काठमाडौं- काठमाडौंको पशुपतिनाथ मन्दिरनजिकैको जंगलमा जलेको अवस्थामा एक व्यक्तिको शव भेटिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले पशुपति मन्दिर परिसरको किरातेश्वर मन्दिर भन्दा तलपट्टि शरीर पूरै जलेको अवस्थामा एक पुरुषको शव फेला परेको जानकारी दिए।
शव जलेकाले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। शवनजिकै पर्सलगायतका सामग्री भेटिएकाले सोधपुछ भइरहेको प्रहरीको भनाइ छ।
शनिबार बिहान शव भेटिएको खबर आएपछि अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेर शव पोस्टमार्टमका लागि पठाइएको एसपी कोइरालाले बताए।
शवनजिकै बोतलमा पेट्रोल पनि भेटिएकाले पेट्रोल छर्केर आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।