काठमाडौं- नजिकिदै गरेका चाड पर्वमा सर्वसाधारणलाई सहुलियत दिन आगामी १२ असोजदेखि काठमाडौंका सहुलियत पसल सञ्चालन हुने भएका छन् । २७ असोजसम्म सञ्चालन हुने पसलमा सर्वसाधारणलाई चाहिने सम्पूर्ण सामान राखिनेछ ।
सरोकारवाला सरकारी निकाय, सहकारी र निजी उद्योग व्यवसायीको संयुक्त बैठकले दशैँ, तिहार र छठको अवसरमा सर्वसाधानरण तथा उपभोक्ताका हितका लागि सहुलियत प्रदान गर्ने उद्देश्यले राजधानीसहित देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
विभागका महानिर्देशक योगेन्द्र गौचनले नजिकिदै गएको चाडपर्वको लागि दैनिक उपभोग्य सामानहरूमा सहुलियत प्रदान गर्न सहुलिय मूल्यको पसल सञ्चालन गर्ने बताए । ‘पसलमार्फत दाल, चामल, माछा, मासु, पियपर्दाथ, चिनी, घ्यु लगायत वस्तु तथा सामाग्रीहरुमा राहत दिइने छ,’ उनले भने ‘सरोकारवाला संस्था तथा वस्तुहरुमा विभिन्न प्रकारको छुट दिएका छौं ।’
के-केमा कति छुट ?
विभागकाअनुसार दाल, चामलमा उद्योग र दाल चामल थोक विक्रेताहरुले ३ प्रतिशत छुट दिनेछ ।
त्यस्तै तेल, घ्यू उद्योगले तेल र घ्यूमा प्रतिलिटर ३, पैठारीकर्ताले आयतिति तेलमा प्रति पाँच लिटरमा १५०, तेल, घ्युमा प्रतिलिटर ३ रुपैयाँ, चिनी उद्योगले प्रतिकेजी ५७ रूपैयामा (म.अ.कर बाहेक) चिनी उपलब्ध गराउने भएको छ । सहकारी उद्योगले उत्पादन गरेको मसलामा १० रुपैयाँ छुट दिने बताइएको छ ।
कुन संस्थाले दैनिक उपभोग्य वस्तुमा कति छुट दिदै ?
नेपाल खाद्य संस्थानको छुट
नेपाल खाद्य संस्थानले आफ्नो विभिन्न सहुलियत मूल्य पसलबाट छुट दिने भएको छ । संस्थानले प्रतिकिलो ९१ रुपैयाँ पर्ने गरेको बास्मति चामलमा १० रुपैयाँ छुट दिइ ८१ रुपैयाँमा उपलब्ध गराउने भएको छ ।
सोना मंसुली चामलमा प्रतिकिलो ४५ रुपैया पर्नेमा पाँच रुपैयाँ छुट गरी ४० रुपैयाँमा, प्रतिकिलो ६० रुपैयाँ पर्ने जिरा मसिनो चामलमा पाँच रुपैयाँ छुट गरी ५५ रुपैयाँमा उपलब्ध गराउने संस्थानले जनाएको छ ।
त्यस्तै प्रतिकिलो ४८ रुपैया पर्ने गोरखनाथ चामलमा १० रुपैयाँ छुट दिइ ३८ रुपैयामा उपलब्ध गराउने भएको छ । जापनीज चामल प्रतिकिलो ५ रुपैयाँ छुट दिएर ७५, जुँली सिमीमा प्रतिकिलो १० रुपैयाँ छुट दिइ १२० मा, जुँली तिते फापर १० रुपैया छुट दिएर ७० रुपैयामा भने जिउदो खसी बोकामा करिब निर्धारित रकममा प्रतिकिलो १० रुपैयाँ छुट दिने भएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनको छुट
साल्ट ट्रेडिङ कर्पोरेशनले चाडपर्वको लागि प्रतिकिलो नुनमा २ रुपैयाँ छुट दिएर १८ रुपैयाँमा उपलब्ध गराउने भएको छ । प्रतिकिलो चिनीमा ५ रुपैयाँ छुट प्रदान गर्ने भएको छ ।
दुग्ध विकास संस्थाले दिने छुट
दुग्ध विकास संस्थाले दुधजन्य पदार्थमा विभिन्न छुट दिने भएको छ । जसमा नौं सय रुपैयाँमा पर्ने घ्यु ५० रुपैयाँ छुट दिइ ८ सय ५० रुपैयाँमा उपलब्ध गराउने भएको छ ।
त्यस्तै प्रतिकिलो ६ सय २० रुपैयाँ पर्ने पनिरमा १० रुपैयाँ छुट प्रदान गरि ६ सय १० रुपौयाँमा उपलब्ध गर्ने भएको छ । संस्थाले बिक्री गरिरहेको बटर, दही, चिज (मोजइला, केचन र पाक), मिठाईहरू लालमोहन, रसवरी, पेडा, लस्सी, आइसक्रीम लगायतमा पनि छुट दिने भएको छ ।
काहा-कहाँ खोलिदैछ सहुलियत पसल ?
विभागकाअनुसार नेपाल खाद्य संस्थान, नेशनल टेड्रिङ लिमिटेड, साल्ट टे«डिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले मिलेर सहुलियत मूल्यका पसल मुलुकका विभिन्न स्थानहरुमा खोल्ने भएको छ ।
जसमा राजधानीमा रामशाह पथको नेशनल टेड्रिङको भवनमा रहेको स्थानमा सञ्चालन गर्ने भएको छ । यसबाहेक, कमठमाडौंमा ९ वटा स्टल र ३ वटा सहुलियत मूल्य पसलमा घुम्ती पसल सञ्चालन गरिने भएको छ ।
त्यस्तै काठमाडौँबाहिर डिपो ताथा कार्यलयहरू गरी २४ स्थानमा सहुलियत मूल्य पसल खुल्ने भएको छ । मुलुकभर ३६ स्थानबाट पसल सञ्चालन गरिने विभागका महानिर्देशक गौचनले जानकारी दिए ।
उक्त सुपथ मूल्य पसलको सञ्चालन उद्घाटन असोज १२ हुने भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४