काठमाडौं- रुपन्देहीको मायादेबी गाउँपालिका-७ बस्ने भीमबहादुर यादवको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ घर भई हाल ललितपुर महानगरपालिका-२५ नख्खुडोल भैंसेपाटी बस्ने ४३ वर्षीय गोकुल यादव भन्ने रामनरेश यादवलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
२०६१ वैशाख २८ गते राति भीमबहादुरलाई कुटपिट तथा छुरा समेत प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले ललितपुर भैंसेपाटीबाट पक्राउ गरेको हो। उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा पठाइएको छ।
यसैगरी कपिलवस्तु वाणगंगा-८ सिद्दिपुर चोक बस्ने बिष्णुप्रसाद पाण्डेको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कपिलवस्तु शिवराज नगरपालिका-६ गौराबारी घर भएका ५० वर्षीय तौलेश्वर चौधरी र सोही नगरपालिका-५ चनौटा घर भएका ४८ वर्षीय बाबु खाँ मुसलमान भन्ने सहबाद आलम खाँ रहेका छन्।
२०६५ असोज ९ गते बिहान कपिलवस्तु भलवारी गाविस-३ वहादुरगंजस्थित तौलिहवा जाने हुलाकी सडकमा बिष्णुको शव फेला परेको घटनामा संलग्न उनीहरूलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनीहरूमध्ये तौलेश्वर चौधरीलाई कपिलवस्तु शिवराज नगरपालिका-६ विरपुरमा र सहबाद आलम खाँ लाई शिवराज नगरपालिका-५ चनौटामा फेला पारी प्रहरीले पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाइएको छ।