शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कवि मनले जन्मिएको 'पोयट आइडल'

बहुप्रतिभाशाली साहित्यकार अनि गीतकार क्षेत्रप्रताप अधिकारीका छोरा अमनप्रतापले झोलामा कविता बोकेर बाटो–दोबाटो र भट्टीहरूमा कविता सुनाउँदै हिँड्ने हजारौं कविहरूको जीवनभर सुकिला-मुकिला हुन नपाउने विवशताको पर्दालाई च्यातेर कवि र कवितामाथिको कार्यक्रम 'द पोयट आइडल'मार्फत विश्वमाझ फैलाउँदै कवि मनहरूको जालो।
 |  शनिबार, पुस २३, २०७९
nespernesper

राज सरगम

राज सरगम

शनिबार, पुस २३, २०७९

काठमाडौं– चार वर्षअघि रियालिटी शोका डन डाइरेक्टर अमनप्रताप अधिकारी हिमालय टिभीमा रियालिटी शो ‘रोडिज’का लागि काम गरिरहेका थिए। यस्तैमा उनका नजिकका मित्रले नयाँ अवधारणा ल्याए– कवि र कविताको । अमनप्रताप पहिला त अन्योलमा परे। कवि र कवितामाथि टेलिजिभन कार्यक्रमको जस्तो अवधारणा सुनेर उत्साहित भए तर काम गर्न गाह्रो थियो। 

triton college

उनलाई अवधारणा मन परे पनि कवि र कवितामाथिको कार्यक्रम टेलिभिजन कार्यक्रममै अल्झिन मन भएन किनकि उनी कवि गीतकार क्षेत्रप्रताप अधिकारीका छोरा थिए। 

धेरै माथापच्चीपछि त्यो टेलिभिजन कार्यक्रमलाई ‘द पोयट आइडल’लाई आकार दिन थाले। 

‘पहिला टेलिभिजन कार्यक्रमको आइडिया थियो तर मलाई नेपालमै कवितामाथि रियालिटी शो बनाउने रहर थियो। त्यो प्रयोग गर्न चाहेर द पोयट आइडल यहाँसम्म पुगेको हो’, उनले सुरुआती अनुभव सुनाए।

‘डन डाइरेक्टर’को छवि बनाएका अमनप्रताप अर्को प्रयोग गर्न माहिर छन्। तर कवि र कवितामाथि फ्रेन्चाइज शैलीको रियालिटी शो गर्न गाह्रो भए पनि उनी हौसिइसकेका थिए। 

Metro Mart
vianet

लेखेका सबै कविता कविता हुँदैनन् भनेझैं अमनप्रतापले पनि कविता कोरे तर कहिले वाचन गरेनन्। कवि नभए पनि पारिवारिक पृष्ठभूमिका कारण उनीभित्र कवि मन थियो। 

‘कविताको एउटा शोमा सहभागी भएर ठूलो संख्यामा कवि बाँच्न सक्ने आधार बन्न सक्छ भन्ने लाग्दैन। तर एउटा कार्यक्रमले एउटा कविलाई विश्वका नेपालीमाझ चिनाउनेछ। ऊ कविता लेखेर बाँच्न सक्ने बन्यो भने पनि ठूलो हो भन्ने लागेर हौसिएँ’, उनले भने। अझ भनौं, अमनप्रताप आफ्नै घरमा कवि पिताका दुःख देखेर पनि कवि र कवितामाथि काम गर्ने सपना बनाएका थिए। 

कविका दुःख
कविको दुःख उनले घरमै देखेका थिए। बुबा क्षेत्रप्रताप अधिकारीको दौडधुप हेर्दै हुर्किएका थिए। त्यतिबेला उनलाई थाहा थिएन, आफ्ना बुबाको दौडधुप। निक्कैपछि सोचे, ‘यति व्यस्तता, जीवन गुजाराको तनावबीच पनि बुबाले कयौं लोकप्रिय सिर्जना गर्नुभयो। उहाँले सम्पूर्ण समय लेखनमै दिन पाउनुभएको भए त्यो संख्या कति ठूलो बन्थ्यो होला?’ 


