काठमाडौं- विश्वको जनजीवन कोराना महामारीले निकै प्रभावित पार्यो। मानिसहरूले बच्न र बचाउन निकै संघर्ष गरे। सहरबासी कोठामा सीमित भए, गाउँलेहरू घरमा सीमित भए। जब–जब महामारी आउँछ तब भोकमरी र बेरोजगारी बढ्छ। गाउँ सबैतिर उजाड हुन्छ। ती मानिसहरू रोजगारीका लागि सहर बस्न थाल्छन्। जब रोजगारीका लागि पुरुष सहर पस्छन् तब खेत बाँझो हुन्छ। आयस्रोत घट्छ। भएका देवी देउराली उजाडिन्छन्।
भत्किँदै गएको यस्तो परिवेशमा गाउँले महिलाको संघर्ष भने चौगुना भएर थपिन्छ। तर महिलाहरू संघर्ष गरेर बाँचिरहेका हुन्छन्। गाउँभन्दा पर नपुगेका ती महिलाहरूको परम्परागत संघर्ष र आफ्नै पितापुर्खाले अपनाएका आस्था, संस्कृति र पुरानो जीवनशैली खोज्ने साहस गर्छन्। पहाडिया महिलाहरूले जीवन धान्न गरेको परम्परागत जीवनशैलीलाई निरन्तरता दिन घाटु नाचको कथासँगै देवीमा गाउँको पुरानो जीवनशैली खोज्ने साहस र आशाको कथा भन्न खोजेको छ, नाटक देउराली डाँडीले।
मानिसहरूको मौनता सबैभन्दा ठूलो हतियार हो। मौन संघर्ष गरिरहेको पहाडे महिलाको कथा हो यो। पहाडको सम्पत्तिको रूपमा चिनिने घाँटु र परम्परागत जीवनशैली नै यस नाटकको आकर्षण हो भन्दा फरक नपर्ला।
घाटु शब्द मात्रै नभएर जीवन जिउने तरिका पनि हो। मानव हुनुको भावना पनि हो। धेरै मेहनत र परिश्रमबाट मात्रै कालजयी सिर्जनाको जन्म हुन्छ र त्यसले धेरैसम्म छाप छोड्छ। यस्तै बन्यो देउराली डाँडी। स्टेजमा देखिएका छ जना महिला पात्रको जीवनशैलीले नयाँ मार्ग पहिल्याउँछ। क्षणिकका लागि यी पात्र आएका होइनन्। यिनले पुरानो जीवनशैलीलाई नै एकपटक सोच्न बाध्य पार्ने छ। सांस्कृतिक सम्पदाको रूपमा चिनाउने कोसिस गर्नेछ।
घाटु नाच विशेषतः गुरुङ र मगर जातिमा प्रचलित लोकनृत्य हो। विशेष गरी श्रीपञ्चमीमा विधिपूर्वक पूजाअर्चना गरी सुरु गरिने घाटु नाच मातातीर्थ औंसीदेखि मध्य वैशाखसम्म नाचिन्छ। घाटु एक शास्त्रीय नाच हो। घाटु गुरुङ मगरहरूको लोक संस्कृतिमा आधारित एउटा गीति–नाटक हो।
यसको ऐतिहासिक किम्बदन्ती भने फरक फरक पाउने गरिएको छ। १६औँ शताब्दीतिर लमजुङका एक दम्पती राजारानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, जंगल प्रस्थान, सिकार आदि घटनामा आधारित भएर घाटु नाचिन्छ। घाटुको गीतमा परशुराम राजा र चम्पावती रानीको कथावस्तु रहेको हुन्छ।
परम्परा अनुसार घाटु नाच्नका लागि घाटुकी कन्या कथाको विषयवस्तु अनुसार आवश्यक संख्यामा छानिन्छ। उनीहरूलाई घाटु नाच्नुअघि अक्षताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गंगाचुली आदिको पूजा गरेपछि घाटु नाच्ने कन्याहरूको आँखा बन्द हुने गर्छ। यसलाई देवी चढेको मानिन्छ। कन्याहरूको आँखा बन्द नभएसम्म देवीहरूको नाम जप्नुपर्छ। देवीले पत्याएपछि घाटु सुरु गरिन्छ। घाटु नाचको सुरुवात मंगलाचरणबाट गरिन्छ। इष्टदेवीहरूको साथमा आमा, धर्ति र आकाशलाई साक्षी राखिन्छ।
