इटहरी- श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटी प्रालिले ईटहरीको केन्द्रमा पहिलो आकर्षक सपिङ मल सेन्ट्रल प्लाजा र अत्याधुनिक सुविधायुक्त उच्च गुणस्तरको सिनेमा हल सिनेफ्लिक्सको आज शुभारम्भ गरेको छ।
सो शुभारम्भ समारोहमा प्रदेश-१ का मुख्य मन्त्री शेरधन राई, प्रमुख प्रतिपक्ष दलका नेता राजीव कोईराला, प्रमुख सचेतक बुद्धी कुमार राजभण्डारी, सभासदहरु सर्बध्वज साँवा, लीलम बस्नेत, कुसुम श्रेष्ठ, उपरथी समीर शाही, सहायक रथी भरत पाठक, सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेति, इटहरी उप महानगरपालिकाका मेयर द्वारिका लाल चौधरी, सशस्त्र प्रहरी कार्यालयका प्रमुख मन्दीप श्रेष्ठ, ट्राफिक प्रहरी कार्यालयका प्रमुख रबी कुमार पौडेल, इटहरी ईलाका प्रहरी कार्यालयका प्रमुख शिव कुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन समारोहमा श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटी प्रालिका डाइरेक्टर राजेश श्रेष्ठले भने, 'हामीलाई विश्वास छ पहिलो पटक ईटहरीमा खुलेको यस सिनेमा हल र सपिङ मलले ईटहरीका दर्शकहरुलाई मनोञ्जनको उत्कृष्ट अनुभव गराउनेछ।'
बजारको आकर्षक स्थलमा रहेको १० तले सपिङ्ग मलको ग्राउन्ड फ्लोरदेखि तेस्रो तलासम्ममा अन्तर्राष्ट्रिय ब्रान्डको पसलहरु रहनेछन्। जहाँ संसारका फेसन ट्रेन्डको थरीथरिका लुगाहरु पाइनेछ र भवनको चौंथो तलामा फुड कोर्ट, गेमिङ्ग जोन र किड जोन रहनेछ।
सिनेफ्लिक्स मल्टिप्लेक्स यो भवनको पाँचौ तल्लामा रहेको छ। ईटहरीमा पहिलो पटक बनाइएको लक्जरी मल्टिप्लेक्समा दुई वटा स्क्रिन रहेका छन्। २७० सीट क्षमताको उक्त मल्टिप्लेक्सको स्क्रिनहरुमा पछिल्ला सबै हिन्दी, नेपाली र अङ्ग्रेजी सिनेमाहरु हेर्न पाइने छ।
हलमा पाईने अत्याधुनिक प्रविधिको सुविधायुक्त फुल एयर कन्डिसन भएको कोठाहरु र आरामदायी सीटहरुले फिल्म हेर्न आउने दर्शकहरुलाई नौलो र रमाइलो अनुभव गराउने छ। सिनेफ्लिक्समा दर्शकहरुको चाहना अनुसारका भेजिटेरियन र नन–भेजिटेरियन स्न्याक्स जस्तै स्यान्डवीच, पपकर्न, नाचोस, र चिसो ड्रिङ्कहरु पनि उपलब्ध गराइने जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४