काठमाडौं– नेपालको भौगोलिक विकटताका कारण सडक राजमार्ग असुरक्षित र विमान सेवा सुरक्षित मानिँदै/ठानिँदै आएको छ। राजमार्गमा दिनहुँजसो सवारी साधन दुर्घटना हुने क्रम रोकिएको छैन। सवारी दुर्घटनाबाट सयौं, हजारौंले अकालमा ज्यान गुमाइरहेका छन्। आइतबार मात्रै विभिन्न स्थानमा भएका सडक सवारी दुर्घटनामा परी ८ जनाले ज्यान गुमाए।
सरकारी संयन्त्रको फितलो अनुगमनका कारण नेपालमा सवारी साधन दुर्घटना हुने क्रम बढ्दै गएको छ। चालू आवको पुस मसान्तसम्म मात्रै करिब साढे ५०० हाराहारी नागरिकको सवारी दुर्घटनाका कारण मृत्यु भएको सरकारी तथ्यांक छ।
सुरक्षित ठानिएको हवाई यातायात पनि नेपालको अकासमा असुरक्षित बन्दै गएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार नेपालमा २२ वर्षमा २२ विमान दुर्घटना भएका छन्। ती दुर्घटनामा ३५९ जनाले ज्यान गुमाएका छन्। अचम्म के भने एक तिहाइ दुर्घटना यती र तारा एयरका मात्रै भएका छन्। यसले पनि के देखाउँछ भने आन्तरिक हवाई सेवा झनै असुरक्षित बन्दै गएको छ।
१ माघ आइतबार बिहान १० बजे मात्रै कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती खोंचमा यती एयरको एटीआर ७२ जहाज दुर्घटनामा पर्यो। कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौंबाट ६८ यात्रु बोकेर गण्डकी मुकाम पोखरा उडेको उक्त जहाजमा चालक दलका ४ सदस्य गरी ७२ सवार थिए। बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एसीएनसी विमान करिब ११:१० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हालसम्मको सरकारी ठम्याइ छ। यद्यपि सोमबार मात्रै विमानको ब्ल्याक बक्स फेला परेकाले त्यसबाट थप जानकारी पाउने सकिने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला बताउँछन्।
भौगर्भिक अवस्थाअनुसार नेपालको सडक यातायात असुरक्षित मानिएसँगै पछिल्लो समय हवाई सेवा लिने नागरिकको संख्या पनि बढ्दै छ। तर फितलो सरकारी संयन्त्र अभावले फुक्काफाल हवाई सेवाप्रदायक कम्पनीका जहाजहरू नागरिकको ज्यान लिने साधन बनिरहेका छन्।
विमान दुर्घटनामा परी ६८ जनाको मृत्यु भइसकेको छ भने ४ जना बेपत्ता छन्। दुर्घटनाका थप विवरण आइरहेका छन्। विश्वासै गर्न नसकिने उक्त दुर्घटनाले नेपालको हवाई यातायातलाई पुनः शंकाको घेरामा ल्याइदिएको छ। फ्रान्समा निर्मित उक्त विमान यती एयरले नेपाल ल्याउनुअघि निजी क्षेत्रको भारतीय विमान कम्पनी किंग्सफिसर र त्यसपछि थाइल्यान्डको निजी कम्पनीले प्रयोगमा ल्याइसकेको खुलेको छ। ती दुवै कम्पनीले प्रयोगमा ल्याएर पुनः फ्रान्स फिर्ता पठाएको उक्त जहाज यती एयरले नेपालमा ल्याएर सञ्चालन गरिरहेको समाचार बाहिरिएका छन्। उक्त जहाज १५ वर्ष पुरानो रहेको नियमन निकाय प्राधिकरणले नै बताएको छ।
नेपालमा विमान दुर्घटना हुनु सामान्यजस्तो भएको छ। प्राधिकरणका अनुसार सन् २००० यता २२ वर्षमा नेपालमा २२ वटा विमान दुर्घटना हुँदा ३५९ जनाले ज्यान गुमाएका छन् । यसमा सबैभन्दा धेरै ७ दुर्घटना यती र तारा एयरका भएका छन्, जुन करिब एक तिहाइ संख्या हो।
प्राधिकरणले प्रकाशन गरेको उड्डयन सुरक्षा रिपोर्ट २०२२ अनुसार असोज, कात्तिक, मंसिर, पुस, माघ पाँच महिना विमान दुर्घटनाको धेरै जोखिम हुने समय हो। प्राधिकरणका अनुसार सन् २००० यता १५ बढीले ज्यान गुमाएका १४ विमान दुर्घटना छन्। सन् २००० यता भएका दुर्घटनामध्ये आइतबार पोखरामा भएको विमान दुर्घटनालाई सबैभन्दा ठूलो मानिएको छ। त्यसपछि भने २०१८ मार्च १२ मा भएको युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनालाई दोस्रो ठूलो मानिएको छ। अन्तर्राष्ट्रिय एयरलाइन्सअन्तर्गत भने यो नै सबैभन्दा ठूलो दुर्घटना हो। यो दुर्घटनमा ५१ जनाले ज्यान गुमाएका थिए।