क्षेत्रप्रतापले थुप्रै लोकप्रिय गीत लेखेका छन्, जनप्रिय कविता कोरेका छन्। तर उनले जीविकोपार्जनका लागि देशका विभिन्न निकायमा जागिर गरिरहनुपर्‍यो। ‘कम्तीमा ५ जना कविको काठमाडौंमा आफ्नै घर होस्’, बुबा कवि क्षेत्रप्रताले बोलेको सम्झिए, उनले। 

अमनका पिता क्षेत्रप्रताप अधिकारी (१९९९–२०७०) बहुप्रतिभाशाली साहित्यकार तथा गीतकार थिए। जीवनको उत्तराद्र्धमा गीतकारका रूपमा धेरै चर्चा कमाएका उनलाई नारायणगोपालले गाएको म त लालीगुराँस भएछु, मलाई छोडी मेरो छाया, गोपाल योञ्जनले गाएको शान्तिभन्दा पर अर्को भेट्नुपर्ने बुद्ध छैन, कुन्ती मोक्तानले गाएको गोठालो जाँदा र पछिल्लो पटक रामकृष्ण ढकालले गाएको जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ, सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ’ जस्ता गीतले नेपालीका मन–मनमा पुर्‍यायो। पेसागत रूपमा हुलाकको पियनबाट जागिर थालेका उनी साझा बसको कन्डक्टरदेखि साझा प्रकाशनको अध्यक्षसम्म भए।

हुन पनि, झोलामा कविता बोकेर बाटो–दोबाटो र भट्टीहरूमा कविता सुनाउँदै कविहरू कहिलेसम्म हिँड्ने? आजको समय कवि क्षेत्रप्रतापको जमानामाजस्तो थिएन। आज पनि कवि र कविता अभावमा कहिलेसम्म बाँच्ने? के अबका कवि र तिनका कविताले मास नपाउने? कविले स्टेज नचढ्ने। सुकिला/मुकिला हुन नपाउने। अमनप्रतापलाई यस्तै–यस्तै प्रश्नले उद्वेलित गर्‍यो। 

‘बुबा, आजको कवि र कविता सम्झिएपछि रोडिजको काम गर्दै द पोयट आइडलको खाका तयार पारें’, उनले काम गर्दैगर्दाको अनुभव सुनाए।

खाका तयार पारेर हिमालय टेलिभिजनमै आफ्नो अवधारणा सुनाए पनि कसैले पत्याएनन्। उनी निराश भए। पहिलो गाँसमै ढुंगा लागेजस्तो भएपछि रोडिज सकेर उनले हिमालय टेलिभिजन पनि छाडे। यसरी उनी को बन्छ करोडपतिको निर्देशनमा व्यस्त भए।

त्यहाँ पनि उनले द पोयट आइडलको अवधारणा सुनाए तर सम्भव भएन। त्यसपछि उनी सामाजिक विषयवस्तुमाथि बनेको ऐना टेलिभिजन कार्यक्रम निर्देशन गरे। त्यो कार्यक्रम निर्देशनकै क्रममा धेरै मित्रमण्डलीमा द पोयट आइडलको अवधारणा सुनाए। सबैलाई मन पर्‍यो तर लगानी जुटाउन अगाडि बढेनन्। 

‘जसलाई सुनाए पनि मन पर्‍यो भन्थे तर लगानी गरौं भन्यो कि कवितामाथि रियालिटी शो चल्छ नेपालमा भनेर डराउँथे’, उनले आफ्नो अनुभव सुनाए।

ऐना टेलिभिजन कार्यक्रम सकेर उनी एपिवान टेलिभिजनमा जोडिए। उनले त्यहाँ पुगेको तीन महिनाभित्र टेलिभिजनकर्मी टीकाराम यात्रीलाई द पोयट आइडलको अवधारणा सुनाए। द पोयट आइडलको अवधारणा सुनेर यात्री पनि हौसिए। टेलिभिजन ब्रोडकास्टिङ पार्टनरको रूपमा एपिवान टेलिभिजन भएपछि अमनप्रतापको पाँच वर्षदेखिको यात्रा प्रभावकारी हुने चरणमा आयो। 

