शनिबार, वैशाख १५, २०८१

निर्मला-नकुन्नी हत्या प्रकरण: किन भएन अनुसन्धान?

अधिकारकर्मीहरूले अनुसन्धान नै नभएको आरोप लगाए पनि प्रहरीले भने अनुसन्धान निरन्तर अघि बढिरहेको दाबी गरेको छ। गृहमन्त्री रवि लामिछानेले धर्नामा बसेकी रुबी खानसहित अभियन्ताहरूलाई भेटेर कुर्मी र धोबीको हत्यारा पत्ता लगाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
 |  सोमबार, माघ ९, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

सोमबार, माघ ९, २०७९

काठमाडौं- रुबी खानसहित १४ जना महिलाले २०७८ असोज १ गते नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा गरे। २० दिन लगाएर काठमाडौं आइपुगेका उनीहरूले निर्मला कुर्मी र नकुन्नी धोबीको न्यायका लागि माइतीघरमा धर्ना दिए। सरकारले आश्वासन दियो, तर सहमतिअनुसार अनुसन्धान अघि बढेन।

triton college

त्यसको दुई महिनापछि पुन: काठमाडौं आई उनीहरूले निरन्तर ४२ दिनसम्म निरन्तर धर्नामा बसेपछि सरकारले छानबिन समिति बनायो। पूर्व संविधानसभा सदस्य बादशाह कुर्मीको भूमिका शंकास्पद रहेको निष्कर्ष निकाल्दै उक्त समितिले अनुसन्धानका लागि सिफारिस गर्‍यो। रुबीहरू न्यायका लागि पहिलोपटक काठमाडौं आएको करिब डेढ वर्ष भइसकेको छ, तर प्रहरीले अझै दोषीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन सकेको छैन। अघिल्लो वर्ष पुसमा दोस्रोपटक काठमाडौं आएका उनीहरू २६ दिनयता तेस्रोपटक माइतीघरमा निरन्तर धर्नामा छन्।

रुबीका अनुसार दाइजोको निहुँमा यातना दिएर नकुन्नी धोबीको हत्या उनकै श्रीमानको परिवारले गरेको हो। अघिल्लो वर्ष साउन ५ मा नकुन्नी आफ्नै घरभित्र मृत फेला परेकी थिइन्। कुटपिट गरेर चरम यातना दिएपछि झुन्ड्याइएको उनको दाबी छ। तर, उक्त हत्याको विषयलाई आत्महत्या गरेको जसरी बाँके प्रहरीले हल्का रुपमा लिएको उनको भनाइ छ।

नकुन्नीका भाइ माताप्रसाद धोबीका अनुसार विवाहको झन्डै सात वर्ष भएपछि पनि दिदीभिनाजुको सन्तान भएको थिएन। नकुन्नी रामकुमारकी तेस्रो श्रीमती हुन्। पहिलोबाट छोरी भए पनि दोस्रो र तेस्रो श्रीमतीबाट सन्तान भएको थिएन। ‘सन्तान नभएपछि भिनाजुले दाइको छोरालाई गोद लिन खोजेका थिए तर दिदी त्यो पक्षमा थिइनन्,’ माताप्रसादले भने, ‘सौताको छोरीले पनि आफूहरूलाई पालिहाल्छ भनेर दिदीले गोद लिन मानेकी थिइनन्।’ यही विषयमा नकुन्नी र रामकुमारबीच पटक पटक झगडा पर्ने गरेको स्थानीय राहुल सेफ बताउँछन्।

‘पछिल्लो समय दाइजोको विषयलाई लिएर पनि रामकुमारले नकुन्नीमाथि कुटपिट गर्ने गरेका थिए। अन्तिममा मारिछाड्यो,’ उनले भने। नन्कुन्नीले आत्महत्या गरेको भनेर रामकुमार र उनको परिवारले दाबी गरे पनि यो हत्या नै भएको स्थानीय राहुल बताउँछन्। ‘डोरीमा झुन्डिएर आत्महत्या गरेको मान्छेको शरीरमा चोट कसरी लाग्यो? मुख र कानबाट रगत कसरी आयो? झुन्डिनका लागि डोरीमा चढ्न केहि साधन चाहिने हो, तर त्यस्तो केहि देखिँनैन। अब तपाईं नै भन्नुहोस्– यो कसरी आत्महत्या भयो?’ उनले भने। यस्तो संवेदनशील विषयमा स्थानीय प्रहरीले अनुसन्धान नगरेकै कारण आफूहरु बाध्य भएर २० दिन पैदल हिँडेर काठमाडौँ आउनुपरेको उनले बताए।