विमान दुर्घटनाको शृंखला
नेपाल एयरलाइन्स– सन् २०००
२७ जुलाई सन् २००० मा नेपाल एयरलाइन्सको ट्वीन अटर बझाङ विमानस्थलबाट धनगढी विमानस्थलतर्फ जाँदै गर्दा दुर्घटनामा परेको थियो। दुर्घटनामा तीन जना चालक दलका सदस्य र २२ यात्रु गरी २५ जनाले ज्यान गुमाएका थिए।
सांग्रिला एयर– सन् २००२
२२ अगस्त सन् २००२ मा सांग्रिला एयरको विमान कास्कीमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए।
यती एयरलाइन्स– सन् २००८
८ अक्टोबर सन् २००८ मा यती एयरको ट्वीन अटर सोलुखुम्बुको (लुक्ला) तेन्जिङ–हिलारी विमानस्थलमा अवतरणको अन्तिम समय दुर्घटनामा परेको थियो। दुर्घटनामा १४ जना विदेशी पर्यटकसहित १८ जनाले ज्यान गुमाएका थिए। उक्त दुर्घटनामा विमानका कप्तान सुरेन्द्र कुँवर मात्र सकुशल थिए।
तारा एयर– सन् २०१०
१५ डिसेम्बर सन् २०१० मा खोटाङबाट काठमाडौंका लागि उडेको तारा एयरको विमान बीच बाटैमा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा २२ जनाले ज्यान गुमाएका थिए।
बुद्ध एयर– सन् २०११
२५ सेप्टेम्बर सन् २०११ मा बुद्ध एयरको बिचक्राफ्ट १९०० डी ललितपुरमा दुर्घटनामा परेको थियो। दुर्घटनामा चालक दलका सदस्य र यात्रु गरी १९ जनाले अकालमा ज्यान गुमाएका थिए।
सीता एयर – सन् २०१२
२८ अक्टोबर सन् २०१२ मा सीता एयरको एसटी ६०१ विमान काठमाडौंमा आपतकालीन अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो। दुर्घटनामा चालक दलका सदस्य र यात्रु गरी १९ जनाले ज्यान गुमाएका थिए।
अग्नि एयर – सन् २०१२
१४ मे सन् २०१२ मा अग्नि एयरको विमान मुस्ताङको जोमसोममा दुर्घटनामा परेको थियो। उक्त विमान दुर्घटनामा १५ जनाले ज्यान गुमाएका थिए।
नेपाल एयरलाइन्स – सन् २०१४
१६ फेब्रुअरी सन् २०१४ मा नेपाल एयरको विमान लुम्बिनीको अर्घाखाँची जिल्लामा दुर्घटना भएको थियो। दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए।
तारा एयरलाइन्स – सन् २०१६
२४ फेब्रुअरी सन् २०१६ मा तारा एयरलाइन्सको विमान म्याग्दीमा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा २३ जनाले ज्यान गुमाएका थिए।
युएस–बंगला एयरलाइन्स – सन् २०१८
१२ मार्च सन् २०१८ मा यूएस–बंगला एयरलाइन्सको विमान काठमाडौंमा अवतरण गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर ७१ मध्ये ५१ जनाले अकालमै ज्यान गुमाएका थिए।
तारा एयर – सन् २०२२
३० मे सन् २०२२ मा पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको जेट विमान मुस्ताङको थासाङ क्षेत्रमा अवस्थित सानो स्वारेभीरमा दुर्घटनामा परेको थियो। दुर्घटनामा २२ जनाले ज्यान गुमाएका थिए।
यती एयर – सन् २०२३
१५ जनवरी सन् २०२३ (१ माघ) मा यती एयरको एटिआर ७२ विमान पोखरामा दुर्घटनामा परेको छ। काठमाडौंबाट पोखराका लागि उडेको उक्त विमानमा चालक दलका सदस्यसहित ७२ यात्रु सवार थिए। हालसम्म ६८ यात्रुले ज्यान गुमाइसकेका छन्। ४ जनाको खोजी कार्य जारी रहेको नियामक नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणको तथ्यांक अनुसार नेपालमा सन् २००० देखि सन् २०२३ सम्म पोखरा (दुर्घटनासहित) विमान दुर्घटनामा परेर करिब ३५९ जनाले ज्यान गुमाएका छन्।
सुरक्षित एटीआर नै दुर्घटनामा
संसारभर नै एटीआर सिरिजका जहाजलाई नागरिक उड्डयनमा सुरक्षित र भरपर्दो मानिन्छ। नेपालको भौगोलिक अवस्थिति अनुकूल सुरक्षित उडानको सुनिश्चितताका लागि पछिल्लो प्रविधिको एटीआर जहाज भित्र्याएर वायु सेवा कम्पनीले सेवा दिइरहेका छन् ।
वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलका अनुसार एटीआर जहाज हवाई उडानका दृष्टिले निकै सुरक्षित मानिन्छ। विमानमा कुनै पनि समस्या देखिए ‘इन्डिकेटर’मा संकेत आउँछ। सोही संकेतका आधारमा चालक दलले विमानको सुरक्षित अवतरणका लागि आवश्यक प्रक्रिया अपनाउँछन् ।
