बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अब सातै प्रदेशबाट श्रम स्वीकृति, काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो

अब सातै प्रदेशबाट श्रम स्वीकृति, काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो

सातै प्रदेशबाट सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाइएको मन्त्रालयले बताएको छ।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडाँैबाट मात्रै उपलब्ध गराउँदै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सात वटै प्रदेशबाट दिने भएको छ। श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आगामी आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति दिइने भएपछि यस्तो संरचना पूरै प्रदेशभर पुग्नेछ। 

National life

यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका यी कार्यालयबाट २४ पुसदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति दिइने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए। उनका अनुसार वैदेशिक रोजगार कार्यालय पोखरा र बुटवलबाट केही समयअघिदेखि नै संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा प्रदान हुँदै आएको छ। 

श्रम तथा रोजगार कार्यालय सुर्खेत र कैलालीको धनगढीबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुन थालेको छ। आगामी आइतबारदेखि विराटनगर र जनकपुरमा रहेका श्रम तथा रोजगार कार्यालयबाट समेत सबै किसिमका श्रम स्वीकृति पाइने व्यवस्था हुने भएको सह–सचिव तथा प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए। उनका अनुसार योसँगै अब सातै प्रदेशबाट सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको छ।

मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी श्रम स्वीकृति लिन भौतिक रुपमा कार्यालयमै उपस्थित हुनुपर्ने र विभिन्न झन्झट हुने समस्यालाई हटाउँदै अनलाइनमार्फत नै सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको जनाउँदै श्रम कार्यालय विराटनगर र जनकपुरबाट समेत सहज रुपमा सेवा लिन आग्रह गरेको छ। 

कम्प्युटर प्रणालीबाटै निर्धारण हुने मिति र समयका आधारमा स्वीकृति प्रदान गर्ने प्रणाली भएकाले समयमै आवेदन नदिने र अन्तिम समय श्रम स्वीकृति लिन खोज्दा समस्या हुँदै आएको छ। त्यसैले श्रम स्वीकृतिका लागि समयमै अनलाइन आवेदन दिएर बिना झन्झट सेवा लिन मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ। 

Shivam cement

पछिल्लो समय श्रम मन्त्रालय र यस मातहतका निकायबाट प्रदान हुने सेवालाई छिटो र सरल रुपमा लिन मिल्ने गरी अनलाइन प्रणालीको विकास गरिएको जनाइएको छ। अनलाइनमार्फत नै नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न सफल भएकै कारण वैदेशिक रोजगार विभागले लिभिङ विथ आइसिटी नामक संस्थाबाट सर्वोत्कृष्ट पुरस्कारसमेत पाएको श्रम मन्त्रालयको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ। मन्त्रालयले आउँदा दिनमा समेत थप सुधार प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रकाशित: Jan 06, 2023| 16:45 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्