काठमाडौं–नेपालमा सञ्चालन भएको २१ औं विकासशील राष्ट्रहरुको बीमा तथा पुर्नबीमा कम्पनीहरुको सम्मेलन सम्पन्न भएको छ । आगामी २२ औं सम्मेलन सन् २०२० मा घानामा गरिने निर्णयसहित सम्मेलन सकिएको हो ।
सम्मेलनको पहिलो दिन उद्घाट सत्र सञ्चलन भएको थियो । दोस्रो दिन मा कम्पनीहरुको वित्तिय पहुँचको बिषयमा छलफल भएको थियो । बीमामा प्रविधिको प्रयोग र लघुबीमाको बिषयमा समेत छलफल भएको थियो ।
बीमा कम्पनीहरुको वित्तीय पहुँचको बिषयमा कार्यपत्र प्रस्तुत गर्दै एम वेस्टका कार्यकारी अधिकृत डा.रोगर शेल्लीजले एशियन मुलकमा नेपाल लगायत अन्य पाँच ओटा मुलुकका कम्पनीहरु जोखिम अवस्थामा रहेको बताए ।
उनकाअनुसार अष्टे्ुलियाका कम्पनीहरु जोखिमरहित रहेको छ । ‘जापान र कोरियामा सञ्चालित कम्पनीहरुको जोखिमको अवस्था न्यून छ,’ उनले भने ‘भुटान र भारतका कम्पनीहरु भने ग्रे–जोनमा रहेका छन् ।’
बीमाको पहुँच बढाउन प्रविधिको प्रयोग
बीमाको पहुँच बढाउन र लागत घटाउन प्रविधिको प्रयोग अपरिहार्य भएको बीमा विज्ञ जिम्मी मोलिनियरले बताए ।
सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै विज्ञ मोलिनियरले प्रविधिले बीमा योजना जारी गर्न, समयमा दाबी भुक्तानी गर्न, बीमा शुल्क संकलन गर्न सहज, सरल र छरितो हुने बताए ।
कम विकशील राष्ट्रहरुमा प्रविधिको प्रयोग गर्दा अवरोधहरु पनि कम हुने उनको भनाइ छ । त्यसकारण आगामी दिनहरुमा यस्ता राष्ट्रहरुले प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उनले सुझाब दिए ।
सोही बिषयमा कार्यपत्र प्रस्तुत गर्दै भारतका कल्पेश डेसाईले बीमा क्षेत्रमा प्रविधिको उचित प्रयोगको लागि बैंकसँग मिलेर काम गर्न सकिने बताए । ‘बैंकसँग सहकार्य गर्दा बैंकका एटीएम मेसिन लगायतका प्रविधिको प्रयोग गर्न सकिन्छ,’ उनले भने ।
सम्मेलनमा लघुबीमा बिषयमा कार्यपत्र प्रस्तुत गर्दै हेनरी पुर्नबीमा कम्पनीमा डिर्क रिनहार्डले लघुबीमा मानिसहरुको लागि जीवन उपयोगी हुने बताए ।‘तर यसले मानिसहरुलाई गरिबीबाट निकाल्ने हैन, गरिबीबाटबाहिर निस्केका मानिसलाई पुनः गरिबीमा नजान सहयोग गर्नेछ,’ उनले भने ‘तर, यसको मुख्य चुनौत भनेको सञ्चालन खर्च अधिक हुनु हो ।’
फिलिपिन्सका लोरेन्ज हानले लघुबिमाका लागि बीमितहरुको घर–घरमा पुग्नु पर्ने भएकाले अन्य बीमाको तुलनामा यो चुनौतीपूर्ण हुने बताए । बीमा जारी गर्दा स्थानीय विभिन्न संघ संस्थासँगको सहयोगमा जारी गर्नुपर्ने उनको धारणा छ ।
कार्यक्रममा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्की क्षेत्रीले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा लघुबीमाको सम्भावना अधिक रहेको बताए ।
यसका चुनौती पनि उत्तिकै रहेको उनको भनाइ छ । ‘यो बीमालेखबाट कम आम्दानी हुन्छ भने सञ्चालन खर्च अधिक हुन्छ,’ उनले भने ‘तर पनि हामी सम्भावना खोजीमा लघुबीमा जारी गरिरहेका छौं ।,’
नेपालमा सञ्चालन भएको एआईआरडिसी सम्मेलनमा १८ वटा मुलुकमा चार सयभन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
मंगलबार संगठनको सम्पन्न २१ औं साधारण सभाले नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहलाई अध्यक्षमा चयन गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४