शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रुपन्देहीमा दुई अर्ब लगानीमा सिद्धार्थ समूहको डण्डी उद्योग

रुपन्देहीमा दुई अर्ब लगानीमा सिद्धार्थ समूहको डण्डी उद्योग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाण्डौं- सिमेन्ट उत्पादनमा संलग्न दुई ठूला औद्योगिक समूह सिद्धार्थ र केडिया समूहको संयुक्त लगानीमा रुपन्देहीमा श्री स्टील्स उद्योग संचालनमा आएको छ।
 
वार्षिक ३ लाख टन फलामे डण्डी उत्पादन क्षमताको यो उद्योगमा दुई अर्ब रुपैयाँ भन्दा बढी लगानी गरिएको छ। उद्योगमा अर्घाखाँची सिमेन्ट उद्योगमा प्रवद्र्धक रहेको केडिया समूह र सिद्धार्थ समूहको संयुक्त लगानी छ । यो उद्योग शंकर समूहको जगदम्बा स्टिल्सपछिको दोश्रो ठूलो उद्योग हो।
 
उद्योग संचालक राजेश अग्रवालका अनुसार यो उद्योगमा डण्डी उत्पादनका लागी पूर्ण स्वचालित अत्याधुनिक प्रविधी जडान गरिएको छ । स्टील उत्पादनको नविनत्तम प्रविधीबारे अध्ययन गर्न उनी  भूकम्प अति प्रभावित मुलुक जापान समेत पुगेका थिए ।

उद्योगमा शनिबार हिन्दू परम्परा अनुसार भव्य पूजा गर्दै औपचारिकरुपमा उद्घाटन गरिएको छ । उद्घाटनको अवसरमा अर्घाखाँची सिमेन्टका प्रवद्र्धक पशुपति मुरारका, सिद्धार्थ गु्रपका अध्यक्ष जगदीश अग्रवाल, संचालक राजेश अग्रवाल, केडिया गु्रपका ताराचन्द केडिया, अनिल केडिया लगायतको उपस्थिति थियो। 
    
उद्योगले गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर प्रमाण प्राप्त भएलगतै कम्पनीले श्री स्टील्सको ब्राण्डिङ्गसँगै उत्पादन बजारमा ल्याउने तयारी गरेको छ।

पछिल्लो समयमा सिमेन्ट र डण्डी उत्पादन उद्योगमा ठूला व्यवसायिक समूहको लगानी ह्वात्तै बढेको छ। यसअघि गत असारदेखि बारामा क्याल समूहको ८७ करोड रुपैयाँको लगानीमा वार्षिक १ लाख मेट्रिक टन क्षमताको नारायणी स्पात उद्योग संचालनमा आएको थियो। पर्सामा शौरभ समूहको ३ अर्ब रुपैयाँ लगानीमा वार्षिक २ लाख टन उत्पादन क्षमताको डण्डी उद्योग स्थापनाको तयारी शुरु भएको छ।
 
२०७२ सालको भूकम्पपछि पूननिर्माण कार्य जारी रहेको र सरकारले समेत उर्जा तथा निर्माण सामाग्री उत्पादक कम्पनीलाई प्रोत्साहन दिइरहेकोले सिमेन्ट, फलामे डण्डी, पेन्ट्स, जलविद्युतमा निजी क्षेत्रको आकर्षण बढेको हो।    

सिमेन्ट र फलामजन्य उद्योगको लागी विद्युतीय उर्जा ठूलो मात्रामा आवश्यक पर्ने भएकोले पछिल्लो समय नेपाल विद्युत प्राधिकरणको नेतृत्वले विद्युत आपूर्तीलाई नियमित बनाउन प्रभावकारी व्यवस्थापन गरेकाले समेत यो क्षेत्रमा लगानी बढेको उद्योगीको भनाई छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्