घाटु नृत्यमा वाद्य र साज श्रृंगार भन्दा पनि कारुणिक कथाको व्याख्या गरिएको हुन्छ। कारुणिक र हृदय विदारक गीत गाएर शोकाकुल अवस्था सिर्जना हुँदा गाउने कलाकार र हेर्ने दर्शकसमेत धुरुधुरु रोएको पाइन्छ। सति घाटुमा गुरुवाले गीतबाटै मंगलचरण गरी घाटु देवता जगाउने, घाटुली चयन, शृंगार गर्ने, नृत्यकला सिकाउने सति ढलाउने, सति जगाउने काम गर्दछन्। यही परम्परामा आधारित रहेर देउराली डाँडी नाटकमार्फत आजका महिलाको कथा भन्न खोजेको छ। र लोक परम्परामा आधारित जीवनशैलीमा बाँच्ने संघर्षलाई उजागर गरेको छ।
वान वल्र्ड थिएटर नेपालको संयोजनमा तयार भएको नाटक देउराली डाँडी पिंगलास्थानस्थित स्टुडियो थिएटरमा मञ्चन भइरहेको छ। माघ १५ गतेसम्म जारी नाटक देउराली डाँडीलाई दर्शकले नेपाली भाषा र अंग्रेजी भाषाको ट्रान्सलेसनमा हेर्न सक्छन्।
एक घण्टा ४० मिनेटको नाटक रोज बेटिना स्क्वेजले निर्देशन गरेकी हुन् सहलेशको लेखन रहेको नाटकमा नेपाली र अंग्रेजी भाषाको अनुवादमा हेर्न सकिन्छ। सेन्ट पाँल मिनेसोटाकी रोज अमेरिकी नागरिक हुन्। फुलब्राइट नेपालका रचनात्मक कला अनुसन्धानकर्ता रहेकी रोजले ६ जना महिला कलाकारलाई मुख्य पात्र बनाएर नाटक देउराली डाँडी निर्देशन गरेकी हुन्।
सन् २०१४ देखि नेपालमा बसोबास गर्दै आएकी रोज स्क्विेजले गरेकी छन् भने लेखक चाहिं सहलेश हुन्। अन्तरिक्षको मीतज्यू, साइँली बरै र माइला कामीको मान्धम नाटक लेखिसकेका सहलेशले यो नाटक लेखेका हुन्। दिया मास्के, मेनुका प्रधान, पशुपति राई, रञ्जना भट्टराई, विनीता थापामगर, सरस्वती चौधरीलगायतको नाटकमा अभिनय रहेको छ ।
देउराली डाँडीमा नेपाली चलचित्र र रंगमञ्चमा चर्चित अनुहारको सहभागीता पाइन्छ। रंगकर्मी तथा हिमालयन रोडिजकी निर्णायक तथा सुनगाभा, दोख प्रकाश जस्ता चलचित्रमा जिवन्त अभिनय गरेकी नायिका दिया मास्केको अभिनय देख्न सकिन्छ। ‘बेग, यौवनले उन्मात्त अनि प्रेमको छटपटाहटलाई महसुस गरायौ’, जस्ता संवादले दिया देउराली डाँडीमा निकै मौलिक लाग्छिन्।
गुरुकुल थिएटरकी सरस्वती चौधरी घाटु कथाकी रहस्यमयी प्राचीन थारु रानी यम्बावतीको रूपमा रहेकी छन्। ‘शान्त, सालिन ,प्रकृतिको काखैमा पुर्यायौ’, जस्ता संवादले उनी मार्मिक पात्र बनेकी छन्।
गुरुकुल थिएटर र ‘कबड्डी’ फिल्मकी अभिनेत्री पशुपति राई आदर्शवान् ताराको रूपमा छिन्। ‘धर्ति, मातृत्व, आमाको बात्स्यल्यको अनुभूती गरायौ’, पशुपति भन्छिन्, ‘महामारीले सधैं मान्छेलाई खेदेकै हो। खडेरीले अनिकालले कहिले पो छोडेको छ र मान्छेको जातलाई।’