अमन जहाँ जाँदा पनि क्षेत्रप्रतापको छोरा भन्दै बेग्लै आत्मीयता पाउँथे। त्यो माया र आत्मीयता कविताप्रतिको हो भन्ने उनलाई थाहा भए पनि विज्ञापनदाताहरू पाउन गाह्रो। कवितामाथि लगानी गर्न एजेन्सीहरू तयार थिएनन्। उनीहरू भन्थे, ‘खर्च गर्ने र यसमा?’

अब चुनौती थियो, द पोयट आइडलको संरचना टेलिभिजनमा कसरी देखिन्छ? के दर्शकले फ्रेन्चाइज रियालिटी शोजस्तै मन पराइदिन्छन्? गल्यामर आउँछ त कवि र कवितामाथि बन्दै गरेको द पोयट आइडलमा? यस्ता अनेक प्रश्नले पिरोल्थ्यो, उनलाई। फरक–फरक टेलिभिजन कार्यक्रम निर्माण, निर्देशन र प्रस्तुतिमा जीवनको करिब २५ वर्ष बिताएकाले उनी पछाडि हटेनन्।  


जीवनका केही वसन्त राष्ट्रिय फुटबलमा बिताएका अमनप्रताप खासमा फुटबलप्रेमी हुन्। खेलाडी हुन नसकेका खेलाडी हुन्। खेल मैदानमा खेलाडी हुन नसके पनि उनी रियालिटी शो निर्देशकका रूपमा भने खेलाडीभन्दा कम दरिएनन्। सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर उनी सन् २००५ मा फिल्म एन्ड टेलिभिजन विषय अध्ययनका लागि स्कटल्यान्डस्थित एडिनबर्ग कलेज पुगे। त्यही क्रममा बिग ब्रदर नामक शोमा इन्टर्नसिपसमेत गरे। त्यसै समय नेपाल टेलिभिजनका लागि फिफा विश्वकपसम्बन्धी कार्यक्रम सञ्चालकको खोजी भइरहेको थियो। उक्त कार्यक्रमका लागि स्नातकोत्तर उत्तीर्ण, अंग्रेजी भाषामा राम्रो दक्खल र खेल पनि राम्रोसँग बुझेको मान्छे चाहिएको थियो। अमन यी सबैमा अब्बल थिए।

रोडिज, टेलिभिजन यात्रामा सिल्भर जुब्ली पार गरेका अमनप्रताप द पोयट आइडलका निर्माता पनि हुन्। उनी भन्छन्, ‘निर्मातासमेत भएर काम गर्न हौसिएको पिताको प्रेरणाले पनि हो। उहाँकै लागि कवि र कवितामाथि नौलो काम गर्न तयार भएको हुँ।’

बुबाको सपनाको पनि सारथि बन्नु थियो। त्यसैले उनले रिस्क मोलेरै ‘द पोयट आइडल’ गर्ने निर्णय गरेका थिए। 

फ्रेन्चाइज रियालिटी शोहरूकै फर्मेटमा भए पनि यो विशुद्ध नेपाली पोयट आइडल हो। यसले दर्शकलाई कविता मात्रै होइन, मनोरञ्जन पनि दिन्छ र ठूलो प्लेटफर्म सिर्जना गर्दछ। 

कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेझैं कहीँ सुरु नभएको द पोयट आइडललाई उनले नेपालबाट उठाउन चाहे तर साथ र सहयोगी हात जुटाउन गाह्रो थियो। त्यसका लागि प्रशस्त लगानी चाहिन्थ्यो। साथै, शोमा सहभागी प्रतिस्पर्धी र दर्शकबीचको भावनात्मक अट्याचमेन्ट पनि हुन जरुरी थियो। रोडिजमा बल बुद्धि लाग्थ्यो। को बन्छ करोडपतिमा अध्ययन, स्मरणशक्ति र प्रश्नहरू चाहिन्थ्यो। ऐनामा सामाजिक विषयवस्तु भएकाले सत्यतथ्य घटना र घटनासँग जोडिएका पात्रसँगको वास्तविक कथा चाहिन्थ्यो। तर द पोयट आइडल भावुक रियालिटी शो थियो। 

बहुप्रतिभाशाली साहित्यकार अनि गीतकार क्षेत्रप्रताप अधिकारीका छोरा अमनप्रतापले झोलामा कविता बोकेर बाटो–दोबाटो र भट्टीहरूमा कविता सुनाउँदै हिँड्ने हजारौं कविहरूको जीवनभर सुकिला-मुकिला हुन नपाउने विवशताको पर्दालाई च्यातेर कवि र कवितामाथिको कार्यक्रम 'द पोयट आइडल'मार्फत विश्वमाझ फैलाउँदै कवि मनहरूको जालो।

कविहरू आफैंमा भावुक हुन्छन्। कसरी निर्णय गर्न सक्लान्। कविलाई आफ्नो कविता संसारकै उत्कृष्ट लाग्छ। कवितामा जान फालेर लाग्ने कविहरू थियटर पार्टी प्लेसका हलमा केही सय कवि र दर्शकका बीचमा सुनाएजस्तो पनि होइन। कविता र कविलाई क्यामेराको फ्रेमभित्र राखेर निर्देशन गर्नु अर्को चुनौती थियो। 

‘कविहरू भावुक हुन्छन्। उनीहरूको आफ्नै शैली हुन्छ। त्यसलाई फ्रेममा ल्याएर कैद गर्नु गाह्रो काम थियो। तर हाम्रो कोसिस बेटर गर्ने हो र गरिरहेका छौं’, उनले भने । 

प्रतिस्पर्धीजस्तै जज कवि पनि भावुक भइदिन्छन्। यति बोलौं भनेर निर्देशन गरिरहेको अनुभव पनि रह्यो उनको। 

‘कविताले सीधै मुुटुमा पिन्च गर्छ। तर प्राविधिक दिमागबाट खेल्नुपर्ने हुन्छ। यस्तो बेला अलिकति गाह्रो हुँदो रहेछ’, उनले भने। 

जजको छनोट
द पोयट आइडल घोषणा हुँदै गर्दा केही विवाद भयो। विशेषगरी ‘शो’को निर्णायक टिमका सदस्यलाई लिएर मानिसले विवाद गरे। उनी भन्छन्, ‘विवादरहित केही हुँदैन।’ 

द पोयट आइडलको पहिलो जज कवि विप्लव प्रतीक छानिएका थिए। प्रतीक भावुक कवि हुन्। कविता र गीतमा कलम चलाएका कवि प्रतीक क्षेत्रप्रताप अधिकारीका पछिल्ला पुस्ताका मित्र थिए। त्यसैगरी कवि उपेन्द्र सुब्बा लेखक, कवि, कलाकार। चल्तीका फिल्म लेखक पनि हुन्, उनी। उनको कविता वाचन गर्ने शैली बडो मौलिक छ। व्यावसायिक चलचित्र लेखनमा दरिएका सुब्बा अभिनयमा देखापरेका कवि हुन्। 

‘कवि प्रतीक दाइ र कवि सुब्बा अहिलेका चल्तीका कवि हुनुहुन्छ। उहाँहरू कविता मात्रै लेख्नुहुन्न। कवि मन भएको कविताको गहिराइ बुझ्ने भएकाले जजमा राखेको हुँ’, उनले भने। 

त्यसैगरी रंगकर्मी अनुप बराल अर्का जज हुन, जो अभिनयको पाटोबाट हेर्छन्। कविताभन्दा कवि कति भावनामा डुब्यो। कविताको शब्दसँगै पछाडि थोरै नाटक होस् र त्यो नाटकले त्यसलाई अझै बृहत् बनाओस् भन्ने थियो। त्यसैले अभिनय बुझ्ने मान्छे चाहिन्थ्यो। यस्ता धेरै कुरालाई हेरेर निर्णायक छानिएको बताउँछन्, उनी। 

