सोमबार, जेठ ४, २०८३

झापाका सात उद्योगलाई कारबाही

मापदण्ड विपरीतका दूषित तथा न्यून गुणस्तरीय वस्तु उत्पादन गर्ने सात उद्योग कारबाहीमा परेका हुन्।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

झापा– झापामा सञ्चालित सात उद्योग कारबाहीमा परेका छन्। सरकारले तोकेको मापदण्ड विपरीतका दूषित तथा न्यून गुणस्तरीय वस्तु उत्पादन गर्ने सात उद्योग कारबाहीमा परेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले जानकारी दिएका हुन्।

National life

कारबाहीमा परेका उद्योगमा पानी उद्योग, चिया, तेल, दाना (पशु आहार) उद्योगलगायत रहेको प्रमुख भट्टराईले बताए। ‘केही फाइल जिल्लाबाहिर पठाएका छौं’, उनले भने, ‘केही फाइल जिल्ला प्रशासन कार्यालय र अदालतमा पेस गरिएको छ।’ 

प्रारम्भिक अनुसन्धान गरेर उद्योग दर्ता भएको स्थानमा कारबाहीका लागि मोरङ र पर्सामा एक÷एक फाइल पठाइएको छ भने बाँकी जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा पठाइएको छ। ‘खाद्य गुण नियन्त्रण गर्न हामी लागिपरेका छौं। पुराना फाइल पनि छन्, तिनलाई पनि किनारा लगाउँदै नयाँमा काम–कारबाही अगाडि बढाइरहेका छौं’, उनले भने।

चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङ कार्यक्षेत्र रहेको तथा सीमित जनशक्ति भएकाले भनेजस्तो काम गर्न नसकिएको उनको भनाइ छ। कार्यालयअन्तर्गत इलामका ६२ होटल व्यवसायीलाई खाद्य स्वच्छता, गुणस्तर एवं होटल व्यवसायीले पालना गर्नुपर्ने मापदण्डसम्बन्धी अभिमुखीकरण गरिएको छ।

झापाको मेचीनगरमा स्थानीय तहका पालिका प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिका लागि खाद्य स्वच्छता अभिमुखीकरण, उपभोक्ता भेला लगायतका कार्यक्रम गरिएको छ। सडक खाना (स्ट्रिट फुड) व्यवसायीलाई स्वच्छतासम्बन्धी तालिम दिने तयारी भइरहेको कार्यालयले जनाएको छ। पानीपुरी, चटपटे, ठेला पसल व्यवसायीलाई भेला गराएर एकदिने तालिम दिन लागिएको कार्यालय प्रमुख भट्टराईले बताए।

प्रकाशित: Jan 10, 2023| 17:30 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्