पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परी कञ्चनपुर महेन्द्रनगरका आमाछोराको निधन भएको छ। विमान दुर्घटनामा परी महेन्द्रनगरका प्रतिष्ठित व्यापारी सञ्जीवचन्द्र भट्टकी पत्नी सुष्मा पाण्डेय भट्ट र १५ वर्षीय छोरा स्लक भट्टको निधन भएको हो।
माघी मनाउन आमाछोरा काठमाडौँबाट पोखरा उडेका थिए भने व्यापारी भट्ट पोखरामै थिए। उनका आफन्तजन पनि जागिरको सिलसिलामा पोखरामा रहेको र सँगै माघी मनाउने योजना अनुरुप पोखरामा पारिवारिक जमघटको तयारी थियो। १५ वर्षीय स्लक काठमाडौँमा एक क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहको पहिलो वर्षमा अध्ययनरत थिए।
उनको निधनले महेन्द्रनगरवासी शोकमा डुबेका छन्। यहाँका व्यापारी-व्यवसायीले महेन्द्रनगरस्थित मदन चोकमा शोकसभासमेत आयोजना गरेका थिए। सोमबार १२ बजे सम्म कञ्चनपुर जिल्लाका सम्पूर्ण उद्योग व्यवसाय बन्द गर्न आग्रह गरिएको कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वरप्रसाद बोहराले बताए।