corrent noodles
Metro Mart

महिला अधिकारकर्मी रुबीका अनुसार घटनाको एक महिनाअघि असार ५ मा नकुन्नीले आफूमाथि हिंसा भएको भन्दै स्थानीय महिला अधिकार मञ्चमा निवेदन दिएकी थिइन्। संस्थाले त्यसबारे बेलभार प्रहरी चौकी र जोगगाउँ प्रहरी चौकीमा जानकारी गराएको थियो। उनले भनिन्, ‘तर प्रहरीले समयमै यसबारे गम्भीरता देखाएन।’ प्रहरीले चासो नदेखाएको अर्को महिनामै नकुन्नी मृत अवस्थामा भेटिइन्। महिला अधिकारकर्मी र स्थानीयले जिल्ला प्रहरी कार्यालय बाँकेमा घटनाको छानबिन गर्न १९ दिन धर्ना दिए, तर सुनुवाइ भएन।

अधिकारकर्मीले उठाएको अर्को घटना हो- बाँके परस्पुर १७ की निर्मला कुर्मी हत्या प्रकरण। २०६२ मा निर्मलाको श्रीमान महालु कुर्मीको मृत्यु भएको थियो। १६ वर्षका रामसागर र १८ वर्षका सुरेश गरी उनका २ छोरा थिए। तर २०६६ मंसिरमा करिब १० दिनको अन्तरमा निर्मलाले ती दुवै छोरा पनि गुमाइन्। कुनै रोग र बिरामबिना उनका दुई छोराको रहस्यमय तरिकाले मृत्यु भएको रुबी बताउँछिन्। त्यसको २ महिनापछि माघ १८ मा कुर्मी पहिलोपटक छिमेकी बादशाह कुर्मीले आफूमाथि हिंसा गरेको भन्दै महिला अधिकार मञ्च बाँकेको कार्यालय पुगेकी थिइन्। रुबी आवद्ध उक्त संस्थाले न्यायको लडाइँमा साथ दिने आश्वासन दियो। तर त्यसको २ दिनपछि २० माघमा कुर्मीलाई बादशाह कुर्मीलगायतले लतारेर, घिसारेर कुटपिट गर्दै लगिएको रुबीले बताइन्। उक्त घटनाको भिडियो समेत अघिल्लो वर्ष सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

अधिकारकर्मीहरूले अनुसन्धान नै नभएको आरोप लगाए पनि प्रहरीले भने अनुसन्धान निरन्तर अघि बढिरहेको दाबी गरेको छ। गृहमन्त्री रवि लामिछानेले धर्नामा बसेकी रुबी खानसहित अभियन्ताहरूलाई भेटेर कुर्मी र धोबीको हत्यारा पत्ता लगाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

हिंसाको कारण निर्मलासँग भएको करोडौं मूल्य जग्गा रहेको रुबी बताउँछिन्। निर्मलाका श्रीमानको ५ बिघा जमिन थियो। श्रीमानको मृत्युपछि नाबालग छोरासहित नामसारी भई निर्मलाको नाममा उक्त जग्गा आएको थियो। रहस्यमय ढंगले निर्मलाका छोराहरूको मृत्यु भएपछि उक्त जग्गाको लालपुर्जा, नागरिकता र नाता कायमसम्बन्धी कागजपत्र बादशाह कुर्मीले नियन्त्रणमा लिएका थिए। श्रीमान् र छोराको मृत्युपछि जग्गा पनि बादशाहले खोसिदिएपछि निर्मला न्यायका लागि प्रहरी प्रशासन धाउन थालेकी थिइन्, जसकारण बादशाहले निरन्तर निर्मलामाथि हिंसा गरेको स्थानीयले बताउँदै आएका छन्। हालको बजार भाउअनुसार पाँच करोडभन्दा बढी पर्ने उक्त जग्गा बादशाहले नियन्त्रणमा लिएपछि जग्गा व्यवसायी रमेश थापाकी श्रीमती  रत्ना थापाको नाममा पास भएको थियो। बाँकी २ कट्ठा छिमेकी निजामुद्दिन दर्जी र उनकी श्रीमती जुबेदा दर्जीको नाममा पास भएको देखिएको अनुसन्धानमा संलग्न एक प्रहरीले बताएका छन्।