अभिनेत्री सुरक्षा पन्त कवि मन भएकी कलाकार हुन्। संघर्षका दिनमा उनले खुबै कविता लेखिन्। फिल्म छनोटमा पनि उनी कलात्मकतामा पर्छिन् । कान्सको रेडकार्पेटमा समेत पुगेकी अभिनेत्री पन्त कविको भावनासँग उद्वेलित छन्। भन्छन्, ‘अनुप दाइ र सुरक्षाले नाटक र अभिनयको कोणबाट कवि अनि कवितालाई हेर्नुहुन्छ।’  

यसरी प्रतियोगिताको निर्णायकमा कविद्वय विप्लव प्रतीक अनि उपेन्द्र सुब्बाका साथै निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्त रहनेछन्। कार्यक्रम अभिनेता दिव्यदेव पन्तले सञ्चालन गर्नेछन्।

द पोयट आइडल
पहिलो पटक नेपालमा ठूलो क्यानाभासमा बनेको द पोयट आइडल सुरु भएको जस अमनप्रतापलाई पाउनेछन्। नेपाली कविता इतिहासमा यति ठूलो चुनौती कवि मन भएका अमनप्रताप एक जना कविको जीवनशैली बदल्न पाए पनि खुसी हुनेछन्। 

अलिकति भावुक भएर, अलिकति प्रयोग गर्न रुचाएर उनले यो रियालिटी शो ल्याएका हुन्। यो ‘शो’को अडिसनका लागि नेपालबाट १६२ जना छानिएका थिए। विदेशबाट अनलाइन अडिसन दिनेको संख्या ५० भन्दा बढी थियो।

डिजिटल अडिसनबाट छानिएका सहभागीमध्येबाट विभिन्न चरण पार गर्दै १४ जना कवि छानिनेछन्। शोमा सहभागी कविले कविता लेखन र वाचन गर्नेछन्।

१४ जना कविले कलाकारले गरेको अभिनयलाई हेरेर कविता कोर्नुपर्नेछ र कवितालाई वाचन गर्नुपर्नेछ। फरक कविको फरक बुझाइ हुन्छ तर एउटै विषयवस्तुमाथि देखाइएको अभिनयलाई बुझेर कविता कोर्नु र वाचन गर्नुपर्नेछ । यसका लागि कसैको सहारा लिन पाइने छैन। 

भोट आउट भएकामध्येलाई निर्णायक समूहले दिएको विषयमा तत्काल आँसुकविका रूपमा आफ्नो सिर्जना तयार गर्नुपर्नेछ।

सायद अहिलेको जल्दोबल्दो विषयलाई मुख्य विषय बनाएरै कविता लेख्नुपर्नेछ।

प्रस्तुति जाँच्ने निर्णायकका साथै दर्शकले पनि आफूलाई मन परेका प्रतिस्पर्धी कवि, कवयित्रीलाई भोट हाल्न पाउनेछन्। अन्तिम १४ बाट हरेक साता एक जना प्रतिस्पर्धी बाहिरिने र अन्तिममा एक जना ‘द पोयट आइडल’ बन्नेछ। ‘द पोयट आइडल’को विजेता कविले १० लाख रुपैयाँ नगदै पाउनेछन्।

यात्रा पब्लिसिङ हाउसका तर्फबाट विजेता कविको ५ लाख बराबरको कवितासंग्रह प्रकाशन गरिने शोका निर्देशक अमनप्रताप बताउँछन्। ‘भारत, पाकिस्तानसम्म पुगोस् भन्ने उद्देश्यले द पोयट आइडल शो ल्याउन लागेको हुँ’, उनले अन्तिममा भने । 

प्रकाशित: Jan 07, 2023| 15:36 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।