना तथा मझौला उद्योगमा माग बढेको हो। 

कोरियाले नेपालमा रोस्टर प्रणाली (योग्य श्रमिक सूची)मा छनोट भएका नेपालीलाई कामका लागि लैजाने गरेको छ। 

पछिल्लो पटक कोरियामा श्रमिक आपूर्ति गर्ने १६ देशमध्ये सबैभन्दा धेरै नेपाली श्रमिक पहिलो छनोटमा परेको वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले बताए। यसअघि कोरियाले कम्बोडियाबाट बढी श्रमिक लिँदै आएकामा यो वर्ष नेपाली श्रमिकको कोटा बढाएको उनको भनाइ छ।

कोरियाले आगामी वर्षका लागि नेपाललगायत विभिन्न १६ राष्ट्रबाट १ लाख बढी श्रमिक आफ्नो देशमा लैजाने योजना बनाएको छ। यसमध्ये नेपालबाट ३५ देखि ४० प्रतिशत श्रमिक लैजाने ईपीएस शाखाको अनुमान छ। ईपीएसमार्फत मासिक २ हजार नेपाली श्रमिक पठाउने तयारी भइरहेको कटुवालले जानकारी दिए। 

कोरियाले सन् २०२३ देखि देशगत रूपमा कोटा निर्धारण नगरी छिटो श्रमिक पठाउने देशबाट धेरै श्रमिक लैजान थालेपछि नेपालबाट मासिक २ हजार हाराहारी श्रमिक माग भएको छ भने ईपीएसअन्तर्गत उत्पादनमूलक क्षेत्रको संख्यासमेत दोब्बर थपेको छ। 

कोरोना महाव्याधीका कारण २ वर्ष रोकिएको कोरिया रोजगारीको विगत १५ महिने तथ्यांक केलाउँदा मासिक औसत १ हजार रोजगारीका लागि त्यहाँ गएका छन्। कोरोनाअघि वार्षिक ७ हजार हाराहारी नेपाली युवा कोरिया जाने गरेकामा हाल वर्ष दिनमै १२ हजार रोजगारीमा गएका छन्। 

नेपालबाट सन् २०१७ मा ७ हजार ८००, सन् २०१८ मा ८ हजार ५११ र सन् २०१९ मा ७ हजार १३६ श्रमिक कोरिया गएको वैदेशिक विभागको तथ्यांकमा उल्लेख छ। विभागले गत आव २०७८/७९ को प्रगति प्रतिवेदन सर्वजनिक गर्दै नेपाली श्रमिकको आकर्षक रोजगार गन्तव्य कोरिया हुन पुगेको बताएको छ।


प्रकाशित: Jan 25, 2023| 12:51 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्