फिल्म ‘साइँली’ फेम्ड मेनुका प्रधान भविष्य उन्मुख सिरुको रूपमा छिन्। मेनुका सिरु भएर भन्छिन्, ‘चन्चल, समय, हावाको बेगसँगै उड्न सिकायौ।’ हिमालयन रोडी अनि रंगकर्मी रञ्जना भट्टराई बोझिल माइलीको रूपमा छिन्। रंजना नाटकमा भन्छिन् ‘माया, निर्दोष,खोक्रोपनलाई जीवन के हो मलहम लगाइदियौ।’
अवार्ड विजेता छोटो फिल्म ‘हलकारा’की विनिता थापा मगर निर्दोष फूल्सराको रूपमा छिन्। बिनिता थापामगर नाटकमा भन्छिन्, ‘धैर्य, दुरदर्शी, एक आपसमा समिटिनुको महसुस गरायौ।’
बरिष्ठ रंगकर्मी अनुप सुवेदी देउराली डाँडी हेरेर लेख्छन्, ‘नयाँ नौलो शक्तिशाली र अचम्मको प्रस्तुति हेर्न पाउँदा खुशी लाग्यो। पौराणिक पाठको समसामयिक व्याख्या र नाटकीय तरिकामा घाटु नृत्यको प्रयोगहरू हेर्न सकिन्छ देउराली डाँडीमा।’
साथी साथी आइदेउ नः
आजका पुस्ता साथी बिना बिरलै भेटिन्छन्। हरेक उमेर समूहका मानिसलाई साथी चाहिन्छ पनि। कसैलाई दुःख पर्यो, पीडा सहन गाह्रो भो, मन अतालियो, जीवनको पाइला रोकिनै लाग्यो भने साथीको साथ अपरिहार्यजस्तै भयो। जीवनको गति नै परिवर्तनशील भइदिन्छ।
भित्रभित्रै एक्लोपनले विरक्तिएका आजका पुस्ता साथीको महसुुस नखट्किएको कहाँ छ। एक्लोपन बढ्दै जाँदा डिप्रेसन र आफैंलाई सिध्याउने प्रवृत्ति पनि देखिएको छ। यस्तै युवाहरूको मित्रतालाई ‘साथी, साथी आइदेऊ न’ नाटक लिएर आएका छन् रंगकर्मी आशान्त शर्मा।
पुस २८ गतेदेखि टेकुस्थित कौसी थिएटरमा मञ्चन भइरहेको छ। यो नाटकमार्फत रंगकर्मी शर्माले साथी भनेर युवाको समस्यालाई समाधान गर्ने उपाय पहिल्याएका छन्। नाटक सामाजिक, पारिवारिक, आर्थिक तथा मानसिक कारणले विक्षिप्त बनेकी एक युवती अस्मिता जस्ता धेरै युवतीको कथा हो। उनको मानसिक अवस्थालाई घर, परिवार, साथीभाइ कसैले बुझ्ने कोसिस गर्दैनन् । उनको अन्तिम अवस्थामा मनको पीडालाई बुझ्ने साथीको प्रवेश भएपछि उनमा आउने परिवर्तनलाई नै नाटकमा मुख्य विषयका रूपमा केन्द्रित गरिएको छ।
नाटककी मुख्य पात्र अस्मिता जो परिवार, साथीभाइ र समाजले वास्ता नगर्दा विक्षिप्त बनेकी छ, उसको मनोदशामार्फत कथा भनिएको छ। उसको जीवनमा साथीको प्रवेश भएपछि आउने परिवर्तन नै यो नाटकको मुख्य कथावस्तु हो।
निर्देशक शर्माले आत्महत्याजस्तो संवेदनशील विषयलाई हास्य शैलीमा जोकरको चरित्रमार्फत प्रस्तुत गरेका छन्। नाट्य विधामा शरीरको हाउभाउ र पहिरनबाट मनोरञ्जन गर्ने चलन भए पनि विषय आफैमा गम्भीर छ। यो नाटक हेरेका दर्शकले पनि राम्रो प्रतिक्रिया दिएको शर्माले बताए। नाटकमा निर्देशक शर्मासहित प्रभाकर न्यौपाने, सरला पराजुली, दिव्या मगर, छिरिङ शेर्पा, प्रनिश मगर लगायतको अभिनय छ। यो नाटक माघ १५ गतेसम्म मञ्चन हुनेछ।