दिपायल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटी जिल्ला समितिले जिल्लाभित्र सञ्चालित तथा वर्षौंदेखि अलपत्र परेका, ढिलासुस्ती भएका र अधुरा विकास निर्माणका योजनाहरूको निरन्तर अनुगमन एवं फलोअपका लागि ‘फाइलदेखि फिल्डसम्म’ अभियान सुरु गरेको छ।
रास्वपा डोटीका सभापति केशव बलायरका अनुसार जिल्लामा कागज वा फाइलमा मात्र सीमित रहने तर फिल्डमा काम नहुने परिपाटीको अन्त्य गर्न यो अभियान सञ्चालन गरिएको हो।
अभियानअन्तर्गत विकास निर्माणका काममा पारदर्शीता कायम गराउने, ढिलासुस्ती हुनुको कारण खोजी गर्ने र काम सम्पन्न गराउन सम्बन्धित निकायलाई दबाब दिने रणनीति लिइएको उनले बताए।
'अब योजना फाइलमा होइन, फिल्डमै खोजिनेछ। हामी आयोजनाको अवस्था हेर्छौँ, सम्बन्धित पक्षलाई सोध्छौँ, नियमित फलोअप गर्छौँ र काम पूरा गराउन पहल गर्छौं,' उनले भने।
जिल्लामा सडक, खानेपानी, पक्की पुल, भवन निर्माण लगायतका कैयौँ आयोजनाहरू बजेट विनियोजन भएर पनि वर्षौँदेखि अलपत्र अवस्थामा रहेका छन्। ठेकेदारको लापरवाही तथा नियमनकारी निकायको उदासिनताका कारण सर्वसाधारणले पाएको सास्तीलाई ध्यानमा राख्दै रास्वपाले स्थलगत अवलोकनलाई तीव्रता दिने जनाएको छ।
यस अभियानमार्फत जिल्लाभरका अधुरा योजनाहरूको वास्तविक तथ्यांक संकलन गरी निर्माण कार्यलाई गति दिन स्थानीय तह, ठेकेदार कम्पनी र सम्बन्धित सरकारी कार्यालयहरूसँग निरन्तर संवाद तथा खबरदारी गरिने जिल्ला सहसचिव एवं संगठन विभाग प्रमुख डिल्लीराज भट्टले बताए।