हिंसा नरोकिएपछि अधिकारकर्मीको सहयोगमा कुर्मीले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी दिएको तर ती निकायबाट कुनै सहयोग प्राप्त नभएको रुबीको आरोप छ।  त्यसयता कुर्मी निरन्तर न्यायका लागि प्रशासन र प्रहरीकहाँ पुगिरहिन् तर न्याय पाइनन्, उनीमाथि हिंसा पनि रोकिएन। १० माघ २०७५ मा उनी एकाएक बेपत्ता भइन्। अघिल्लो वर्ष उनको मृत्यु भइसकेको तस्बिर सार्वजनिक भएको थियो। कुर्मीलाई बाँके, बर्दिया, कैलाली र भारतमा लगेर बन्धक बनाई हत्या गरिएको आरोप अधिकारकर्मीको भनाइ छ।

निर्मलाको परिवारले अघिल्लो वर्ष मंसिरमा स्थानीय प्रहरीमा किटानी जाहेरी दिएको थियो। तर प्रहरीले चासो नदेखाएपछि रुबीसहित अधिकारकर्मीहरू ९ दिन हिँडेर प्रदेश राजधानी बुटवल पुगी तत्कालीन मुख्यमन्त्री कुलप्रसाद केसीलाई भेटेका थिए। केसीले सहयोग गर्ने आश्वासन दिए पनि अनुसन्धान नभएको गुनासो अधिकारकर्मीको छ। कतैबाट न्याय नपाएपछि उनीहरू अघिल्लो वर्ष  २० दिन हिँडेर सिंहदरबारको ढोका ढक्ढक्याउन आएका थिए।

किन भएन अनुसन्धान ?
अघिल्लो वर्ष बनेको सरकारी छानबिन समितिले बादशाह कुर्मीसहित ८ जनामाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो। प्रहरीले सिफारिसअनुरुप अनुसन्धान गरेको दाबी गरे पनि अहिलेसम्म न समितिको प्रतिवेदन सार्वजनिक भएको छ न बादशाहसहित अभियुक्तलाई पक्राउ गरी मुद्दा अघि बढाइएको छ।

सरकारी छानबिन समितिको प्रतिवेदनअनुसार बादशाह कुर्मी, मेस थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, कुँवर बबनसिंह ठकुरी, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेले जाहेरी दर्ता गरेको थियो। जसमध्ये बादशाहसहित प्रहरीले ६ जनालाई अघिल्लो वर्ष माघमा पक्राउ गरेको थियो। तर केही दिनमै धरौटीमा छाडेको थियो। मुद्दा अदालतमा पुगेको छैन। बरु बादशाह गत मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसबाट बाँके ३ (ख)बाट सांसद निर्वाचित भएका छन्।

अधिकारकर्मीहरूले अनुसन्धान नै नभएको आरोप लगाए पनि प्रहरीले भने अनुसन्धान निरन्तर अघि बढिरहेको दाबी गरेको छ। 'सीआइबी र बाँके प्रहरीले संयुक्त रुपमा निरन्नर अनुसन्धान गरिरहेका छन्,' प्रहरीका केन्द्रीय प्रवक्ता पोषराज पोखरेलले भने, 'अहिले नै अनुसन्धानका विषयमा बोल्न मिल्दैन तर चाँडै नै निष्कर्षमा पुग्नेगरी काम भएको छ, चाँडै नतिजा देखिन्छ।'

गृहमन्त्री रवि लामिछाने धर्नामा बसेकी खानसहित अभियन्ताहरूलाई भेटेका थिए। शनिबार भेटेर लामिछानेले कुर्मी र धोबीको हत्यारा पत्ता लगाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रकाशित: Jan 23, 2023| 17:50 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।