वायुसेवा सञ्चालक संघका प्रतिनिधि एवं सीता एयरका आधिकारिक व्यवस्थापक घनश्यामराज आचार्यले पनि तुलनात्मक रूपमा सुरक्षित मानिएको एटीआर सिरिजका जहाज दुर्घटनामा पर्नु आफैंमा दुर्भाग्य भएको बताउँछन्। यती एयरलाइन्सका हवाई सुरक्षा शाखाप्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार प्राविधिक हिसाबले एटीआर विमान निकै सुरक्षित मानिने भए पनि कसरी दुर्घटनामा पर्यो भन्ने छानबिनपछि मात्रै भन्न सकिने बताउँछन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले तुलनात्मक रूपमा एटीआर जहाज बढी सुरक्षित र भरपर्दो मानिने बताए । छानबिनपछि आधिकारिक निर्णय आउने उनको भनाइ छ ।
नेपालको भूधरातलीय स्वरूपअनुरूप हवाई यातायात निकै सुलभ र भरपर्दो मानिन्छ। तर विमान दुर्घटनाको सिलसिला हेर्दा हवाई उडान सुरक्षामा विश्वासको संकट देखिने स्थिति आइलागेको छ। क्यानका प्रवक्ता जगन्नाथ निरौला पनि एटीआर जहाज प्राविधिक हिसाबले राम्रो र सुरक्षित मानिने बताउँछन्। उनले भने, ‘दुर्घटनामा परेको जहाज प्राविधिक हिसाबले राम्रो हालतमा थियो। अनुभवी प्रशिक्षक पाइलटले चलाएको विमान कसरी दुर्घटनामा पर्यो भन्नेबारे हामी आफैं आश्चर्यमा छौं।’
सरकारले विमान दुर्घटना हुनासाथ नागरिकको मृत्युबारे छानबिन समिति गठन गरेर औपचारिकता मात्र पूरा गर्दै आएको छ। २२ वर्षमा भएका २२ वटै विमान दुर्घटनासम्बन्धी जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्न सरकारमा बसेकारूले रुचि देखाउँदैनन्। सोही कारण नेपालको हवाई यात्रा जोखिमपूर्ण बन्दै गएको हो। छानबिन समितिले जहाजको क्षमता, अवधि, पार्टपुर्जाको अवस्थाबारे भन्दा चालक दलका सदस्यको कैफियत देखाएर सरकारलाई प्रतिवेदन बुझाउने गरेको नागरिकको गुनासो रहँदै आएको छ।
अझ विमान कम्पनी भित्र्याउने ‘साहू’रूलाई नेतारूले राजनीतिक ओतमा लगेर संरक्षण गरिदिँदा हवाई अकास झनै असुरक्षित हुँदै गएको छ। विदेशबाट विमान ल्याउँदा दिइने अनुमतिमा समेत रकमको चलखेल हुने र यसमा नागरिक उड्डयन प्राधिकरण, पर्यटन मन्त्रालयका कर्मचारीले मन्त्री र सचिवलाई भागसमेत दिने गरेको सुनिन्छ।
सरकारले पोखरामा आइतबार भएको यती एयरको विमान दुर्घटनाको छानबिनका लागि पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। विमान दुर्घटनापछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो। आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेका छन्। सदस्यमा हवाई उडानविज्ञ दीपकप्रसाद बाँस्तोला, अवकाश प्राप्त क्याप्टेन तथा हवाईविज्ञ सुनील थापा र हवाई मेन्टेनेन्स क्षेत्रका इन्जिनियर टेकराजजंग थापा सदस्य रहेका छन्। आयोगको सदस्य सचिवमा पर्यटन मन्त्रालयका सचिव बुद्धिसागर लामिछाने रहेका छन्। आयोगलाई ४५ दिनभित्र पोखरा विमान दुर्घटनाको सत्यतथ्य बाहिर ल्याउने गरी काम गर्न आदेश दिइएको छ।
पहिलोपल्ट नेकोनले ल्याएको थियो नेपालमा एटीआर
नेपालमा पहिलो पटक नेकोन एयरले एटीआर जहाज भित्र्याएको थियो। कम्पनीले एटीआर–४२ जहाजमार्फत सेवा दिएको थियो। पछिल्लो पटक बुद्ध एयर र यती एयरले एटीआर जहाजमार्फत उडान गर्दै आएका छन्। नेपालमा एटीआर–७२ र एटीआर–४२ सिरिजका जहाज सञ्चालनमा छन्। सबैभन्दा धेरै बुद्धसँग एटीआर–७२ का ११ वटा र एटीआर–४२ का तीन गरी १४ विमान छन्।
यस्तै, यती एयरलाइन्ससँग रहेका ६ वटा एटीआर–७२ मध्येकै जहाज आइतबार पोखरामा दुर्घटनामा परेको छ। मुलुकको आन्तरिक उडानमा ११ हेलिकोप्टर कम्पनी र ९ ‘फिक्स विङ्स’ गरी २० हवाई सेवाप्रदायकले उडान गर्दै आएका छन्।