काठमाडौं–नेपाल विद्युत प्राधिकरणको स्वामित्वको १४४ मेगावाटको कालीगण्डकी ए जलविद्युत केन्द्रको विद्युत गृहमा रहेको इन्लेट भल्ब तथा युनिट २ को बृहत मर्मत शुरु भएको छ ।
आयोजना निर्माणका वेला डिजाइन त्रुटीका कारण भल्बमा समस्या देखिएपछि प्राधिकरणले आइतबारबाट विद्युत गृह पूर्ण रुपमा बन्द गरी मर्मत शुरु गरेको थियो । भल्बबाट पानी चुहिने लगायतक समस्याबाट विद्युत गृहमा आउन सक्ने सम्भावित दुर्घटना टार्न र ठूलो विद्युत गृह हिउँदमा बन्द गर्नु पर्ने अवस्था आउन नदिन अहिले नै मर्मत शुरु गरिएको प्राधिकरणले जनाएको छ ।
डिजाइनमा त्रुटी देखिएपछि सामान निर्माता तथा आपूर्तिकर्ता जापानिज कम्पनी तोसिवाले मर्मत निःशुल्क गर्ने प्रतिबद्धता जनाएको थियो । कम्पनीले निःशुल्क मर्मतका लागि दिएको अन्तिम पटकको म्याद १४ असोजमा सकिंदैछ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सञ्चालकहरु उमेशप्रसाद थानी, चन्द्र टण्डन, चेतराज जोशी तथा भक्तबहादुर पुनले विद्युत गृहको स्थलगत निरीक्षण गरी तोकिएको समयभन्दा अघि नै मर्मत सक्न निर्देशन दिएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले सञ्चालनमा रहेको ठूलो विद्युत गृहको काम छिट्टो सक्ने निर्देशन दिएपछि प्राधिकरणको उच्च स्तरिय टोली उक्त कालीगण्डकी विद्युत गृहमा भइरहेको कामको निरीक्षणमा गएका थिए ।
दैनिक साढे तीन अर्ब नोक्सान
विद्युत गृह बन्द हुँदा अहिले दैनिक रुपमा करिब साढे तीन अर्ब आम्दानी गुमाइरहेको प्राधिकरणले जनाएको छ । चाडो काम सिदध्याउन कार्यकारी निर्देशक घिसिङले केन्द्र प्रमुख लगायत मर्मतमा संलग्न प्राविधिकलाई निर्देशन दिएका छन् ।
मर्मतमा तोसिवाका र प्राधिकरणका प्राविधिकहरु खटिएका छन् । केन्द्र प्रमुख राजेशकुमार पाण्डयले तोकिएको समयभन्दा पनि अघि सकाउने विश्वास दिलाए । सोमबारबाट शुरु भएको मर्मत १२ कात्तिकभित्रमा सक्ने लक्ष्य राखिएको छ । केन्द्रमा ४८/४८ मेगावाटका तीन युनिट छन् ।
बिहीबारदेखि विद्युत उत्पादन बन्द
समस्यामा देखिएको भल्ब खोल्नका लागि बिहीबारसम्म केन्द्रबाट विद्युत उत्पादन बन्द हुने प्राधिकरणले जनाएको छ ।
त्यसपछि २५ दिनसम्म मर्मत गर्ने एक युनिट ४८ मेगावाट बन्द गरिनेछ । युनिट २ को मर्मत सकिएपछि तीनवटै युनिट चलाउनका लागि सात दिन विद्युत उत्पादन पूर्ण रुपमा बन्द रहने प्राधिकरणले जानकारी दिएको छ ।
निर्माण समयमा भएको डिजाइन त्रुटीका कारण मर्मतका लागि ६ किलोमिटर सुरुङको पानी सुकाउनु पर्नेछ । पानी हटाउन र काम सकिएपछि सुरुङमा फेरी पानी भर्न मर्मतमा बढी समय लाग्ने प्राधिकरणको भनाइ छ ।
दशैमा उद्योग कलकारखाना बन्द हुँदा विद्युतको माग काम हुने र अन्य विद्युत गृह पनि पूर्ण क्षमतामा चलाउन सकिने भएकाले अहिले मर्मतका लागि उपयुक्त समय भएको घिसिङले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४